नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष लडेका कास्कीका नेता कृष्णकुमार कार्की यसपालि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। कास्की क्षेत्र नम्बर १ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधि लडेका कार्की ११ मतले पराजित भएका हुन्।
कार्कीले यसपालि कांग्रेस कास्कीको सभापति लड्ने घोषणा गरेका थिए। महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि उनको जिल्ला सभापति उठ्ने सम्भावना सकिएको छ। जिल्ला सभापति बन्न पनि महाधिवेशन प्रतिनिधि बन्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ।
नेपाल विद्यार्थी संघका जिल्ला सदस्य, तरूण दल कास्कीका अध्यक्ष हुँदै कार्की यसअघि २ पटक महासमिति सदस्य निर्वाचित भएका थिए। १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्ष लड्दा उनले गुटगत राजनीति अन्त्य हुनुपर्ने एजेण्डा अघि सारेका थिए।त्यतिबेला कार्कीले ६६ मत पाएका थिए।
यसपालि पनि कुनै प्यानलमा नबसी उनले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए।
कास्की क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ १० जनाको सिट थियो। उक्त क्षेत्रबाट पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, जिल्ला सभापति कृष्ण केसी, सचिव सुदीपमोहन भट्टराई, किशोरदत्त बराललगायतले महाधिवेशन प्रतिनिधि जितेका छन्। पराजित भएका कार्की ११ औं नम्बरमा परेका थिए। आफ्नै वडाबाट सहयोग नपाएका कारण कार्की पराजित भएको कांग्रेस नेताहरूले बताएका छन्।