गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रीय पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।
महामन्त्री शशांक कोइराला पक्षका नेता पोखरेल कोइरालाकै क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए।
कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका पोखरेल १३ औं महाधिवेशनमा भने उम्मेदवार बनेका थिएनन्।
कांग्रेस नवलपरासीमा ३ पटक लगातार सभापति बनेका पोखरेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। खुलातर्फ १० जनाका लागि उक्त क्षेत्रमा २० जनाले उम्मेदवारी दिएको कांग्रेस नवलपुरले जनाएको छ।
नेपाली कांग्रेसको महाधिवेशनका क्रममा देशभर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्यानल बनाएर प्रतिस्पर्धा भइरहेको छ। तर, नवलपुरमा भने दृश्य फरक देखिएको छ।
नवलपुर जिल्लामा सभापति देउवा र महामन्त्री शशांक कोइरालापक्ष मिलेर प्यानल बनाएका छन् भने वरिष्ठ नेता पौडेलको अर्को प्यानल छ।
महामन्त्री शशांक कोइरालाले जितेको नवलपुर क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका लागि देउवा-कोइराला पक्षबाट कमलप्रसाद पराजुली क्षेत्रीय सभापतिका उम्मेदवार बनेका छन् भने पौडेल पक्षबाट अमृत भट्टचन सभापति उठेका छन्।
यस्तै, नवलपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा देउवा-कोइराला प्यानलबाट जगतबहादुर कार्की उठेका छन् भने पौडेल पक्षबाट सूर्य गुरूङ उठेका छन्।
नवलपुर जिल्ला सभापतिमा पनि प्यानलगत निर्वाचन हुने देखिएको छ।
जिल्ला सभापतिमा देउवा–कोइराला पक्षबाट मदनभक्त अधिकारी उठेका छन् भने पौडेल पक्षबाट महेन्द्रध्वज जिसीले सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।
मुख्यमन्त्री पोखरेल सभापति देउवा र महामन्त्री कोइराला पक्षबाट महाधिवेशन प्रतिनिधि उठेका छन्।
महाधिवेशन प्रतिनिधि बनेर महाधिवेसनमा केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार बन्न चाहेको पोखरेल निकट नेताहरूले बताएका छन्। नवलपुरमा अहिले मतदान जारी छ।