प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा प्रहरी लगाएर कांग्रेसको अधिवेशन गरिएको छ।
क्रियाशील सदस्यता विवाद कायमै राखेर 'एकलौटी' ढंगले सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा वडादेखि जिल्ला अधिवेशन सकिएको छ।
देउवानिकट भीमबहादुर साउद जिल्ला सभापतिमा निर्वाचित भएका छन्। यो अधिवेशनलाई वैधता नदिन यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेका छन्।
मल्ल पक्षले पार्टी अधिवेशनमा भाग नै लिएको छैन। क्रियाशील सदस्यताको नयाँ सूची सार्वजनिक गर्नुपर्ने, वडादेखि नै नयाँ अधिवेशन गर्नुपर्ने मागसहित एक सातादेखि मल्लसहित नेता पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बसिरहेका छन्।
डडेल्धुरामा गत भदौ १८ मा वडा अधिवेशन गर्ने भनिएको थियो। त्यसदिन अधिवेशन भएन। भदौ २२ मा तत्कालीन सभापति मल्ललगायतले अधिवेशन गर्न नसकिने बताएका थिए।
भदौ २५ मा सभापति देउवा पक्षले ५२ वडामा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेपछि डडेल्धुरा कांग्रेसमा झन् विवाद बढेको छ।
डडेल्धुरामा क्रियाशील सदस्यता विवाद कायमै छ। जिल्लाबाट पठाएका चार सय ६० जनाको नाम फालेर केन्द्रबाट तीन सय १२ जना क्रियाशीलको नाम थपेर सूची पठाएपछि विवाद सुरू भएको थियो।
भदौ २५ मा वडा अधिवेशन गर्दा राज्यशक्ति र सत्ताको दुरूपयोग भएको मल्ल बताउँछन्। प्रधानमन्त्रीकै निर्देशनमा कडा सुरक्षा घेराभित्र सीमित क्रियाशील सदस्य राखेर अधिवेशन गरेकोले त्यो स्वीकार्य नहुने मल्ल बताउँछन्।
निर्वाचन अधिकृतले समन्वय नगरी वडा अधिवेशन अघि बढाएको र व्यापक प्रहरी परिचालन भएको मल्लले बताए।
‘सभापति देउवाको नेतृत्वमा कांग्रेसको आन्तरिक लोकतन्त्र मृत भयो भन्ने यो घटनाले देखाउँछ, व्यापक प्रहरी परिचालन गरेर अधिवेशन गरेझैँ गरियो,’ उनले भने।
मल्लका अनुसार भदौ २५ मा वडा अधिवेशन गर्दा डडेल्धुराका ५२ वडामा गरी करिब एक हजार सात सय प्रहरी परिचालन गरिएका थिए।
‘५२ वटै वडामा प्रहरी घेराभित्रै कांग्रेसको वडा अधिवेशन गरियो, यस्तो मैले यसअघि देखेको थिइनँ,’ उनले भने।
सभापति देउवाकै वडा गन्यापधुरा गाउँपालिका- १ मा २५ जना प्रहरीको बीचमा अधिवेशन भएको उनले दाबी गरे।
‘सभापति देउवाकै वडामा ६२ जना प्रहरीको घेराभित्र ३६ जना क्रियाशील सदस्यलाई राखेर वडा अधिवेशन गरिएको थियो,’ मल्लले भने, ‘एउटा घरको आँगनमा त्यसरी अधिवेशन भयो।’
उनले आफू नवौं महाधिवेशनदेखि पार्टीमा सक्रिय रहेर महाधिवेशनमा भाग लिँदै आएको र अहिलेजस्तो पहिले परिचालन नहुने बताए।
‘नवौंदेखि नै केन्द्रीय महाधिवेशनलाई मैले नजिकबाट हेरेको छु। जिल्लामा यसअघि भएका दुइटा महाधिवेशन त मेरै नेतृत्वमा सम्पन्न गरेको छु, तर अहिलेजस्तो प्रहरी परिचालन गर्नुपरेको थिएन,’ उनले भने।
सभापति देउवा पक्षले 'एकलौटी' ढंगले अधिवेशन गरेकोले वैधानिकता नदिन भदौ २३, भदौ २९, मंसिर ३ र मंसिर ६ मा केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवलाई निवेदन दिएको उनले बताए।
‘तपाईंहरू जे निर्णय गर्नुहुन्छ गर्नुस् तर अनिर्णयको बन्दी नबन्नुस् भन्दा केन्द्रीय निर्वाचन समितिले आजसम्म केही निर्णय गरेको छैन,’ उनले भने, ‘अब एक/दुईदिनभित्र निर्णय नदिए हामीले थप आन्दोलन गर्छौं।’
डडेल्धुराका अधिवेशन खारेज गरी नयाँ अधिवेशन मिति तोक्नेलगायत माग गर्दै एक सातादेखि मल्ललगायत नेता-कार्यकर्ता सानेपामा अनसनमा बसेका छन्।
डडेल्धुरामा वडा अधिवेशनका बेला तनाव देखिए पनि पछिल्लो समय भएका अधिवेशन शान्तपूर्वक नै रहेको प्रहरीले बताएको छ।
‘वडा अधिवेशनका बेला प्रहरी परिचालन बाक्लो संख्यामा गर्नुपरेको थियो। तर पछिल्लो समय शान्तपूर्ण नै छ। एक पक्षले भाग नलिएपछि शान्त नै रह्यो,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका एक प्रहरी अधिकृतले भने, ‘झडप नहोस् भनेर पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको थियो।’
उनका अनुसार प्रहरी धेरै परिचालन गर्नुपर्ने भएपछि बाहिरबाट पनि थप फोर्स मगाएको र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
‘थप प्रहरी मद्दत माग गरेका थियौं, पर्याप्त सुरक्षा व्यवस्था मिलाएका हौं, त्यसबेला,’ उनले भने।
यता गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रूपन्देहीमा पनि पार्टीको अधिवेशनका लागि ठूलो संख्यामा संख्यामा प्रहरी परिचालन गर्नुपरेको छ।
देउवा-खाण र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच गुटगत प्रतिस्पर्धाले रूपन्देहीमा प्रहरी परिचालन गर्नु परेको छ।
रूपन्देही क्षेत्र नम्बर २ मा मंगलबार मतगणना स्थलमै कांग्रेस कार्यकर्ताबीच कुटाकुट भयो। कार्यकर्ताहरू घाइते हुने गरी कुटाकुट भएपछि प्रहरी परिचालन गरिएका थिए।
यसअघि पनि गत मंसिर ४ गते रूपन्देही क्षेत्र नम्बर ३ को (क) मा मतगणना गर्दा कार्यकर्ताबीच विवाद भएको थियो।
यस घटनामा गृहमन्त्रीका भाइ रामकृष्ण खाणसमेत जोडिएका थिए। रामकृष्णकै निर्देशनमा आफूहरूमाथि कुटपिट भएको कांग्रेस कार्यकर्ताले दाबी गरेका छन्।
प्रदेश क्षेत्र नम्बर ३ का सचिव पदका उम्मेदवार शैलेश पन्तसहित त्यसबेला ५ जना कांग्रेस कार्यकर्ता घाइते नै भएका थिए।
घाइते नेताका समर्थकहरूले अस्पतालमै पत्रकार सम्मेलन गर्दै 'मण्डले शैली'मा आक्रमण हुनु निन्दनीय भएको बताएका थिए।
क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरण श्रेष्ठले गृहमन्त्री खाणका भाइ रुपन्देही कांग्रेस सचिव रामकृष्णको निर्देशनमा आक्रमण भएको आरोप पनि लगाएका थिए।
तरुण दलका रुपन्देही अध्यक्ष सोमबहादुर गुरूङको नेतृत्वमा आएको टोलीले पन्तमाथि आक्रमण गरेको दाबी उनीहरूको थियो।
सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर आफ्नै पार्टीका कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै श्रेष्ठले मतगणना स्थलमा गृह प्रशासनले सुरक्षा दिन नसकेको आरोप लगाएका थिए।
रूपन्देहीमा भएका घटनामा आफूहरूको कुनै संलग्नता नरहेको र कसैलाई आक्रमण गर्न निर्देशन पनि नदिएको दाबी रामकृष्णको छ।
प्युठानमा पनि कांग्रेस कार्यकर्ताबीच मंगलबार लफडा भएको थियो।
स्वर्गद्वारी क्याम्पस बिजुवारमा मतगणना स्थलमा दुई पक्षका बीचमा लफडा भएपछि प्रहरीले अश्रुग्यास हानेको थियो।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद निम्तिएपछि एकअर्काप्रति जाइलागेका थिए।
स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।