राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभामा एक मात्र निर्वाचित सांसद राजेन्द्र लिङ्देनले महाधिवेशनमा आफ्नो ‘प्यानल’ बनाएका छन्। उनले अहिलेका तीन जनै अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाविरूद्ध उम्मेदवारी दिने घोषणा गरेका छन्।
लिङ्देनले बिहीबार काठमाडौंको एल्लो प्यागोडा होटलबाट महाधिवेशनमा अध्यक्षसहित आफ्नो प्यानलको घोषणा गर्दैछन्। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणासँगको सहकार्यमा उनले आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
राप्रपाले मंसिर १५,१६ र १७ गते महाधिवेशन आह्वान गर्ने निधो गरेको छ। त्यसमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणा र आफूबीच प्यानल बनाउने सहमति भइसकेको लिङ्देनले बताए।
‘हिजो हामीलाई बार्गेनिङ मात्रै गरेको कुरा बाहिर आयो, हामी भोलि संयुक्त रूपमा एल्लो प्यागोडा होटलबाट उम्मेद्वारी घोषणा गर्दैछौं,’ लिङ्देनले सेतोपाटीसँग भने, ‘यो उम्मेदवारी परिवर्तनका पक्षमा छ।’
उनले आफू अध्यक्ष र राणा महामन्त्री उठ्ने छिनोफानो भइसकेको बताए।
राप्रपामा अहिले रहेका तीन जनै अध्यक्ष राणा, लोहनी र थापाको नेतृत्वमा दाबेदारी छ। लिङ्देन थापा समूहमा रहेर लामो समय काम गरेका नेता हुन्।
लिङ्देन अहिले थापाविरूद्ध गठबन्धन गरिरहेका छन्। राप्रपा हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र संघीयताविरूद्धमा आन्दोलन गरिरहेको पार्टी हो।
२०७३ मंसिर ६ गतेलाई राप्रपाको ‘टर्निङ प्वाइन्ट’को रूपमा लिइएको थियो। तीन वटै अध्यक्षबाट छुट्टाछुट्टै बनेका पार्टीलाई जोडेर २०७३ फागुन ६ गते एकता महाधिवेशन गरिएको थियो।
त्यो एकता महाधिवेशन ६ महिनाभन्दा बढी टिकेन। संविधानसभाको दोस्रो निर्वाचनपछि एकता हुँदा ३७ सिट रहेको रहेको राप्रपा २०७४ साल भदौ २२ गते फुट्यो।
त्यसपछि भएको २०७४ साल मंसिरको प्रतिनिधिसभा निर्वाचनमा थापाको राप्रपाले १ सिट मात्र ल्यायो। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीको पार्टीले एक सिट पनि ल्याएन।
चुनावबाट नराम्रोसँग बढारिएपछि फेरि राप्रपा नेतृत्व गरिरहेका तीनै अध्यक्षहरूले २०७६ फागुन २८ गते पार्टी एकता गरे।
कोरोना भाइरसको महामारी, लकडाउनलगायत कारणले महाधिवेशन समयमा हुन सकेन। पछिल्लो समय २०७७ वैशाख २५-२८, जेठ २१-२४, कात्तिक पहिलो साता, कात्तिक २७-३० मा महाधिवेशनको घोषणा भयो।
तर, चार पटक महाधिवेशन सरेर अहिले मंसिर ११-१३ मा महाधिवेशन सम्पन्न गर्ने तयारीमा राप्रपा थियो। त्यसलाई पनि सारेर राप्रपा अहिले मंसिर १५, १६ र १७ गते महाधिवेशन गर्ने निधोमा पुगेको छ।
राप्रपाभित्र अन्तरविरोध रहँदै आए पनि पछिल्लो समय राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डामा एकमत छ। पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले गणतान्त्रिक धार समात्दासमेत कमल थापाले भने एक्लै त्यो एजेन्डा बोकिरहेका थिए।
त्यही एजेन्डामार्फत् २०७० सालको चुनावमा राप्रपाले २४ सिट ल्याएको थियो भने २०७४ सालको प्रतिनिधिसभा चुनावमा राप्रपा नेपालबाट एक मात्र सिटमा लिङ्देन निर्वाचित भएका थिए। अहिले पनि थापा-लिङ्देन त्यो एजेन्डाबाट दायाँ-बायाँ भएका छैनन्।
राप्रपाको महाधिवेशनमा १ लाख ४० हजार सक्रिय सदस्यबाट मात्र २९७० महाधिवेशन प्रतिनिधि आउँदै छन्।
त्यसमा १६५ निर्वाचन क्षेत्रका प्रतिनिधि, ७५३ पालिकाका प्रतिनिधि, ३३० प्रदेश सभाका प्रतिनिधि, सात प्रदेशका अध्यक्ष प्रतिनिधिको रूपमा अलग्गै आउँछन्।
अहिले ७७ जिल्लामध्ये ७६ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेको छ। बिहीबार भक्तपुरमा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदैछ। यसहिसाबले महाधिवेशन प्रतिनिधि चार हजार नाघ्ने अनुमान गरिएको छ।