प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ।
जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई पनि सेवासुविधा दिनेगरी प्रतिष्ठान गठन गरेको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र जनयुद्धका दुई जना सहिद परिवारका सदस्य गरी प्रतिष्ठानमा चार जनालाई नियुक्त गरेको छ।
जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल र मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारीलाई नियुक्त गरिएको हो।
बिहीबार एक समारोहबीच नियुक्त गरिएका चारै जनालाई प्रतिष्ठानका अध्यक्ष आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रमाणपत्र दिएका छन्।
प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरूलाई निर्देशन दिए।
यसअघि प्रदेश सरकारले मधेश आन्दोलनमा ज्यान गुमाएका सहिद तथा घाइते परिवारलाई मात्रै सेवा सुविधा दिने निर्णय गरेको थियो। तर माओवादीबाट मन्त्री साह नियुक्त भएपछि मधेशी सहिद प्रतिष्ठान (गठन तथा कार्य सञ्चालन) निर्देशिका संशोधन गरी जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई पनि सेवा सुविधा दिने निर्णय गरेको हो।
प्रदेश सरकार गठन भएपछि प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकले मधेश आन्दोलनका क्रममा सहिद भएका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको थियो।
उक्त बैठकले सहिद तथा घाइते परिवारलाई उपचार खर्च पनि दिने निर्णय गरेको थियो।
निर्देशिकामा पहिला मधेश आन्दोलनका सहिद परिवारलाई मात्रै भरणपोषण भत्ता, रोजगारमूलक तालिममा सहभागी, घाइतेको उपचार खर्च, अध्ययन छात्रवृत्ति, परिचय पत्र, तथ्यांक संकलन, स्याहारसुसार खर्च लगायतका कार्यक्रम सञ्चालन स्वीकृत गरी कार्यक्रम गर्न सकिने बताइए पनि अब जनयुद्ध र जनआन्दोलनका सहिद परिवारलाई पनि यी सुविधा दिइने मन्त्री साहले बताए।