नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुराना विकृति, विसंगतिलाई हटाएर आफ्नो पार्टी अघि बढ्ने बताएका छन्।
अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुगेका नेपालले पत्रकारहरूसँग कुरा गर्दै समाजवादी पार्टी नयाँ ढंगले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनतर्फ लागेको बताए।
‘हामी पुराना विकृति र विसंगतिलाई हटाएर नयाँ ढंगले अगाडि बढ्न चाहन्छौं, किनभने कम्युनिस्ट पार्टी विकृति र विसंगतिकै कारण डुब्दो रहेछ,’ उनले भने, ‘नीति प्रधान होइन, नेता प्रधान भएर कम्युनिस्ट पार्टी पछाडि परेका छन्।’
भोलिबाट चितवनमा हुने नेकपा एमालेको महाधिवेशनबारे व्यंग्य गर्दै नेपालले थपे, ‘मान्छेले उठाउने पार्टीको झण्डा गैंडाको हातमा दिन थाल्यो भने कम्युनिस्ट आन्दोलन चौपट भइहाल्छ, अहिले कमसेकम गैंडाको हातमा झण्डा दिइएको छ, अब गैंडा पाइएन भने बाँदरको हातमा पार्टीको झण्डा दिने होला।’
देशमा समाजवादीको पक्षमा उत्रिएको जनसागरले आफू उत्साहित भएको उनले बताए।
आफूहरूको राजनीतिक क्रान्तिको उद्देश्य पूरा भए पनि सामाजिक, आर्थिक क्रान्ति पूरा नभएको नेपालले बताए।
नेपाली जनताको हित र कल्याणमा आफ्नो पार्टीले काम गर्ने अध्यक्ष नेपालले बताए।
चितवनमा हुन लागेको एमालेको महाधिवेशनमा नबोलाएको विषयमा सोधिएको पत्रकारहरूको प्रश्नमा नेपालले भने, ‘जुन गाउँमा जानु छैन त्यो गाउँको बाटै नसोध्नु भन्छन्, त्यसैले हामीले कुनै वास्ता नै गरेका छैनौं।’
समाजवादीलाई भएको समर्थन देखेर विद्रोही दल तथा नेताहरूलाई ईर्ष्या गर्न थालेको उनले बताए।
‘हामीप्रतिको समर्थन देखेर कतिपय मानिसहरू डाहाले जलिरहेका छन्, जथाभावी बकिरहेका छन्,’ नेपालले भने, ‘हामी त्यसै हिसाबले इँट्टाको जवाफ पत्थरले दिन चाहँदैनौं, बरू समृद्धि छाओस् भनेर कामना गर्न चाहन्छौं।’
उनले मंसिर १५ गतेदेखि देशभर समाजवादी पार्टीले स्टिकर वितरण गर्ने बताए।
उक्त स्टिकर प्रचारप्रसारसँगै चन्दा संकलनका लागि पनि वितरण गर्न लागिएको नेपालले बताए।
उनका अनुसार स्टिकरमा अहिलेका समसामयिक विषय समावेश गरिने छ।
समाजवादीले गरेको राजनीतिक विद्रोहसँगै कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने जिम्मेवारी पाएको उनले बताए।
अरू पार्टीहरूसँग भइरहेको छलफलका विषयमा अध्यक्ष नेपालले भने, ‘साझा पार्टीको टिमसँगै हाम्रो अरू पार्टीहरूसँग पनि चरण-चरणमा वार्ता भइरहेको छ, सबैसँग उत्साहजनक कुरा भइरहेको छ। हामी एउटै आन्दोलनमा अगाडि बढ्नेछौं।’
सर्वोच्च अदालतको बारेमा नेता नेपालले गठबन्धन दलबीच छलफल गरी धारणा बनाउने जिम्मा प्रधानमन्त्रीलाई दिइएको बताएका छन्।