सप्तरीको छिन्नमस्ता गाउँपालिकाको बैठकमा विवाद उत्पन्न भएपछि अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ।
किसानलाई गहुँको बीउ वितरण गर्ने विषयमा विवाद हुँदा अध्यक्ष सूर्यनरायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो। यसमा अध्यक्ष मण्डलका दुइटा दाँत भाँच्चिएको वडा नम्बर २ का अध्यक्ष विनोदकुमार यादवले जानकारी दिए।
‘अध्यक्षज्यूले गाउँपालिकामा चारवटा केन्द्र बनाएर बीउ बितरण गर्ने प्रस्ताव राखेपछि उपाध्यक्षज्यूले त्यसरी हुँदैन, सबै वडा कार्यालयबाट वितरण गर्नुपर्छ भन्नुभयो। त्यसै विषयमा उहाँहरूबीच भनाभन भयो, गालीगलौज हुन थाल्यो,’ वडाध्यक्ष यादवले भने, ‘विवादकै बीच अध्यक्षज्यू बैठकबाट निस्किन थालेपछि उपाध्यक्षज्यूले कुर्सी उठाएर उहाँको जीउमै बजार्न खोज्नुभयो। पछि मैले अध्यक्षज्यूका दुइटा दाँत भाँच्चिएर झरेको देखेँ। उपाध्यक्षज्यूको पनि चुरा फुटेको थियो।’
यसबारे सम्पर्क गर्न खोज्दा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैसित सम्पर्क हुन सकेन। घटनापछि दुवै पक्ष आ–आफ्नो घरतिर लागेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले बताए।
‘हामीलाई घटनाबारे कुनै पक्षले जानकारी गराउनुभएको छैन तर थाहा पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो,’ उनले भने।
छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच निर्वाचित भएको वर्षदिन नबित्दै बजेट तथा योजना बाँडफाटलाई लिएर विवाद सुरू भएको थियो। उनीहरूको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई वर्षको गाउँसभा बैठक हुन सकेको थिएन।
कर्मचारीले तलब नपाउँदा आन्दोलन भएपछि एक साताअघि मात्रै गत आर्थिक वर्षको गाउँसभा सम्पन्न भएको वडाध्यक्ष यादवले जानकारी दिए।