नेकपा माओवादी केन्द्रले पहिलो पटक वडा तहदेखि अधिवेशनमार्फत् नेतृत्व चयन गरिरहेको छ।
नेतृत्व चयनका लागि माओवादीले अन्य ठूला दल एमाले र कांग्रेसले भन्दा फरक विधि अपनाएको छ।
वडा तहदेखि नै सर्वसम्मत नेतृत्व छान्न माओवादीले विवादित ठाउँमा समेत निर्वाचनमा जान चाहेको छैन।
माओवादी केन्द्रको पोखरा महानगर कमिटीको एक साताअघि भएको अधिवेशनले महानगर संगठन कमिटी गठन गरेको छ।
सर्वसम्मत महानगर कमिटी बनाए पनि कमिटीका अध्यक्ष लगायत पदाधिकारी चयन गर्न सकेको छैन।
पोखरामा मात्र होइन, कास्कीकै अन्नपूर्ण, माछापुच्छ्रे र गोरखाको पालुङटार नगर कमिटीको पनि पदाधिकारी चुन्न बाँकी नै रहेको माओवादी गण्डकीका इन्चार्ज हितराज पाण्डेले बताए।
‘सर्वसम्मत नेतृत्व चयन गर्न अलिकति समय लागेको हो,’ पाण्डेले भने, ‘सहमति भएन भने निर्वाचनको विधिमार्फत् नेतृत्व टुंगो लगाउँछौं।’
माओवादीले अधिवेशनमार्फत् नेतृत्व छान्न पहिला संगठन कमिटी निर्माण गर्ने विधानमै व्यवस्था गरेको केन्द्रीय सदस्य एवं गण्डकी सचिव देवेन्द्र पराजुलीले बताए।
‘हाम्रो पार्टीको अधिवेशनमा भाग लिने प्रतिनिधिले पहिला संगठन कमिटी सदस्य चुन्छ,’ पराजुलीले भने, ‘संगठन कमिटीले पदाधिकारी चुन्छ।’
कमिटीको पदाधिकारीमा सहमति नभए संगठन कमिटीका सदस्यहरूले मतदान गरेर पदाधिकारी चुन्ने उनले बताए।
माओवादीले पहिलो नेतृत्व चयन गर्न विधानमै यस्तो व्यवस्था गरेको पराजुलीको भनाइ छ।
माओवादीले वडा तहदेखि नै अधिवेशनमार्फत् नेतृत्व छान्दा अधिवेशन प्रतिनिधिले सम्बन्धित कमिटीको सदस्य मात्र छान्न पाउनेछन्।
यसरी छानिएका कमिटीका सदस्यले अध्यक्षसहित पदाधिकारी छान्नुपर्ने पराजुलीको भनाइ छ।
यो व्यवस्था अन्य दलको भन्दा फरक रहेको उनले बताए।
गण्डकीमा ८५ वटा स्थानीय तह छन्।
माओवादी केन्द्रले मजदुरका लागि स्थानीय तह बराबर एउटा गैरभूगोल तह मानेर ८६ वटा स्थानीय तह बनाएको छ। जसमध्ये मनाङ, मुस्ताङ र नवलपुरका केही स्थानीय तहका अधिवेशन गर्न बाँकी छन्। बाँकी सबै स्थानीय तहमा वडादेखि नै अधिवेशन सकिएको गण्डकी सचिव पराजुलीले बताए।
स्थानीय तहपश्चात् माओवादी केन्द्रले गण्डकी प्रदेश अधिवेशनको तयारी तीव्र पारेको छ। यही मंसिर २५ र २६ गते पोखरामा आयोजना गरिएको प्रदेश अधिवेशन सम्पन्न गर्न २० वटा उपसमिति बनाइएको छ।
प्रदेश अधिवेशनमा स्थानीय तहबाट ६ सय, मनोनित ६०, आयोजक ९६, जेष्ठ कम्युनिष्ट मञ्च, गण्डकीबाट ४३ र प्रदेश सल्लाहकार ४७ जना गरी ८४६ जना प्रतिनिधि रहने छन्।
उनीहरूले प्रदेश कमिटी सदस्य चयन गर्नेछन् भने यसरी चयन भएका प्रदेश सदस्यले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ।
अधिवेशनमार्फत् गठन हुने प्रदेश कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १९ प्रतिशत दलित र मुस्लिम तथा सीमान्तकृतको सहभागिता रहने माओवादीले जनाएको छ।
माओवादी गण्डकीमा २२९ सदस्यीय रहनेछन्। जसमा ९ जना पदाधिकारी रहने व्यवस्था माओवादीले गरेको छ।
प्रदेश अधिवेशनमा सहमति नभए निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने इन्चार्ज पाण्डेले बताए।
‘हामीलाई चुनावमा जान कुनै समस्या छैन, सकेसम्म सहमति गरौं भन्ने चाहना हो,’ उनले भने, ‘साथीहरूबीच सहमति भएन भने निर्वाचनमार्फत् नेतृत्व टुंगिन्छ।’
वडा र पालिका तहको अधिवेशन सकेर प्रदेश अधिवेशनको तयारी तीव्र पारेको माओवादीले जिल्ला संगठनलाई भने ध्यान दिएको छैन।
जिल्लामा समन्वय समिति मात्र रहने भएकाले कार्यकारी कमिटी वडादेखि पालिका र प्रदेशको अधिवेशन आयोजना गरेको पाण्डेले बताए।
‘जिल्लामा तहको कमिटीमा पालिकामा निर्वाचित साथीहरू पदेन रहने गरी समन्वय समिति बनाउने हो,’ पाण्डेले भने, ‘जिल्ला समन्वय समितिको संयोजक प्रदेश कमिटीले तोक्ने व्यवस्था छ।’