नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीले कसैसँग सरसल्लाह नगरी एकतर्फी रूपमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन्।
चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी समिति गठन, पोलिटब्युरो तथा प्रदेश इन्चार्ज तोक्ने लगायतको काम गरेको थियो। भक्तपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले सिधै नामहरू प्रस्ताव गरेका थिए।
लगत्तै सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, झपट रावल, निरज आचार्य लगायतले विरोध जनाएका थिए।
'के आधारमा मान्छेलाई स्थायी समिति, पोलिटब्युरोमा ल्याउने भन्ने मापदण्ड बनाउनुपर्थ्यो ', एमाले स्थायी समिति सदस्य योगेश भट्टराईले भने, 'एकदमै पुरानो साथीहरू पोलिटब्युरो र स्थायी समितिमा छैनन्। अध्यक्षले मन पराउने र मन नपराउनेको आधारमा जानुहुन्न। मापदण्ड बनाउँदा जिम्मेवारी पाउनेले पनि यो मापदण्डका कारण पाएँ भन्ने हुन्छ नपाउनेले पनि यो मापदण्डको कारण पाइनँ भन्ने वातावरण बनाउनुपर्थ्यो।'
एमाले केन्द्रीय सदस्य झपट रावलले कार्यविभाजनमा आफूले लिखित रूपमा असन्तुष्टि व्यक्त गरेको सेतोपाटीलाई बताए।
'म कैलाली इन्चार्ज थिएँ। म केन्द्रीय कमिटी सदस्य भएको ४ वर्षपछि मनोनित भएका साथीलाई पोलिटब्युरो बनाएर उसको मातहतमा मलाई राखिएको छ', रावलले भने, 'मैले मलाई कैलालीको सहइन्चार्जबाट हटाइयोस् भनेर लिखित रूपमा दिएको छु। त्यसरी राख्नु भनेको मेरो अपमान हो। बरू मलाई जिम्मेवारी केही पनि चाहिँदैन भनेको छु।'
रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई दश बुँदे सहमतिमार्फत् समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो हुन नसकेको बताए।
'पक्षपात गर्दिनँ भन्नुभयो तर निष्पक्षता र न्याय देखिएन', रावलले भने, 'ती सबै भन्ने कुरा रहेछन्।'
रावलल जस्तै केन्द्रीय सदस्य निरज आचार्यले पनि जाजरकोट जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा नबस्ने भन्दै लिखित सूचना दिएका छन्।
जाजरकोटको संयोजकमा भैरवसुन्दर श्रेष्ठ छन्। श्रेष्ठलाई जिल्ला इन्चार्ज प्रदेशमा सहइन्चार्ज र केन्द्रमा पनि पोलिटब्युरोसम्मको भूमिका दिए पनि आचार्यले आफूलाई अपमानजक ढंगले सहइन्चार्ज बनाइएको बताए।
'म महाधिवेशनसम्म पनि आशावादी थिएँ। किनभने पार्टी बनाउनुपर्नेछ। नेतृत्वले हिजोको अन्तरविरोधको आधारमा भेदभाव गर्दैन भन्ने मेरो बुझाइ थियो। ढुक्क थिएँ' आचार्यले भने, 'योग्यता, क्षमता र खेल्न सक्ने भूमिकाका आधारमा जिम्मेवारी दिइन्छ भन्ने लागेको थियो। नेतृत्वसँगको कुराकानीमा भेदभाव नहुने भन्नुहुन्थ्यो। तर कार्यविभाजन देखेपछि अलिक नसोचेको जस्तो भयो। कुरा अर्कै रहेछ भन्ने लाग्यो।'
बैठकमा उपाध्यक्ष सुवास नेम्वाङ र युवराज ज्ञवालीले पनि पदाधिकारीबीच छलफल गरेर कार्यविजभान गर्नु उचित हुने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए। उपमहासचिव समेत रहेका पृथ्वीसुब्बा गुरूङले एक पक्षीय ढंगले निर्णय लिनु उचित नभएको टिप्पणी बैठकमा गरेका थिए।
एमाले केन्द्रीय कमिटी बैठकमा आफैंले कार्यविभाजनका लागि नामहरू प्रस्ताव गरे पनि ओलीले नेताहरूको विरोधपछि सबैलाई न्याय नभएको महसुस आफूलाई पनि भएको बताएका थिए।
'सबैलाई न्याय भएको छैन भन्ने मैले ठानेको छु। सन्तुलित पनि भएन होला। योग्य साथीहरू पनि कतिपय छुट्नुभएको छ भनेर अध्यक्षले बैठकमा भन्नुभयो', एक केन्द्रीय सदस्यले भने, 'अहिलेको परिस्थिति यस्तै छ मानिदिनुस् भनेर प्रस्ताव राखेपछि, मान्नै पर्यो।'
ती केन्द्रीय सदस्यका अनुसार बैठकमा योगेश भट्टराईले भीम रावललाई केन्द्रीय समिति र स्थायी समितिम ल्याउन सुझाएका थिए।
'एकतर्फी निर्णय गरेर भए पनि भीम रावललाई केन्द्रीय समिति र स्थायी समितिमा ल्याउनुपर्छ भन्ने योगेशजीको धारणा थियो', ती सदस्यले भने, 'उहाँले स्थायी समितिमा ल्याउने निर्णय मान्नुभएन भने भीम रावलको कमजोरी हुन्छ। तर निर्णय गर्नुभएन भने केपी ओलीको कमजोरी हुन्छ भन्नुभयो।'
पूर्वराज्यमन्त्री भगवती चौधरीले आफू पोलिटब्यूरोमा समेत नपर्दा अन्याय भएको बताएकी छन्।
‘जनताले जिताए पनि पार्टीले समर्थन नगर्दा दुई-दुई पटक संसदीय निर्वाचनमा सुनसरीमा हारको सामना गर्नुपर्यो। सुनसरी जिल्लामा पार्टीको अन्तरसंघर्षलाई मिलाउनका लागि मैले खेलेको भूमिका पनि पार्टीले बिर्सियोजस्तो लाग्यो,’ उनले भनिन्, ‘पार्टीमा अन्तरसंघर्ष चुलिएको बेला केपी ओलीको पक्षमा सधैँ खम्बा बनेकी मलाई आज उनै ओलीले धोका दिए, बेवास्ता गरे।’
आफूभन्दा जुनियरलाई माथिल्लो तहमा पुर्याए पनि पार्टीलाई योगदान दिएका आफूजस्ता नेता कार्यकर्तालाई सधैँ अन्याय भएको चौधरीले बताइन्।
एमाले अध्यक्ष ओलीले पूर्वमाओवादीबाट एमालेमा भित्रिएका धेरैलाई जिम्मेवारी दिएको तर एमालेमै रहेका र विगतमा माधवकुमार नेपालसँग निकट भएकाहरूलाई भूमिका नदिएको केन्द्रीय सदस्यहरूको धारणा छ।
कतिपय नेताहरू वरीयता क्रमलाई लिएर असन्तुष्ट रहेका छन्।
एमालेको भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी समिति र ९९ सय सदस्यीय पोलिटब्युरो गठन गरेको छ। त्यस्तै केन्द्रीय समितिमा १० प्रतिशत सदस्य मनोनित समेत गरेको छ। जसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत परेका छन्। कतिपय एमालेका पदाधिकारी भने आफूहरूले सिफारिस गरेका व्यक्ति केन्द्रीय सदस्य नबनेकोमा असन्तुष्ट रहेका छन्।
ओलीले बैठकमा ९ सय मान्छेको सिफारिस आफूलाई आएको र सबैलाई समावेश गर्न सम्भव नभएको जवाफ दिएका थिए।
यी पनि पढ्नुस्:
एमाले कार्यविभाजन- ओली र पोखरेललाई पार्टी, पृथ्वीसुब्बालाई प्रचार विभाग
एमाले स्थायी कमिटी सदस्यमा घनश्याम, अष्टलक्ष्मी, रघुजीदेखि लालबाबुसम्म, भीम रावल परेनन् (सूचीसहित)
बैठकको निर्णय सबैले स्वीकार्नु पर्छ: ओली