नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका विभिन्न पदमा आकांक्षीको ओइरो लाग्दा पनि पदाधिकारी चयन हुन सकेको छैन।
निर्वाचन हुन नदिने केन्द्रीय नेतृत्वको अडानका कारण प्रदेश अधिवेशन सकिएको साता बित्दा पनि पदाधिकारी चुन्न नसकिएको नेताहरू बताउँछन्।
माओवादी केन्द्र प्रदेश कमिटीको अधिवेशन मंसिर २५ र २६ मा सकिएको थियो। त्यसबेला अध्यक्षलगायत पदमा धेरै आकांक्षी भएको भन्दै सहमति जुटाउन पदाधिकारी चयन नगरी अधिवेशन सकिएको थियो।
सहमति जुट्न नसकेपछि माओवादीको प्रदेश नेतृत्व चयन प्रक्रिया नै अन्योलमा परेको छ।
प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक पुस ७ गते बस्दैछ।
प्रदेशको पहिलो अधिवेशनबाट निर्वाचित समितिको उक्त बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि अहिलेसम्म सहमतिको कुनै सम्भावना नदेखिएको माओवादी नेताहरूले बताएका छन्।
‘हरेक पदमा एकभन्दा बढी आकांक्षी छन् तर न सहमति जुटेको छ न चुनाव नै हुने टुंगो छ,’ माओवादी प्रदेश १ का एक नेताले भने, ‘प्रदेशमा चुनाव नगरी चयन हुने सम्भावना छैन।'
उनका अनुसार प्रचण्ड लगायतको उच्च नेतृत्व तह चुनाव नगर्नु भन्ने अडानमा रहेकाले समस्या भएको छ।
यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो।
माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा गठित उक्त कार्यदलमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन्।
कार्यदलको सोमबार बसेको बैठकमा पनि कुनै सहमति नजुटेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मङ्गलबारका लागि बोलाइएको छ।
‘सो बैठकमा कार्यदलको निष्कर्ष सुनाउने र निर्वाचन प्रक्रियामा जानेबारे सहमति हुनसक्ने देखिन्छ,’ कार्यदलका एक सदस्यले भने, ‘बैठकमा पदाधिकारी चयनका लागि हुने निर्वाचन प्रक्रिया पार्टीको राष्ट्रिय सम्मेलनअघि सक्ने कि राष्ट्रिय सम्मेलनपछि गर्ने भन्ने विषयमा छलफल हुनेछ।’
पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यले जोड दिएका छन्।
‘आफैं अध्यक्ष बन्ने गरी सहमति गरेर आउनुहोस् भन्दा पनि सहमति हुन सकेन बरू हामी छोड्छौं भन्ने सहमति गरेको खबर लिएर आउनेहरूलाई नै प्रदेशका पदाधिकारी चयन गर्ने जिम्मा दिएपछि हुने नै यस्तै हो,’ एक प्रदेश सदस्यले भने, ‘अब निर्वाचन प्रक्रिया नै एउटै विकल्प हो।’
अध्यक्ष लगायत नौ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका आ-आफ्नो दाबी गर्दै फेसबुकको प्रचारमा देखिएका छन्।
अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्।
महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरू न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विक लगायतले दाबी गरेका छन्।
यस्तै, समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिंह राजवंशी लगायतले दाबी गरेका छन्।
खुला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन्। अध्यक्षमा दाबी गर्नेमध्ये बाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ।
यस्तै सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट अइन्द्रविक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन्।
सहसचिवमा सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन्। कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारीलगायतले दाबी गरेका छन्।
केही माओवादी नेताहरूले भने निर्वाचन प्रक्रियामा जाने विषयमा पनि विवाद रहेको बताएका छन्।
‘विधानमा २५९ सदस्यीय प्रदेश समिति रहने व्यवस्था छ। तर, अधिवेशनबाट २५१ जनाको नाम पढेर पास गरियो। सपथ ग्रहण र प्रमाणपत्र वितरण समारोहमा २७६ जनालाई सहभागी गराइयो। अब निर्वाचन प्रक्रियामा जाँदा कति जनाले मताधिकार राख्छन् भन्ने विषयमै विवाद हुने देखिएको छ,’ एक माओवादी नेताले विधानविपरीत गरिएका कामको फेहरिस्त सुनाउँदै भने, ‘विधानबमोजिम गर भनेर हामीले भनेको पनि गर्दैनन्, विधानको पालना पनि गर्दैनन्, आफू पनि ढंग पुर्याउँदैनन्, अब झन् ठूलो समस्या आउने देखिएको छ।’