माओवादीको प्रदेश १ मा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने कार्यकर्ताको माग र सकेसम्म सहमतिमा जानुपर्ने नेतृत्वपंक्तिको अड्डीबीचको लामो रस्साकस्सीमा अन्ततः कार्यकर्ताको मागको जित भएको छ।
तर, चुनावी प्रतिस्पर्धाले ल्याउने ‘आपसी फाटो’बारे माओवादी नेताहरू चिन्तित देखिएका छन्। त्यसैले चुनावी प्रतिस्पर्धाबाटै प्रदेश १ को पदाधिकारी चयन गर्ने निश्चित भएपछि माओवादी नेता प्रदेश १ का कार्यकर्तालाई चुनावी परिणामपछि के गर्ने भन्ने प्रशिक्षण दिँदैछन्।
संगठनमा चुनावी अभ्यास कम भएको भन्दै नेताहरूले कार्यकर्तालाई अभ्यस्त तुल्याउन प्रशिक्षण दिइएको माओवादी नेताहरूको भनाइ छ।
‘चुनावमा सकेसम्म नगएको भए हुन्थ्यो, अब गएपछि जित्नेले मात्तिने र हार्नेले आत्तिने नगर्नु होला,’ माओवादी नेता राम कार्की प्रदेश १ का पदाधिकारीका आकांक्षीलाई सम्झाउँदै भनेका छन्, ‘यसलाई आन्तरिक प्रतिस्पर्धाको स्वाभाविक प्रक्रिया ठानेर कमरेडहरूले ग्रहण गर्नुहुनेछ।’
माओवादीभित्र सैद्धान्तिक र वैचारिक बहसमा रूचि राख्ने नेताका रूपमा चिनिएका कार्की बुधबार दिउँसो विराटनगरको प्रदेश पार्टी कार्यालयमा कार्यकर्तालाई यसरी सम्झाउँदै थिए।
प्रदेश पदाधिकारीका धेरै जना आकांक्षीहरू चुनावमै जान इच्छुक देखेपछि उनले चुनावबारे ‘प्रशिक्षण’ दिएका हुन्।
चुनावी जित हारले ल्याउन सक्ने सम्भावित ‘सांगठनिक फाटो ’ को जोखिम टार्न यस्तो प्रशिक्षण आवश्यक रहेको माओवादी नेताहरूको भनाइ छ।
‘हाम्रोमा चुनावी प्रतिस्पर्धाको लामो अभ्यास छैन,’ माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘यस्तो अभ्यास नभएको संगठनमा नेतृत्वले चिन्ता प्रकट गर्नु अस्वाभाविक होइन।’
त्यसो त मंसिर २६ मै सकिएको माओवादी केन्द्र प्रदेश १ अधिवेशनको दायित्व थियो, प्रदेश कमिटी छान्ने। तर, सदस्यहरू मात्रै छानेर अधिवेशन सकिएपछि पार्टीको नेतृत्व पंक्ति पदाधिकारीमा सहमति जुटाउने प्रयासमा लागेको थियो।
दुई सातासम्म पदाधिकारी छान्ने नेतृत्व तहको प्रयास विफल भएपछि अब निर्वाचनको तयारीमा पार्टी लागेको हो।
‘ब्यालेट बक्सहरू ल्याइसकिएको छ, अहिले नेताहरूले प्रशिक्षण दिएपछि चुनाव सुरू हुनेछ,’ माओवादी प्रदेशका एक उम्मेदवारले भने, ‘अब निर्वाचन प्रक्रियामा गयो।’
माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष पदमा द्विपक्षीय प्रतिस्पर्धा हुने निश्चित भएको छ।
दुई सातादेखि जारी सहमति प्रयास विफल बनेपछि प्रदेश १ को पदाधिकारी चयनका लागि चुनाव हुने निश्चित भएपछि प्रतिस्पर्धी संख्या पनि साँघुरिएको हो।
आधा दर्जनभन्दा बढी आकांक्षीहरू रहेको अध्यक्ष पदमा अन्तिममा हर्कबहादुर नेम्बाङ मिक्सो पाँचथर र मुक्साहाङ मेन्याङ्बो सुनसरीबीच प्रतिस्पर्धा हुने माओवादी नेताहरूले जनाएका छन्।
नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढीको दाबी थियो। तर, चुनावी प्रक्रिया सुरू हुने बेलामा यो संख्या घटेको छ।
अध्यक्ष पदका आकांक्षी घटे पनि अन्य पदमा दाबी गर्नेहरूको संख्या भने अझै पनि उस्तै छ।
महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गरेका छन्।
यस्तै, समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन्।
खुला उपाध्यक्षमा सुनसरीको भोला बस्नेतले दाबी गरेका छन्।
अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ।
सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन्।
प्रदेश १ मा आजै साँझ सात बजेदेखि मतदान हुने भएको छ।