नेपाली कांग्रेसको प्रदेश-२ को नयाँ नेतृत्व छान्न बिहीबारमात्रै मतदान हुने भएको छ।
निर्वाचन अधिकृत प्रल्हाद गौतमले मतदान भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए।
‘आधा मत पत्र छाप्न बाँकी छ। त्यही भएर भोलि बिहानदेखि मतदान सुरू हुन्छ,’ गौतमले भने।
दिउँसो चार बजेदेखि मतदान हुने भनिए पनि प्राविधिक कारण भन्दै मतदान सुरू हुन सकेन। यसअघि दिउँसो १ बजेदेखि मतदान हुने कार्यतालिका थियो।
मतदानका विषयमा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको थियो।
बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा नारा लगाइरहेका दुई पक्षका कार्यकर्ताबीच मुक्का हानाहान भएको हो।
प्रदेश २ मा सभापति शेरबहादुर देउवा समूह एकातिर छ भने र चौधौं महाधिवेशनबाट सभापति पराजित शेखर कोइराला र विमलेन्द्र निधिको अर्को समूह बनेको छ।
देउवा पक्षले आजै चुनाव गराउन चाहेको थियो भने कोइराला-निधि पक्षले राति चुनाव गर्न नहुने माग गरिरहेको थियो।
एक पक्षले निर्वाचन रोक्ने र एक पक्षले गराउन नाराबाजी गरेपछि विवाद भएको कांग्रेसका धनुषा सभापति महेशशंकर गिरीले जानकारी दिए।
राति चुनाव हुँदा प्रहरी प्रशासनको दुरूपयोग हुन सक्ने भन्दै कोइराला-निधि पक्षले बिहीबार बिहानमात्रै मतदान सुरू गर्नुपर्ने माग गरेको हो।
कोइराला-निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।
कांग्रेस कार्यकर्ताबीच मुक्का हानाहान भएपछि अहिले गोपाल धर्मशाला आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।