नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू विधानविपरीत भातृ संस्थामै क्रियाशील रहेको पाइएको छ।
कांग्रेस विधानले उपल्लो पदमा निर्वाचित भएपछि कार्यरत रहेको पद स्वत: रिक्त हुने व्यवस्था गरेको छ।
हालै सकिएको कांग्रेसको १४ औं महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्य जितेका तरूण दल अध्यक्ष जितजंग बस्नेत भने अझै भातृ संस्थामै क्रियाशील छन्।
उनले तरूण दलको अध्यक्षको हैसियतमा आज परिपत्र जारी गरेका छन्।
केन्द्रीय सदस्य बनेपछि भातृ संस्थाको नेतृत्वमा बस्न मिल्दैन। तर बस्नेतले तरूण दल अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य भन्दै तरूण दलका जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेका हुन्।
पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउन उनले परिपत्र गरेका हुन्।
पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भातृ संस्थाको पदाधिकारी वा सदस्य नहुने कांग्रेस विधानमा उल्लेख छ।
साथै भातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भातृ संस्थाको पद स्वत: रिक्त हुने विधानको दफा ४२ को २ (ङ) मा व्यवस्था छ।
यो विधानअनुसार बस्नेत तरूण दलको जिम्मेवारीबाट स्वत: हट्नुपर्ने हो। तर महाधिवेशन सकिएको एक साता हुँदा पनि उनले तरूण दलकै हैसियतमा परिपत्र गर्दै आएका छन्।
बस्नेतले विधानअनुसार नै आफू अगाडि बढ्ने बताए।
नेविसंघ अध्यक्ष राजिव ढुंगाना पनि खुलातर्फ कांग्रेस केन्द्रीय सदस्य जितेका छन्। उनी पनि स्वत: नेविसंघ अध्यक्षबाट हट्नुपर्ने हो। केन्द्रीय सदस्य उम्मेदवार हुँदा ढुंगानाले पनि नेविसंघ अध्यक्ष पदबाट राजीनामा दिएका थिएनन्।
साथै कांग्रेसको शुभेच्छुक संख्या नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पनि कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्य जितेका थिए।
शिवाकोटी भने कांग्रेस विधानअनुसार प्रेस युनियनको महासचिवबाट आफैँ हटेका छन्। उनले युनियनको महासचिव पद त्याग गर्दै बुधबार उपमहासचिव भीष्मराज ओझालाई माइन्युट हस्तान्तरण गरेका थिए।
ओझालाई युनियनले कार्यबाहक महासचिव बनाएको छ। प्रेस युनियनमा पनि लामो समयदेखि महाधिवेशन हुन सकेको छैन।
कांग्रेसमा भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरू यसपालि केन्द्रीय सदस्य जितेका छन्। नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार पनि केन्द्रीय सदस्य भएका छन्।
केन्द्रीय सदस्य जितेकोले आफू अब उक्त पदबाट स्वत: हट्ने सतारले बताइरहेका छन्।
भातृ संस्थाका अध्यक्षलाई देउवाले नै रोके
भातृ संस्थाको नेतृत्व गरिरहेकाहरू अधिकांश सभापति शेरबहादुर देउवानिकट छन्। देउवाकै टिममा परेका भातृ संस्थाका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य जितेका थिए।
उनीहरूलाई पदमै रहन सभापति देउवाले दवाव दिएका छन्।
‘विधानअनुसार हामी स्वत: पदमुक्त भयौं, नेतृत्व गरिरहेको संस्था के गर्ने भनेर हामीले सभापतिलाई सोधेका थियौं,’ केन्द्रीय सदस्य जितेका कांग्रेसको एक भातृ संस्थाका अध्यक्ष भन्छन्, ‘सभापतिजीले केही समय पर्खनुस् भन्नुभयो। तीन महिनाभित्र भातृ संस्थाको महाधिवेशन गरेर मात्रै छाड्नुस् भन्नुभएको छ।’
भातृ संस्थामा तदर्थ समिति, अधिवेशनको टुंगो छैन
कांग्रेसका अधिकांश भातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्। महाधिवेशनबाट नै नेविसंघ सभापति जितेका नैनसिंह महर कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन्।
महरले राजीनामा दिएपछि नेविसंघमा राजिव ढुंगानालाई सभापति बनाइएको थियो। ढुंगाना पनि कांग्रेस केन्द्रीय सदस्य भइसके।
नेविसंघले १२ औं महाधिवेशन गर्न सकेको छैन। महाधिवेशन नहुँदा नेविसंघका नेता पार्टी राजनीतिमा लागिसकेका छन्। नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन्।
कांग्रेसले गत साउन ३१ मा केन्द्रीय समितिबाट नेविसंघलगायत भातृ संस्थाका म्याद कुनै आधार नखुलाई थप गरेको थियो।
नेविसंघ, तरूण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद छ महिना थप गरिएको थियो।
पछिल्लो पटक थप गरिएका यी भातृ संस्थाको म्याद सकिन एक महिना मात्रै बाँकी छ। वर्षौंदेखि अधिवेशन नभएका भातृ संस्थालाई पनि विना कानुनी आधार म्याद थपिएकोमा आलोचना हुने गरेको छ।
तरूण दल २ जनामा सीमित!
अध्यक्ष जितजंग बस्नेत केन्द्रीय सदस्य भएपछि तरूण दलबाट उनको पद स्वत: रिक्त भयो। तरूण दलमा बस्नेतसहित जम्मा चार जना मात्रै थिए।
यीमध्ये महामन्त्री भूपेन्द्रजंग शाही गत वर्षदेखि नै पार्टी राजनीतिमा क्रियाशील छन्। उनी कर्णाली प्रदेश सभापति उम्मेदवार भएर पराजित भएका थिए।
शाही तरूण दल महामन्त्रीमा सक्रिय छैनन्। ९५ सदस्यीय तरूण दलमा चार जना मात्रै पदाधिकारी थिए।