निर्वाचन आयोगमा दोस्रो चरणअन्तर्गत मतदाता नामावली अध्यावधिक कार्य भइरहेको छ। उपत्यकाबाहिरका व्यक्तिहरू केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर मतदाता नामावली दर्ता गराइरहेका छन्।
तर, आयोगमा अत्याधिक भिडभाड हुने भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।
निर्वाचन आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलले छुटेका व्यक्तिहरू नामावली दर्ता गराउन आउनेक्रम बढेकोले केही समय कुर्नुपर्ने अवस्था आएको बताउँछन्।
केन्द्रीय निर्वाचन आयोगमा दैनिक ६ सय र देशभरि ५० हजार नयाँ नामावली दर्ता हुने गरेको उनको भनाइ छ।
उनका अनुसार यसअघि विदेशमा रहेका विदेश, उमेर नपुगेका र पहिले छुटेका व्यक्तिहरू पछिल्लो समय नामावली दर्ता गराउन आइरहेका छन्।
आयोगले मंसिर १७ गतेदेखि पुस १९ (आज) सम्म दोस्रो चरणको मतदाता नामावली संकलन अभियान चलाएको थियो। उक्त अभियानका क्रममा पनि कैयौँ व्यक्तिहरू नामावली दर्ता गराउन आयोग तथा सम्बन्धित कार्यालय नपुगेका कारण अहिले भिड बढेको हो। छुटेकाले अझै पनि मतदाता नामावली दर्ता गराउन सक्नेछन्।
आयोगका अनुसार निर्वाचन घोषणा नभएसम्म मतदाता नामावली दर्ता गराउन पाइन्छ। सोही स्थानको बासिन्दाको हकमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावली दर्ता गराउन सकिन्छ। तर, जन्मस्थानभन्दा अन्य जिल्लामा बसोबास गर्दै आएकाहरूले बसोबास गर्दै आएको जिल्लाको निर्वाचन कार्यालयमा गएर नामावली दर्ता गराउन सक्नेछन्।
आयोगले १८ वर्ष पुगेका नागरिकलाई मतदाता परिचयपत्र दिन्छ।