नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानअनुसार संसदीय समितिबाट नै उम्मेदवार तय गरिनुपर्ने बताएका छन्।
केन्द्रीय समिति बैठक सकिएपछि सेतोपाटीको प्रश्नमा उनले संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने बताएका हुन्।
‘उम्मेदवार संसदीय समितिबाटै तय गर्नुपर्छ भन्ने आवाज आएको छ, अबदेखि संसदीय समिति बनाएरै उम्मेदवार तय गरिनुपर्छ,’ उनले भने।
यसपालि संसदीय समिति बनाउन समय अभाव भएजस्तो देखिए पनि अबदेखि भने संसदीय समितिबाटै उम्मेदवार तय गरिनुपर्ने उनी बताउँछन्।
‘सत्तारूढ गठबन्धनमा उहाँहरूले आजै छलफल गरेर तालमेल गर्ने निर्णय लिनुभएछ। संसदीय समिति बनाएर उम्मेदवार तय गर्न अहिलेका लागि समय अभाव हुनेजस्तो देखियो ,’ उनले भने।
सत्तारूढ ५ दलले सोमबार नै छलफल गरेर १९ सिटमा भागबन्डा गरेका थिए। कांग्रेसले ६ सिट, माओवादी र नेकपा एकीकृत समाजवादीले ५/५ सिट, जसपाले २ सिट र राष्ट्रिय जनमोर्चाले एक सिट लिने गरी भागबन्डा भएको थियो।
राष्ट्रिय सभामा पार्टीबाट छ जना उम्मेदवार बनाउन मिल्ने भएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रदेशका सभापतिहरूसँग राय पनि लिएका थिए। उम्मेदवार सिफारिस गर्न प्रदेशहरूलाई पनि आग्रह गरिएको थियो।
सत्तारूढ गठबन्धनको बैठकपछि सोमबार अपरान्ह सानेपामा कांग्रेसले केन्द्रीय समिति बैठक गरेको थियो। बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले छ जना उम्मेदवारको नाम पेश गरेपछि हलले अनुमोदन गरेको थियो।
प्रदेश नम्बर १ मा झापाका गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा गोरखाकी कमला पन्त, कर्णालीमा सुर्खेतकी दुर्गाकुमारी गुरूङ, लुम्बिनीमा बाँकेका युवराज शर्मा र सुदूरपश्चिममा कैलालीका नारायण मिश्रलाई कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ।
यीमध्ये कमला पन्त र नारायण मिश्र संस्थापनइतर पक्षका हुन्। पन्त कोइराला प्यानलबाट सहमहामन्त्री उठे पनि पराजित भएकी थिइन्। मिश्र भने सुदूरपश्चिम प्रदेश सभापति पराजित भएका थिए। मिश्र त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेल निकट थिए।
कांग्रेस विधानअनुसार केन्द्रीय समितिले उम्मेदवार छान्ने व्यवस्था छैन।
संसदीय समिति गठन गरेर त्यसबाट उम्मेदवार तय गर्नुपर्छ। सभापतिसहित केन्द्रीय पदाधिकारी संसदीय समितिमा पदेन सदस्य हुन्छन्। साथै सभापतिले ११ जना सदस्य संसदीय समितिमा मनोनीत गर्न पाउने व्यवस्था छ।
सभापति शेरबहादुर देउवाले संसदीय समितिमा सदस्य मनोनीत गरेका छैनन्। केन्द्रीय सदस्यमध्येबाट संसदीय समितिका सदस्य मनोनीत गर्नुपर्ने व्यवस्था छ।
आजको बैठकमा प्रदेश सभापतिहरूलाई पनि आमन्त्रण गरिएको थियो। लुम्बिनीका सभापति अमरसिंह पुनले सातै प्रदेशका सभापतिहरूको हस्ताक्षरसहित केन्द्रीय समिति बैठकमा उपस्थित हुन पाउने वैधानिक व्यवस्था गर्न माग गरेका थिए।
साथै केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै उपसभापतिमा पराजित महेश आचार्य र चन्द्र भण्डारी तथा महामन्त्रीमा पराजित मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनीत गर्न माग गरेका थिए।
सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेमा १३ जना मनोनीत गरिसक्दा पनि आचार्य, भण्डारी र रिजाल केन्द्रीय सदस्य मनोनीत भएका छैनन्।
उनीहरूमध्ये आचार्य स्वतन्त्र रूपमा उपसभापति उम्मेदवार थिए भने भण्डारी र रिजाल शेखर कोइराला पक्षबाट १४ औं महाधिवेशनमा उम्मेदवार थिए।
पदाधिकारीमा पराजित भएका देउवा पक्षका नेताहरूलाई भने सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।