अन्य प्रदेशको दाँजोमा प्रदेश १ मा बलियो देखिएको नेकपा एमालेलाई राष्ट्रियसभा चुनावमा पाँच दलीय गठबन्धन तथा लिम्बुवानवादी दलका कारण समस्या पर्ने देखिएको छ।
प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित तीन जनाको पद रिक्त भएपछि हुन लागेको राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धन एमालेका लागि भारी पर्ने देखिएको हो।
केन्द्रमा रहेको पाँच दलीय गठबन्धनबाहेक प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल रहेकाले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेको भन्दा धेरै हुन पुगेको छ।
सबै मतदाता मतदानमा सहभागी भए र फ्लोर क्रस नभए प्रदेश १ का तीनवटै सिट गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना छ। स्थानीय तहका अध्यक्ष-प्रमुख, उपाध्यक्ष-उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन्।
निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदातामध्ये टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त छ। १३७ स्थानीय तहतर्फ २७४ मतदातामध्ये २ जनाको निधन भएको छ। यस कारण २७२ जना मतदाता छन्।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले स्थानीय तहका मतदाताको पद रिक्त छ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी प्रावधान छ। यसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ रहेको छ।
प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५४२ मतभार छ भने गठबन्धनको पाँच दलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६८६ देखिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशको गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ। प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको १२० मतभार रहेको छ।
राप्रपाको मत एमालेलाई गएको अवस्थामा पनि गठबन्धन २४ मतले अगाडि हुने अवस्था छ। प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० तहका उपाध्यक्ष र उपमेयर छन्। प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५७४ मतभार छ।
नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ छन्। कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ को मतभार १ हजार ७२८ छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार २ हजार ७३६ छ। नेकपा माओवादी केन्द्र १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन्।
माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका ११ जना जनप्रतिनिधि छन्।
स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जनाको मतभार १९८ रहेको छ भने प्रदेशसभा सदस्यको ४८० सहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ। प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार रहेको छ।
प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ।
प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरूङको कार्यकाल सकिएर पद रिक्त भएको हो। महिला, खुल्ला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रका १-१ पदको लागि हुन लागेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रबाहेक प्रमुख दलहरूले उम्मेदवार चयन गरिसकेका छन्।
नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरू बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यसैगरी, गठबन्धनबाट खुल्लातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत झापा र महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई भोजपुर उम्मेदवार बन्ने भएका छन्। नेकपा माओवादी केन्द्रले अपांगता भएका र अल्पसंख्यकतर्फको कोटा पाएको छ। तर उम्मेदवार टुंगो लगाइसकेको छैन।