नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बोलाएको आन्तरिक बैठकमा नेता रामचन्द्र पौडेलको भूमिकाबारे समीक्षा भएको छ।
पौडेलले महाधिवेशनमा ‘मौन’ बसेर सभापति शेरबहादुर देउवालाई नै सहयोग गरेको दाबीसहित रिपोर्ट कोइराला पक्षको भेलामा प्रस्तुत भएको छ।
आफ्नो प्यानलबाट पदाधिकारी र केन्द्रीय सदस्य उठेका नेताहरूसँग आज कोइरालाले बत्तिसपुतलीमा छलफल गरेका थिए।
बैठकमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बलबहादुर केसी उपस्थित थिए।
आजको बैठकमा मुख्यगरी तीन विषयमा सरसर्ती समीक्षा गरिएको थियो।
सभापति शेरबहादुर देउवाले मनोनीतमा आफू निकटलाई प्राथमिकता दिएको, राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्दा प्रक्रिया नपुर्याइएको र नेता पौडेलले सभापति देउवालाई सहयोग गरेको पाइएको विषयमा बैठकमा नेताहरूले छलफल गरेका थिए।
बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकारहरूसँग कुराकानी गर्दै आज अनौपचारिक रूपमा केही नेताहरू बसेर छलफल गरिएको र भोलि विस्तृत रूपमा छलफल गरिने बताए।
‘आज अनौपचारिक रूपमा सामान्य छलफल गरियो। महाधिवेशनमा यो टिमबाट उम्मेदवार रहेकाहरूसँग भोलि दिउँसो २ बजे विस्तृतमा छलफल गर्छौं,’ केसीले भने, ‘अलग बैठक गर्ने परम्परा छाडेर पार्टीमा समग्र एकता कायम गर्नुपर्छ भन्ने दृष्टिकोण राख्दाराख्दै पनि सभापति एकलौटी हिँडेपछि आज आन्तरिक छलफल गर्नुपर्यो।’
केसीले सभापति देउवालाई मन, बचन र कर्मले सहयोग गर्न आफूहरूले चाहेको पनि बताएका थिए। ‘चुनावमा मत विभाजन भयो होला, अब मन विभाजन नगर्ने भनेका छौं। यो गुटको बैठक पनि होइन,’ उनले भने।
केसीका अनुसार बैठकमा सभापति देउवाले दुई चरणमा गरेका मनोनीतबारे छलफल भएको थियो। देउवाले दुई चरणमा गरी १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्दा शेखर पक्षका एक जना पनि समेटेका छैनन्।
देउवाले महाधिवेशन प्रक्रियाबाट अलग बसेको बताएका रामचन्द्र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।
साथै आफ्नो प्यानलबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री हारेका र सभापतिमा आफूलाई समर्थन गरेकाहरूलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्।
‘सभापति केन्द्रीय सदस्य मनोनीत एकतर्फी रूपमा गर्नुभयो। राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा पनि छलफल भएन। एकपक्षीय ढंगले सभापति हिँड्नुभयो, यो कुराले हामी शशंकित छौं,’ केसीले भने, ‘पार्टीमा देखिएका चुनौतीहरू सामना गर्न सहमतिपूर्वक जानुपर्छ। सहमति भनेको सहअस्तित्व हो, आत्मसमर्पण होइन।’
पार्टीमा महाधिवेशनका बेला देखिएको शक्ति सन्तुलनलाई मिलाएर लैजाने क्षमता सभापति देउवामा नदेखिएको पनि कोइराला पक्षका नेताहरूको आरोप छ।
केसीले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा पहिलेदेखि नै छलफल नगरिएको र अपरझट नामहरू प्रस्तुत गरिएकोमा आफूले असन्तुष्टि जनाएको पनि बताएका थिए।
कांग्रेस केन्द्रीय समितिको सोमबारको बैठकमा छ जना उम्मेदवारको नाम प्रस्तुत भई सर्वसम्मत निर्णय भएको थियो।
‘को-को उम्मेदवार भए, व्यक्तिको सन्दर्भमा कुनै टिप्पणी छैन। तर उम्मेदवार छान्ने प्रक्रियामा म सन्तुष्ट छैन, यो कुरा मैले हिजो पनि राखेको हुँ,’ केसीले भने।
कांग्रेसले संसदीय समिति गठन गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने विधानको व्यवस्था भए पनि केन्द्रीय समितिबाटै उम्मेदवार तय गरेको थियो।
सभापति देउवाले संसदीय समितिलाई पूर्णता दिएका छैनन्। उनले ११ जनालाई संसदीय समितिमा मनोनीत गर्न पाउँछन्। उक्त समितिमा कांग्रेसका पदाधिकारी पदेन सदस्य हुने व्यवस्था छ।
आज शेखरलगायत नेताहरूले सामान्य छलफल गरे पनि यी विषयमा मंगलबार विस्तृत छलफल गरिने नेताहरू बताउँछन्।
‘यो भागबन्डा र अंशबन्डाको होइन। राजनीति भनेको साझेदारी हो,’ केसीले भने। साथै आजको बैठकमा महाधिवेशन प्रक्रियाबाट अलग रहेको दाबी गर्दै मतदानमा पनि नआएका नेता पौडेलबारे समीक्षा भएको थियो।
‘रामचन्द्रजी पनि रूपान्तरणका एजेन्डा र लोकतान्त्रिक विधि प्रक्रियाबारे अस्तिसम्म लडेको नेता हो,’ केसीले भने, ‘म त उहाँको भूमिका तटस्थ नै देख्छु तर साथीहरूको कुरा सुन्दा उहाँले शेरबहादुरजीलाई नै सहयोग गरेको कुरा रिपोर्ट छ।’
केसीले आफूहरूले कसैसँग पनि आत्मसमर्पण भने नगर्ने बताए।
‘आत्मसमर्पण कसैसँग गर्दैनौं, सहकार्य गर्दै जाने हो। शेरबहादुरजी पनि हाम्रो साथी हो, सँगै काम गर्न कुनै अप्ठेरो छैन। शीर कटाउन सकिन्छ, आत्मसमर्पण गर्न सकिन्न,’ उनले भने।
सभापतिमा पराजित भएका शेखर विधानअनुसार स्वत: केन्द्रीय सदस्य छन्। उनलाई पदाधिकारी, पूर्वपदाधिकारीभन्दा तलको वरीयतामा राखिएको छ।
सभापतिमा देउवासँग पराजित भए पनि शेखरले ४० प्रतिशत मत ल्याएकोले त्यसको सम्मान गरिनुपर्ने आवाज पनि उठेको छ।
साथै राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारीहरू र प्रदेश सभापतिहरूसँग राय तथा सुझाव लिएका थिए। तर ४० प्रतिशत मत ल्याएका शेखरसँग छलफल गरेका थिएनन्।
छ जना उम्मेदवारमध्ये २ जना संस्थापनइतरका थिए। गण्डकीमा टिकट पाएकी कमला पन्त शेखर प्यानलबाटै सहमहामन्त्रीमा उठेर पराजित भएकी थिइन्।
साथै सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित नारायण मिश्र पौडेलनिकट हुन्। सभापति देउवाले टिकट वितरण गर्दा पौडेलसँग छलफल गरे पनि कोइरालासँग छलफल नगरेकोमा उनी पक्षका नेताहरू रूष्ट छन्।