नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने भएको छ।
कोइराला प्यानलबाट पदाधिकारी पराजित नेतालाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत नगरेपछि यो समूह असन्तुष्ट छ।
पार्टीभित्र गुटबन्दी नगर्ने र भागबन्डा नगर्ने अडान लिएका कोइराला पक्षका नेताहरू नै आन्तरिक बैठक गर्दै घुमाउरो तरिकाले भागबन्डा हुनुपर्नेमा लबिङ गर्दैछन्।
पछिल्लो समय सभापति देउवाले राष्ट्रिय सभा सदस्य उम्मेदवार तय गर्दा पनि शेखर पक्षसँग छलफल गरेका थिएनन्।
एकपछि अर्को घटनाक्रम हेर्दा सभापति देउवाले पेलेरै अघि बढ्न चाहेको देखिएकोले सभापतिमाथि दबाब बढाउने निष्कर्षमा कोइराला पक्ष पुगेको छ।
पार्टीभित्र समान अवसर र न्याय हुनुपर्ने माग गर्दै कोइराला पक्षले मंगलबार र बुधबार काठमाडौंमा आफूनिकट नेताहरूको भेलासमेत गरेका थिए।
आज सिंहदरबारअगाडि बसेरा होटलमा कोइराला पक्षले छलफल गरेका थिए। उक्त छलफलमा सहभागी नेता चन्द्र भण्डारीका अनुसार मुख्यगरी चार विषयमा समीक्षा भएको छ।
१४ औं महाधिवेशनमा कोइराला पक्षका नेताहरू पराजित हुनुका कारण, सभापति देउवाको पेलेरै जाने नीति, विधान उलंघनका विषय तथा कार्यकर्तालाई समान अवसर र न्यायलगायत विषयमा आजको छलफल केन्द्रित थियो।
‘सभापति अत्याधिक मत ल्याएर जित्नुभयो। तर कम भोट ल्याउनेलाई पनि मनोनीत गर्दा तुलनात्मक रूपमा धेरै मत ल्याउनेलाई मनोनीत गर्नुभएन,’ उपसभापतिमा पराजित भएका भण्डारीले भने, ‘हामी सभापतिलाई सहयोग गर्न चाहन्छौं तर उहाँले हाम्रो सहयोग लिनुपर्यो।’
सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेकोमा कोइराला पक्षले विरोध गरेका छन्। ‘देश संविधानले चलेजस्तै पार्टी विधानले चल्छ,’ उनले भने, ‘विधानलाई उलंघन गर्ने अधिकार कसैलाई छैन।’
राष्ट्रिय सभा सदस्य निर्वाचन चयन गर्दा केन्द्रीय समितिबाट गरिएको थियो। विधान अनुसार कांग्रेसमा संसदीय समिति बनाएर उम्मेदवार तय गरिनुपर्छ। कांग्रेसले छ जना नेतालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको थियो।
सभापति देउवाले गुटका आधारमा भन्दा पनि कार्यकर्तालाई समान अवसर र न्याय दिनुपर्ने उनी बताउँछन्। ‘नेता/कार्यकर्तालाई गुटका आधारमा होइन। समान अवसर र न्याय हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘हामी गुट र भागबन्डाका कुरा गर्दैनौं तर समान अवसर हुनुपर्छ, पार्टीमा न्याय हुनुपर्छ भन्ने हो।’
कांग्रेस विधानअनुसार महाधिवेशन प्रतिनिधि मध्येबाट समावेशी सिद्धान्तलाई ख्याल गर्दै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन्। अहिलेसम्म १३ जना मनोनीत भइसकेका छन्।
‘सभापतिको विवेक हुने हो भने उहाँले समान अवसर दिनुपर्छ,’ उनले भने, ‘होइन भने संगठनलाई आघात पार्न सक्छ।’
उनले पार्टीमा आफूहरूले समानान्तर गतिविधि गर्न नचाहेको पनि बताए।
‘हामी सभापतिलाई अहसयोग गर्दैनौं। कमीकमजोरीबारे बोलेनौं भने त पार्टी कमजोर हुन सक्छ,’ उनले भने, ‘हामी पार्टी नेतृत्वलाई करेक्सन गर्न चाहन्छौं, पार्टीलाई कमजोर वा विभाजन गर्ने होइन।’
शेखर पक्षले बोलाएको भेलामा रामचन्द्र पौडेल र शशांक कोइराला भने उपस्थित भएका थिएनन्। पूर्वमहामन्त्री कोइराला शेखर पक्षबाट पनि केन्द्रीय सदस्य उम्मेवार थिए भने सभापति देउवा पक्षबाट पनि केन्द्रीय सदस्यमा उनको नाम थियो।
शेखर पक्षका नेताहरूले महाधिवेशनमा रामचन्द्र ‘मौन’ बसेर सभापति देउवालाई नै सहयोग गरेको निचोड निकालेका छन्। बत्तिसपुतलीमा मंगलबार बसेको बैठकमा शेखर पक्षका नेताले रामचन्द्र देउवातिरै मिलेको निष्कर्ष निकालेका थिए।
रामचन्द्र र शशांक आजको बैठकमा सहभागी नभएकोबारे सोधिएको प्रश्नमा भण्डारी भने यसको जवाफ आउन समय लाग्ने बताउँछन्। ‘यो सबै कुरा आवश्यकताअनुसार भनौला, सबैको जवाफ एकैपटक हुन्न,’ उनले भने।
राष्ट्रिय सभा सदस्य उम्मेदवार छान्दा सभापति देउवाले रामचन्द्रसँग छलफल गरेको र शेखरलाई किनारा लगाएको आरोप लागेको थियो।
महाधिवेशनमा शेखर पक्षका धेरै नेता पराजित भएका थिए। भण्डारीका अनुसार तत्कालीन पौडेल समूह एकढिक्का बनाउन समय दिँदा महाधिवेशनको राम्रोसँग तयारी गर्न अपुग भएको थियो।
‘पौडेल समूहलाई कसरी मिलाउने भन्दाभन्दै उम्मेदवार दिन छुट्ने अवस्था भयो,’ उनले भने।
आजको भेलामा महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याएका नेतालाई नेतृत्वले स्वीकार गर्नुपर्ने बताएका थिए। सभापति पदमा देउवासँग पराजित हुँदा शेखरले ४० प्रतिशत मत ल्याए पनि देउवाले उनलाई स्वीकार नगरेको आरोप छ।
‘पालिका, क्षेत्र र जिल्लामा हामी मुख्य शक्ति हो,’ थापाले भने, ‘नेतृत्वले ४० प्रतिशत मत ल्याएको शक्तिलाई वेवास्ता गरेर पार्टी चल्दैन।’
आफूहरूले सभापति देउवालाई सफल बनाउन सहयोग गर्न खोजेको पनि उनको भनाइ थियो। तर नेतृत्वले सबैलाई समेटेर नलैजाने हो भन्ने त्यो सैह्य नहुने पनि उनले बताए। सभापति देउवाले गुट चलाउन नहुने उनको भनाइ थियो।
शेखरले भने कुन मापदण्डका आधारमा सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेको हो भन्ने प्रश्न राखेका थिए। साथै बैठकमा आगामी आम निर्वाचनमा पार्टीले कसैसँग तालमेल गर्न नहुने आवाज उठेको छ।
आन्तरिक बैठकमा शेखरलाई वरिष्ठ नेता भनेर सम्बोधन गरिएको थियो। विधानमा वरिष्ठ नेता रहने व्यवस्था नभए पनि कांग्रेसमा सभापति पराजित व्यक्तिलाई वरिष्ठ नेता भन्ने परम्परा छ।
शेखर पक्षले आफूनिकट भेला राखेर पार्टीभित्र आफूहरू प्रतिपक्षी रहेको र आफूहरूसँग रामचन्द्र र शशांक नरहेको सन्देश पनि सभापति देउवालाई दिन खोजेको एक नेता दाबी गर्छन्। शशांकले पनि महाधिवेशनमा खुलेर शेखरका पक्षमा भोट नमागेको उक्त समूहको आरोप छ।
०७२ देखि वरिष्ठ नेता रहेका रामचन्द्रको ठाउँमा शेखरलाई वरिष्ठ नेताको सम्बोधन गरेर पनि उनीहरूले रामचन्द्र यो समूहमा नरहेको सन्देश दिन खोजेका थिए।