प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफ्नी पत्नीका नाममा डेढ वर्षअघि काठमाडौंको भाटभटेनीमा महँगो जग्गा किनेको भेटिएको छ।
काठमाडौं महानगरपालिका-५, भाटभटेनीस्थित ७ नम्बर कित्ताको डेढ रोपनी जग्गा प्रधानन्यायाधीश पत्नी रेजी राणाका नाममा किनेको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ। उक्त २४ आना जग्गा र त्यसमा बनेको घर उनले ८ करोड २५ लाख रूपैयाँमा किनेको मालपोतको रेकर्डमा छ।
यो सम्पत्ति उनले दिव्यश्वर सिंह नाम गरेका व्यक्तिबाट किनेकी हुन्। राणाले जग्गालाई ८ करोड २४ लाख र त्यहाँ भएको घरलाई १ लाख ६५ हजारको थैली बुझाएकी थिइन्।
यो जग्गा भाटभटेनीमै रहेको भाटभटेनी सुपर मार्केटभन्दा केही पूर्व छ। त्यहाँको जग्गाको बजार भाउ आनाको १ करोड पर्ने जग्गा व्यवसायीहरू बताउँछन्। आनाको १ करोड मूल्यांकन गर्दा राणाले किनेको जग्गा र घरको मूल्य कम्तीमा २४ करोड पर्ने देखिन्छ।
मालपोत कार्यालयमा भने सरकारले तोकेको भाउअनुसार दस्तुर तिरेर पास गर्न पाइन्छ। उनले दस्तुर तिर्दा नै आनाको ४० लाखजति मूल्यांकन गरेको देखिन्छ।
प्रधानन्यायाधीश पत्नी गृहिणी हुन्। उनले यति धेरै मूल्य पर्ने घरजग्गा कुन आयस्रोतबाट किनिन् भन्ने खुलेको छैन।
यसअघि पनि राणाले आफ्नो नाममा महँगा जग्गा किनेको सेतोपाटीले पत्ता लगाएको छ। मालपोत कार्यालयको रेकर्डअनुसार १३ वर्षअघि पनि उनको नाममा ठमेल र धुम्बाराहीमा महँगो जग्गा किनिएको देखिन्छ।
डिल्लीबजार मालपोत कार्यालयको अभिलेखअनुसार २०६५ मंसिर ४ गते उनले ठमेलस्थित सञ्चय कोष भवनभन्दा पूर्वदक्षिणमा रहेको २० आना जग्गा र दुईवटा घर किनेकी थिइन्। यो जग्गा उनले छिमी डोलकर लामाबाट किनेकी हुन्।
तीनवटा कित्तामा रहेको २० आना जग्गाको एउटै प्लट र त्यसमा बनेका दुई घर उनले १३ वर्षअघि करिब तीन करोड रूपैयाँमा किनेको मातपोतको रेकर्डमा छ।
कित्ता नम्बर १०९ को ८ आना २ पैसामा बनेको घर-जग्गाका लागि १ करोड ६ लाख ५० हजार र कित्ता नम्बर ११० को ८ आना ३ पैसामा बनेको घर-जग्गाका लागि १ करोड ३३ लाख ५० हजार रूपैयाँ बुझाएको देखिन्छ। त्यस्तै, कित्ता नम्बर १११ को ४ आना ३ दामको जग्गाका लागि ५० लाखभन्दा बढी तिरेकी छन्।
राणाले ठमेलमा किनेको जग्गाकी धनी छिमी डोलकर लामा मुस्ताङी राजा जिग्मी पलवर विष्टका जेठा दाजुकी छोरी हुन्। पहिले छिमीका बुवा आङ्गुन वाङ्दी न्याङ्बो पलवर मुस्ताङका राजा थिए। उनी बितेपछि भाइ जिग्मी पलवर राजा भएका थिए।
मुस्ताङी राजाको परिवारमा लामो समयदेखि सम्पत्तिको झगडा छ। देवर राजा भएपछि आफू र छोरीहरूलाई दरबारबाट निकाला गरेको भन्दै न्याङ्बोकी श्रीमतीले अंश मुद्दा हालेकी थिइन्। उक्त मुद्दा छिमी र उनकी बहिनीले लड्दै आएका थिए। यो मुद्दा जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च आइपुगेको थियो।
काठमाडौंको तत्कालीन वडा नम्बर ७ को सात नम्बर कित्तामा रहेको अर्कै जग्गा पनि उक्त अंश विवादमा परेको थियो। उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला रेजी राणाले ठमेलको जग्गा छिमीबाट किनेको देखिन्छ।
त्यतिखेर चोलेन्द्रशमसेर विशेष अदालतका न्यायाधीश थिए। उनी विशेषमा २०६२ माघदेखि २०६५ असोज ७ गतेसम्म थिए। विशेष अदालतमा रहँदा उनले हाइप्रोफाइलहरूका भ्रष्टाचार मुद्दा हेरेका थिए। धेरै मुद्दामा विषयवस्तुभित्र प्रवेश नै नगरी हदम्यादको कारण देखाएर सफाइ दिएकाले उनका फैसला विवादित छन्।
पूर्वमन्त्री खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, चिरञ्जिवी वाग्ले, गोविन्दराज जोशी लगायतलाई सफाइ दिएपछि उनी विवादित भएका थिए।
हदम्यादको मात्र कारण देखाएर राणासहित तीन न्यायाधीशको बेन्चले सफाइ दिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गर्यो। सर्वोच्चले विषयमा प्रवेश गरेर फैसला गर्न सबैजसो मुद्दा विशेष अदालतमै फिर्ता पठायो।
यसरी मुद्दा फिर्ता पठाएसँगै राणासहित अरू दुई न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्च अदालतले टिप्पणी उठाएर न्याय परिषदमा पठाएको थियो।
प्रधानन्यायाधीश पत्नी राणाले २०६६ असोज ४ गते धुम्बाराहीस्थित बिमा समितिको कार्यालयनजिक धोबिखोलापारि ६ आना जग्गा किनेको देखिन्छ। रोचना राज्यलक्ष्मी र निर्मला प्रधानबाट किनेको उक्त जग्गालाई ८१ लाख तिरेको देखिन्छ।
डाक्टर गोविन्द केसीले कित्ता किटान गरेर यी जग्गा राणाले कुन स्रोतबाट किनेकी हुन् छानबिन होस् भनेर सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन्। उनले उजुरी दिएपछि यी जग्गा कुन ठाउँमा छन्, राणाले कति मूल्यमा कहिले र कोबाट यी जग्गा किनेकी हुन् भनेर सेतोपाटीले खोजेको थियो।
मातपोत कार्यालयकै रेकर्डअनुसार पनि रेजी राणाले १० करोड रूपैयाँभन्दा बढी तिरेर यी जग्गा र घर किनेको देखिन्छ। उनले यी सम्पत्ति कुन वैध आयबाट किनेकी हुन् भनेर स्रोत देखाउनुपर्ने हुन्छ।
गृहिणी रहेकी राणाले यी घर-जग्गा आफूले वैध स्रोत प्रयोग गरेर किनेको प्रमाणित गर्न नसकेमा उनीविरूद्ध सम्पत्ति शुद्धीकरण ऐनअनुसार मुद्दा लाग्छ।