नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका अधिवेशन भएका ६ जिल्लाको नेतृत्व चयन भएको छ। अधिवेशन भएका आठ जिल्लामध्ये सुर्खेत, जाजरकोट, सल्यान, रूकुम पश्चिभ, जुम्ला र डोल्पामा नेतृत्व चयन भएको हो।
सल्यान, रूकुम पश्चिम, डोल्पा र जुम्लामा सर्वसम्मत जिल्ला कमिटी चयन भएको छ। यी जिल्लामा सोमबारसम्म नेतृत्व टुंगो लागिसकेको थियो। सुर्खेत र जाजरकोटमा भने निर्वाचनमार्फत नेतृत्व चयन भयो।
जाजरकोटको अन्तिम मत परिणमा मंगलबार साँझ आएको थियो। जाजरकोटको अध्यक्षमा खिमबहादुर शाही निर्वाचित भए।
यस्तै बुधबार बिहान सुर्खेतको मतपरिणाम आएको हो। सुर्खेतमा यसअघिका उपाध्यक्ष अमृत विसी अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसअघि सल्यानमा गोविन्द पुन, रूकुम पश्चिममा नन्दराम देवकोटा, जुम्लामा शान्तिलाल महत र डोल्पामा शेरबहादुर बुढा सर्वसम्मत् अध्यक्ष चयन भएका छन्।
अधिवेशन भएका जिल्लामध्ये कालीकोट र दैलेखमा नेतृत्व टुंगो लाग्न बाँकी छ। कालीकोटमा तीन जना अध्यक्षका आकांक्षी छन्। सर्वसम्मतिको प्रयास भए पनि कुरा नमिल्दा कालीकोटमा निर्वाचनमार्फत नेतृत्व टुंगिने सम्भावना बढेको एमालेका कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए।
उनका अनुसार कालीकोटमा धीरबहादुर बम, रमेश शाही र जसीप्रसाद पाण्डेले अध्यक्षमा दाबी गरिरहेका छन्। यदि निर्वाचन हुने भयो भने शाही र पाण्डेबीच प्रतिस्पर्धा हुने उनले बताए।
‘अहिले नै निर्वाचन घोषणा भईसकेको छैन, हामी सर्वसम्मत गर्ने प्रयासमा छौं,’ शाहले सेतोपाटीसँग भने, ‘यदि चुनाव नै हुने भयो भने पनि पाण्डे र शाहीको बीचमा मात्र प्रतिस्पर्धा हुन्छ।’
यसैगरी दैलेखमा कुल मतदाताभन्दा ३० वटा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित गरिएको छ। मंगलबार भएको मतदानमा ७ सय २१ मतदातामध्ये ७१८ जनाले मतदान गरेका थिए। मतगणना अघि मतपेटिका खोल्दा ७४८ वटा मतपत्र भेटिएको थियो।
उक्त मतपत्रमध्ये केही फर्जी भएको हुनसक्ने आशंका गरी मतगणना स्थगित गरिएको हो।
यसको बारेमा माथिल्लो कमिटीले छानबिन गरी पुनः मतदान गराईने प्रदेश कमिटी अध्यक्ष शाहले बताए।
‘यो त्रुटीबारे माथिल्लो कमिटीले छानबिन गर्छ, निर्वाचन गराउने निर्वाचन समिति पनि यसमा अछुतो रहन सक्दैन,’ शाहले भने, ‘छानबिन गरी पुनः निर्वाचन गराउने हो, हामी केन्द्रसँग यसबारे छलफल गरिरहेका छौं । छलफल सकिएपछि अर्को मतदान घोषणा हुन्छ।’
कसरी मतपत्र बढी भए भन्नेबारेमा छानविन समितिको प्रतिवेदनपछि थाह हुने उनले बताए। शाहका अनुसार छानबिन गर्ने माथिल्लो कमिटी भन्नाले प्रदेश वा केन्द्रमध्ये एक हुनसक्छ।
दैलेखमा रविन्द्र शर्मा र सूर्यबहादुर शाही अध्यक्षको लागि चुनावी मैदानमा छन्।
पहिलो चरणमा अधिवेशन नभएका कर्णालीका दुई जिल्लामध्ये मुगुमा मंगलबारदेखि अधिवेशन सुरु भएको छ । मंगलबार उद्घाटन भएको अधिवेशनको आज बन्दशत्र चलिरहेको छ । यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने प्रदेश कमिटी अध्यक्ष शाहले बताए ।
डोल्पामा भने माघ २३ गते अधिवेशन तोकिएको छ ।