प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर तोकिएको छ।
आज प्रदेश सभामा मतदानबाट राजधानी टुंगो लगाइएको हो।
प्रदेश सभामा ९९ जना प्रदेश सभा सांसद उपस्थित रहेकोमा ७८ जनाले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए।
दुई तिहाइभन्दा बढी मतले स्थायी राजधानी जनकपुर तोकेको सभामुख सरोजकुमार यादवले घोषणा गरेका हुन्।
जनकपुरको उत्तरमा धनुषा ढल्केवरको पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भू-भाग सिमाना कायम गरिएको छ।
राजधानीका लागि वीरगञ्ज, वीरगञ्ज महानगर पनि चर्चामा थियो।
प्रदेशको नाम के राख्ने भन्नेमा पनि मतदान गर्ने तयारी छ। आजै बस्ने अर्को बैठकले यसबारे मतदान गर्नेछ। मध्यमधेश प्रदेश, मिथिला-भोजपुरा, मधेश प्रदेश र जानकी प्रदेश नाम प्रस्तावित छन्।