नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थप्ने प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) रविन्द्र धानुकलाई बढुवामा नछुटाउने ‘सर्त’मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावमा सहमति जनाएका हुन्।
गृह मन्त्रालयले तीन जना एआइजी थप्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) गरी केही समयअघि अर्थ मन्त्रालयमा पठाएको थियो।
धानुक बढुवामा समेटिने वातावरण तयार नभइकन अर्थमन्त्री शर्माले गृहको प्रस्ताव अघि बढाउन मानेका थिएनन्।
अर्थ स्रोतका अनुसार धानुकलाई समेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएपछि शर्माले प्रस्ताव स्वीकृत गरेका हुन्।
‘अब मन्त्रिपरिषदमा जान बाँकी छ, क-कसलाई बढुवा गर्ने भन्ने लगभग निश्चित भइसकेको छ,’ अर्थका एक अधिकारीले सेतोपाटीसँग भने।
ती अधिकारीका अनुसार बढुवा धेरै पेचिलो छैन। प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंह, उत्तमराज सुवेदी र रविन्द्र धानुकको नाममा सहमति जुटिसकेको छ।
प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की बढुवाको दौडबाट बाहिरिइसकेका छन्। उनी हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचमेट हुन्।
कार्की बाहिरिएसँगै सिंह, सुवेदी र धानुकलाई बढुवाका लागि बाटो सजिलो भइसकेको प्रहरी मुख्यालय स्रोतले बतायो।
‘सुरूमा धानुकको नाममा विवाद आए पनि अर्थमन्त्री शर्माले अडान राखेकाले बढुवाका अरू आकांक्षीको दौडधुप चल्न सकेन,’ प्रहरीका एक वरिष्ठ अधिकारीले भने।
धानुक कार्य विभाग, सुवेदी महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् छन्।
अर्थले स्वीकृति दिएको प्रस्ताव अहिले गृहमा पुगेको छ। गृह मन्त्रालयले कानुनी परामर्श गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरिरहेको छ।
माघ १२ गतेसम्म राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेकाले त्यसअघि सरूवा-बढुवाजस्ता निर्णय रोकिएका छन्।
निर्वाचन आचारसंहिता फुकुवा भएपछि प्रस्ताव मन्त्रिपरिषद् जाने प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले भने एआइजी दरबन्दीबारे अनभिज्ञता जनाए।
‘बढुवाका लागि मानिसहरू लागिरहेका छन् भन्ने सुनेको हो, तर यहाँबाट प्रगति भएको रिपोर्ट मलाई थाहा छैन,’ पोखरेलले भने।
नेपाल प्रहरीमा हाल पाँच जना एआइजी छन्। दरबन्दी थपिएसँगै एआइजीको संख्या ८ पुग्नेछ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी, अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा विशिष्ट श्रेणी (एआइजी) को दरबन्दी छ।
थपिएका तीन जना एआइजीका लागि मुख्यालयभित्र र बाहिर दरबन्दी सिर्जना गर्न लागिएको छ।
मानव स्रोत र प्रशासन विभागलाई टुक्रयाएर एउटा दरबन्दी सिर्जना गर्ने तयारी छ। यसैगरी, सात वटै प्रदेश प्रहरी हेर्नका लागि प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा एआइजी राख्ने तयारी रहेको मुख्यालयको तयारी छ।
यसअघि ब्युरोमा प्रहरी नायब महानिरीक्षकको दरबन्दी रहँदै आएको थियो।
प्रहरीमा तीनबाट दुई एआइजी थप्दै सरकारले पाँच जना पुर्याएको थियो। पाँच जनामध्ये एआइजी प्रद्युम्न कार्की, हरिबहादुर पाल र निरजबहादुर शाही २०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदैछन्।
वर्तमान प्रहरी महानिरीक्षक क्षेत्री पनि अवकाशमा जाने भएकाले अहिले बढुवा हुने ब्याचबाटै भावी प्रहरी महानिरीक्षक नियुक्त हुनेछन्।
भावी प्रहरी महानिरीक्षकका लागि मानव स्रोत र प्रशासन विभागमा कार्यरत् एआइजी विश्वराज पोखरेल र कार्य विभागमा रहेका एआइजी सहकुल थापा दाबेदार छन्।
थापाभन्दा एक वर्षअघि नै एआइजी भएकाले वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक पोखरेलको दाबी छ।
सिंह, सुवेदी र धानुक पोखरेल र थापाकै ब्याचमेट भए पनि पहिले बढुवामा समेटिन सकेका थिएनन्। एआइजीका अन्य दाबेदार दिवेश लोहनी, वसन्त लामालगायत दौडबाहिर छन्।