जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन्।
बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन्।
राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्।
तिरहुतीया गाछीमा उनीहरूले सरकारी गाडी रोकेर तोडफोड गरेका थिए।
भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको गाडीमा सवार रहेका नेकपा एमालेका नेता खेमराज भट्टराईले बताए।
भट्टराईसँगै गाडीमा मेयर गणेश प्रसाईं र उपमेर रेणुका पौडेल थिए। उनीहरूलाई पनि चोट लागेको छ।
‘हामीलाई घेरेर आक्रमण गरे। गाडीका सीसा फुटाइदिए,’ उनले भने, ‘टाउको र हातमा लाठी हाने, चोट लागेको छ।’
आज बिहानैदेखि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता बाँसका भाटा लिएर प्रदर्शनमा उत्रिएका छन्।
उनीहरूले टायर बालेर पनि प्रदर्शन गरेका थिए।
किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका छन्। मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि तितरबितर गर्न आज बिहान प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो।