मधेस प्रदेशका तीन जना प्रदेश सभा सदस्य सवार गाडीमा पनि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सभा सदस्यहरू अशोक यादव, मनिष सुमन र नेत्रविक्रम साह सवार गाडीमा तोडफोड भएको हो।
जनकपुरस्थित जानकी मन्दिर अगाडि लाठीभाटासहित प्रदर्शन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेको प्रदेश सभा सदस्य अशोक यादवले बताए।
उनका अनुसार तीनै जनाले प्रदेश सभाको अर्थ समितिले सुमनलाई उपलब्ध गराएको गाडी चढेर मतदान गर्न जाँदै थिए।
‘१०/१५ जनाले घेरेर वार गरे। गाडीको धज्जी उडेको छ। मेरो हातमा भाटाले चोट लागेको छ,’ प्रदेश सभा सदस्य अशोकले भने।
यसअघि मतदान गर्न जाँदै गर्दा सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाइँको गाडी समेत तोडफोड गरेका थिए।