प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।
यसअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए।
बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए।
झापाका पुराना काँग्रेस नेता गोपालकुमार बस्नेत चुनावी राजनीतिमा अभागी नेतामा दरिँदै आएका थिए। त्यो अभागी विगतलाई बिसाउँदै बस्नेतले गोलामार्फत संसद यात्रा तय गरेका छन्।
२०५१ को मध्यावधि निर्वाचनमा झापा ३ मा एमालेका देवीप्रसाद ओझासँग पराजित उनी त्यसपछि काँग्रेसको झापा सभापतिमा उठेका थिए।
सुधिर शिवाकोटीसँग त्यो आन्तरिक चुनाव पनि हारेपछि बस्नेत चुनावी राजनीतिको अभ्यासबाट टाढा थिए। २०७४ को आमनिर्वाचन लगत्तै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई राष्ट्रियसभामा मनोनित गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको निर्णय सदर नगर्दा बस्नेतको सिंहदरबार यात्रा रोकियो।
काँग्रेसमा देउवा निकट बस्नेतले यसपटक राष्ट्रियसभामा सहजै जित्ने गणित थियो। तर, उनी एमाले उम्मेद्वार गुरु बरालसँग बराबरी मत ल्याउँदै गोलाको सहारा लिन बाध्य भए।
प्रदेश १ मा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन्। उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन्। अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन्।
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन्। उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ। राप्रपाकी रञ्जु प्याकुरेलले प्रदेश सभामा १ र स्थानीय तहमा ४ गरी १२० मतभार प्राप्त गरिन्।
गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।
अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।
जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्मेद्वार शेर्पा विजयी बनेका हुन्।