नेपाली कांग्रेसका दुई जना नेतालाई चार वर्षपछि राष्ट्रिय सभाको ढोका खुलेको छ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपालकुमार बस्नेत र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्य नियुक्त गर्न सिफारिस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी थिइनन्।
०७४ मा राष्ट्रिय सभा सदस्य सिफारिस भएकामध्ये कांग्रेस मुख्यसचिव पौडेल र झापाका बस्नेत आज भएको निर्वाचनबाट सांसद भएका छन्।
पौडेल बागमती प्रदेशमा अन्य समूहतिर सत्तारूढ गठबन्धनबाट उम्मेदवार थिए। उनले चार हजार सात सय ९४ मतभार ल्याएर जिते। यहाँ २ सिटका लागि निर्वाचन भएको थियो। अर्को सिटमा नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिनाले चार हजार आठ सय २४ मत ल्याएर जितेकी छन्।
साथै प्रदेश १ मा सत्तारूढ गठबन्धनबाटै उम्मेदवार रहेका बस्नेत पनि सांसद भएका छन्। बस्नेतलाई यसपालि भाग्यले पनि साथ दियो।
बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरू बरालले बराबर चार हजार चार सय ८८ मत ल्याएका थिए। बराबर मत आएपछि गोलाप्रथाबाट बस्नेत सांसद निर्वाचित भएका हुन्।
देउवा सरकारले गरेको सिफारिसलाई राष्ट्रपतिले त्यसबेला दुई सातासम्म कार्यान्वयन गरेकी थिइनन्।
त्यसलगत्तै देउवा सरकार हटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए।
ओली सरकारले यी तीन पदमा युवराज खतिवडा, रामनारायण बिडारी र विमला राईको नाम सिफारिस गरेपछि राष्ट्रपतिले उनीहरूलाई राष्ट्रिय सभा सांसद मनोनीत गरेकी थिइन्।
चार वर्षअगाडि नाम सिफारिस भए पनि राष्ट्रिय सभा सदस्य हुन रोकिएका पौडेल र बस्नेत यसपालि चुनावबाटै सांसद भएका छन्।
पौडेल र बस्नेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट हुन्। सत्तारूढ गठबन्धनले रिक्त १९ पद भागबन्डा गरेर उम्मेदवार उठाएका थिए।