राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आइसकेको छ। गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारहरू कांग्रेस नेतृ कमला पन्त, माओवादी नेताद्वय सुरेश आले र भुवन सुनार निर्वाचित भइसकेका छन्।
पाँच दलीय गठबन्धन बनाएर गण्डकी र केन्द्रमा समेत सरकार बनाएका गठबन्धनका सांसद केही सांसदले आफ्ना उम्मेदवारलाई मतदान नगरी विपक्षमा मतदान गरेको भेटिएको छ।
गण्डकी प्रदेश सभाका सत्ता गठबन्धनका २ जना सांसदले यसरी विपक्षमा मतदान गरेका हुन्।
गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनका ३१ जना सांसद छन् भने विपक्षी एमालेका २७ जना छन्।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ प्रदेश सभा सांसदले दुबै उम्मेदवारलाई बराबर मत दिए।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ कमला पन्तले प्रदेश सभाका २९ सांसदको मात्र मत पाइन्। विपक्षी एमाले उम्मेदवार लीला थनेतले पनि २९ मत पाइन्। जबकि गण्डकीमा एमालेभन्दा गठबन्धन ४ मतले अघि छन्।
महिला उम्मेदवारमा मात्र होइन, गण्डकीका सांसदले दलित र अन्य उम्मेदवारलाई मतदान गर्दा पनि ‘फ्लोर क्रस’ गरेका छन्।
गठबन्धनका तर्फबाट दलित उम्मेदवार बनेका मओवादीका भुवन सुनारले पनि पन्तले झैं प्रदेश सांसदका २९ मत मात्र पाए।
एमालेका अर्जुनकुमार सुनारले पनि गठबन्धन बराबर २९ मत पाए।
गठबन्धनका अर्का उम्मेदवार माओवादी नेता सुरेश आलेले भने पन्त र सुनारले भन्दा बढी मत पाए। आलेले प्रदेश सभाका ३० सांसदको मत पाए। आलेलाई पनि गठबन्धनका १ जना सांसदले धोका दिएर एमाले उम्मेदवार पुण्यप्रसाद पौडेललाई मतदान गरे। पौडेलले २८ जना सांसदको मत पाएका थिए।
गण्डकीका एक जना प्रदेश सांसदले भने ६ जना उम्मेदवारमा कसैलाई पनि मतदान नगरी मतपत्र खाली राखेका थिए।
गण्डकी प्रदेश सांसदले नै गठबन्धनको ह्विपविपरीत मतदान गरेको भन्दै नेताहरू चिन्तित बनेका छन्। पार्टी ह्विपविपरीत एमालेका उम्मेदवारलाई मतदान गर्ने सांसदको खोजी भइरहेको गठबन्धनका नेताहरू बताउँछन्।
यता, एमाले नेताहरू भने सत्ता गठबन्धनका सांसदलाई आफूतर्फ तान्न सकेको भन्दै खुसी भएका छन्। एमाले गण्डकीका सचिव एवं प्रदेश सांसद धनञ्जय दवाडीले गठबन्धनको गण्डकी सरकार अल्पमतमा परेको बताए।
‘प्रदेश सभाका सांसदले जुन मत परिणाम दिए, यसले प्रदेश सरकार अल्पमतमा परेको प्रष्ट देखिएको छ,’ दवाडीले भने, ‘राजनीतिक र नैतिक हिसाबले अब यो सरकार काम चलाउ भयो।’
उनले गठबन्धनभित्रै अर्को नेतृत्व ल्याउन वा एमालेलाई सत्ता हस्तान्तरण गर्न समेत गठबन्धनलाई आग्रह गरे।
प्रदेश सभाका सांसदले मात्र होइन, गठबन्धनका स्थानीय जनप्रतिनिधिले पनि विपक्षी एमाले उम्मेदवारलाई मतदान गरेका छन्।
राष्ट्रिय सभामा निर्वाचित पन्तले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ९४ जनाले मतदान गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका लीला थनेतले ७४ मत पाएकी थिइन्।
यस्तै, माओवादीका आलेले ९२ र उनका प्रतिस्पर्धी पौडेलले ७५, दलिततर्फ माओवादीका सुनारले ९२ र विपक्षी सुनामलाई ७४ जनाले मतदान गरेका थिए।
निर्वाचन कार्यालय कास्कीका अनुसार गण्डकीमा २२७ जना जनप्रतिनिधिले मतदान गरेका थिए।
गण्डकी प्रदेश सभाका ५९ जना सांसद, गण्डकीका ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १६८ जनाले मतदान गरेका थिए।
गठबन्धनमा आबद्ध प्रदेश सांसदले नै विपक्षी उम्मेदवारलाई मतदान गरेका विषयमा समीक्षा हुने माओवादी नेता हरिबहादुर चुमानले बताए।
'हामी समीक्षा गर्छौं, विपक्षमा मतदान गर्ने सांसदको पहिचान गर्छौं', उनले भने,'अहिले शंका गरेर भएन, समीक्षा गरेर नेतृत्वलाई जानकारी गराउँछौं।'