यसपटकको राष्ट्रियसभा निर्वाचनमा एमालेविरूद्ध पाँचदलीय सत्ता गठबन्धनले देशैभर ‘क्लिन स्वीप’ गर्ने बताउँदै आएको थियो। तर प्रदेश १ का एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा गठबन्धनको लक्ष्यका बाधक बने।
सत्ता गठबन्धनका पक्षमा प्रस्ट बहुमत हुँदाहुँदै अल्पसंख्यक कोटातर्फका एमाले उम्मेदवार शेर्पाले बाजी मारे। मतभारमा देशैभर कमजोर देखिएपछि चुनाव हार्ने मनस्थितिमा पहिल्यै पुगेको एमाले पंक्तिलाई उत्साही बनाउने सोलुखुम्बुका शेर्पाले जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका हुन्।
२०५४ सालको स्थानीय निर्वाचनमा सोलुको नाम्चे गाविसको अध्यक्ष बनेका शेर्पा त्यसयता संसदीय राजनीतिबाट टाढा थिए। यद्यपि उनी पार्टीमा सक्रिय थिए। अहिले एमाले प्रदेश कमिटी सदस्य रहेका उनी केपी ओली समूहका विश्वासपात्र मानिन्छन्।
सगरमाथा बफर जोन (मध्यवर्ती विकास क्षेत्र) को अध्यक्ष रहेका उनी पर्यटन व्यवसायी हुन्।
प्रदेश १ मा नेकपा एमालेका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त हुन लाग्दा उनीहरूको पदका लागि बुधबार भएको निर्वाचनमा एमालेले दुई स्थान गुमाएर एक मात्र स्थान जितेको छ।
एमालेका राष्ट्रियसभा सांसदहरु पर्शुमेघी गुरुङ, अगम बान्तवा र नैनकला ओझाको पदावधि सकिन लाग्दा रिक्त पदका लागि निर्वाचन भएको हो। यसमा पाँचदलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत र नेकपा एकीकृत समाजवादीका जयन्ती राई तथा नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए।
एमालेका उम्मेदवार गुरू बराल र गठबन्धनका उम्मेदवारको बराबरी मत आयो। गोला तान्दा गठबन्धनका उम्मेदवार बस्नेत विजयी भएका हुन्। स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशमा गठबन्धनको मतभार धेरै थियो। तर धेरै मत तलमाथि हुँदा गठबन्धनबाट अल्पसंख्यक कोटाका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राई पराजित भए।
बुधबार साँझ आएको मतपरिमाणअनुसार खुल्लातर्फ गठबन्धनका उम्मेदवार बस्नेत र एमाले उम्मेदवार बरालले बराबरी ४ हजार ४ सय ८८ मत प्राप्त गरे। बराललाई प्रदेशसभाका ३८ र स्थानीय तहका १४८ जनप्रतिनिधिले मत दिएका छन्। कांग्रेसका बस्नेतलाई प्रदेशसभाका ५० र स्थानीय तहका ११६ जनप्रतिनिधिले मत दिए।
प्रदेशसभामा नेकपा एमालेका ४१ सांसद थिए। फरार अभियुक्त रहेकी गुलेफुन यादव मतदान प्रक्रियाामा अनुपस्थित रहेकी थिइन्। एमालेकै एक सांसदको मत बदर भएको थियो भने एक सांसदले राप्रपाका उम्मेदवार अमर विष्टलाई मतदान गरेको पाइएको छ।
प्रदेशसभामा गठबन्धनका ५० सांसद रहेकामा बस्नेतले ५० जनाकै मत प्राप्त गर्दा १ सांसद मात्र रहेको राप्रपाका विष्टले २ सांसदको मत पाएका छन्।
खुल्लातर्फ १ सांसद र चार स्थानीय तहका जनप्रतिनिधिको मत बदर हुँदा राप्रपाका उम्मेदवार अमर विष्टले प्रदेशसभाका २ र स्थानीय तहका ४ जनप्रतिनिधिको मत पाएका छन्। प्रदेशसभामा राप्रपाका १ सांसद मात्र छन्। एमालेका एक सांसदले उनलाई मतदान गरेको देखिएको छ।
राप्रपाबाट निर्वाचित झापाको गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ मतदानमा अनुपस्थित हुँदा पनि विष्टले ४ जनाकै मत पाएकाले उनले गठबन्धनका एक जनप्रतिनिधिको मत प्राप्त गरेको देखिएको छ। खुल्लातर्फ प्रदेश सांसद १ जनाको र स्थानीय तहका २ जनाको मत बदर भएको छ।
राष्ट्रियसभाको अल्पसंख्यक तथा अपांगता कोटातर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पाले ४४७० मत प्राप्त गर्दै ४३८६ मत प्राप्त गर्ने गठबन्धन उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरे। शेर्पाले प्रदेशसभाका ४२ सांसदको र स्थानीय तहका १५३ जनप्रतिनिधिको मत प्राप्त गरेका छन् भने राईले प्रदेशसभाका ४९ र स्थानीय तहका ११३ जनप्रतिनिधिको मत प्राप्त गरेका छन्।
अल्पसंख्यक तथा अपांगता कोटामा राप्रपाको उम्मेदवार नरहेकाले उनीहरूको मत शेर्पालाई गएको देखिएको छ। त्यस्तै, गठबन्धनका १ सांसद र स्थानीय तहका ११ जनाले फ्लोर क्रस गरेर शेर्पालाई मत हालेका छन्। स्थानीय तहका ४ मत भने बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
राष्ट्रियसभाको महिला कोटामा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले भने गठबन्धनसहित एमालेकै २ सांसदको मत प्राप्त गरेकी छन्। उनलाई प्रदेशसभाका ५२ र स्थानीय तहका १२२ जनप्रतिनिधिले मत दिएको पाइएको छ।
राईले ४ हजार ६ सय ९२ मतभार पाएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ४ हजार ३ सय ६२ मत प्राप्त गरिन। उनलाई प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिले मत दिए। उनलाई एमालेकै २ सांसदले फ्लोर क्रस गरेर मत दिएनन्।
तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेदवार रन्जु प्याकुरेललाई प्रदेशसभाका १ र स्थानीय तहमा ४ जनप्रतिनिधिले मत दिए। महिलातर्फ स्थानीय तहको ३ मत बदर भएको छ।
प्रदेश १ मा ३६४ मतदाता थिए जसमा प्रदेशसभा सदस्य ९२ जना र स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उप्रमुख/उपाध्यक्ष २ सय ७२ जना थिए। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हो।
यसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४ सय १६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८ सय ९६ गरी जम्मा मतभार ९ हजार ३ सय १२ थियो।