नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने गृहकार्य गरेको छ।
महाधिवेशनमा पराजित भएका र उम्मेदवार नै नभएका शीर्ष नेतालाई समेटेर कार्यसम्पादन समिति गठन गर्ने तयारीमा कांग्रेस जुटेको छ।
शीर्ष नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका देउवाले कार्यसम्पादन समितिमा जिम्मेवारी दिने तयारी गरेका छन्। रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता उम्मेदवार नै भएका थिएनन् भने विजयकुमार गच्छदार, प्रकाशशरण महतलगायत नेता पराजित भएका थिए।
विधानअनुसार केन्द्रीय कार्यसमितिका सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री कार्यसम्पादन समितिमा पदेन सदस्य हुन्छन्।
सभापतिले केन्द्रीय सदस्यमध्येबाट कार्यसम्पादन समितिका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर ३१ जनाको नाम प्रस्ताव गर्ने र बहुमतले पारित गर्ने विधानको व्यवस्था छ। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने हुन्छ।
कार्यसम्पादन समितिले मुख्यगरी तीन काम गर्छ।
केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा अपर्झट निर्णय गर्नुपर्दा कार्यसम्पादन समितिले काम गर्छ। कांग्रेसका झन्डै ५० विभागहरूको काम समीक्षा गर्छ। संसदीय दलका विषय समितिका संयोजकसँग छलफल गर्छ।
केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकका बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ। कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने विधानको व्यवस्था छ।
सभापति देउवाले पदाधिकारीमध्ये कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन्।
कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय छ। ३३ मध्ये सभापति देउवाले पछिल्लो समय १३ जना केन्द्रीय सदस्य मनोनीत गरेका थिए। अझै २० जना मनोनीत गर्न बाँकी नै छ।
१४ औं महाधिवेशनपछि दुई पटक केन्द्रीय कार्यसमिति बैठक बसेको छ। सभापति देउवाले एक/दुई दिनमा केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन्।
कांग्रेसले पहिलोपटक भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक गर्न लागेको छ। सम्भवत शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।
यो केन्द्रीय कार्यसमितिमा कार्यसम्पादन समिति गठन गरेर जाने विषयमा छलफल गर्ने तयारी छ। सभापति देउवाले कार्यसम्पादन समितिमा सदस्यहरू मनोनीत गर्ने तयारी गरेका छन्।
महामन्त्री गगन थापाले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बस्ने तयारी रहेको र कार्यसम्पादनलाई पूर्णता दिनेबारे छलफल भइरहेको सेतोपाटीलाई बताए।
‘कार्यसम्पादन समिति बनाएर जाने कुरा भएको छ। यसले पार्टीका काम गर्न सजिलो हुनेछ,’ महामन्त्री थापाले भने।
साथै १६ जिल्लामा जिल्ला अधिवेशन स्थगित छ। कोरोना संक्रमण बढेपछि केन्द्रीय निर्वाचन समितिले १६ जिल्ला अधिवेशन स्थगित गरेको थियो।
‘अधिवेशन गर्न बाँकी रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्ने एजन्डामाथि पनि छलफल गर्नुछ। ती जिल्लाका कार्यसमितिको म्याद सकिएका छन्,’ उनले भने।
साथै भातृ तथा शुभेच्छुक संघसंस्थाबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
भातृ संस्था नेपाल तरूण दल, नेविसंघ, मुश्लिम संघलगायतका सभापतिहरू पार्टीको केन्द्रीय सदस्य जितेका छन्। विधानअनुसार केन्द्रीय सदस्य भएपछि भातृ संस्थाका पद स्वत: खारेज हुन्छ।
साथै भातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन लामो समयदेखि भएका छैनन्।
‘कतिपय जिल्लामा नयाँ क्रियाशील सदस्यता नै वितरण रोकिएका थिए। ती सुचारू गर्नेजस्ता काम पनि छन्,’ उनले भने, ‘केन्द्रीय समितिमा यसबारे पनि छलफल गर्नुछ।’
साथै स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने तयारी रहेको महामन्त्री थापाले बताए।
कांग्रेसको शेखर कोइराला पक्ष र सभापति देउवा पक्षकै केही नेताले वैशाखमै स्थानीय तह निर्वाचन हुनुपर्ने बताएका छन्।
तर सत्तागठबन्धनका नेताहरू भने स्थानीय निर्वाचन ऐन र संविधानको व्यवस्था बाझिएकोले ऐन संशोधन गर्दै स्थानीय तह चुनाव पर धकल्ने तयारीमा छन्।