गण्डकीका सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा ‘फ्लोर क्रस’ गर्ने सांसद पत्ता लगाएर कारबाही गर्ने निर्णय गरेका छन्।
गठबन्धनका प्रदेश नेताहरूको बिहीबार बसेको निर्वाचन समीक्षा बैठकपश्चात विज्ञप्ति जारी गर्दै नेताहरूले भनेका छन्, ‘हाम्रो पक्षमा गम्भीर कमी-कमजोरी रहन गएको हुँदा आ-आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने निर्णय गर्यो।’
गठबन्धनको आवश्यकता र औचित्यलाई थप पुष्टि गर्दै प्रजातन्त्र-लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको छ।
गठबन्धन बैठकपश्चात् प्रतिक्रिया दिँदै नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले राष्ट्रिय सभा निर्वाचनमा ‘फ्लोर क्रस’ गर्ने सांसद पत्ता लगाएर कारबाही गर्ने बताए।
‘पार्टीको निर्णयविपरीत फ्लोर क्रस गर्ने सांसद पत्ता लगाएर कारबाही गर्छौं,’ उनले भने, ‘गोप्य मतदान भए पनि सांसदले नै फ्लोर क्रस गरेको पत्ता लगाउन सकिन्छ।’
राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको निर्वाचनमा गण्डकी प्रदेश सभाका ३ जना सांसदले फ्लोर क्रस गरेका थिए।
उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान नगरी प्रमुख प्रतिपक्षी दल एमालेलाई मतदान गरेको थियो।
एक जना सांसदले भने कसैलाई पनि मतदान नगरी मतपत्र खाली राखेका थिए।
गठबन्धनका सांसहरूमध्ये अर्का एक जनाले पनि फ्लोर क्रस गरेको बैठकको छलफल भएको थियो।
एमालेका एक जना सांसदले पनि फ्लोर क्रस गरेर सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेकाले गठबन्धनका ४ जना सांसदले फ्लोर क्रस गरेको हुन सक्ने नेताहरूले बताएका थिए।
गण्डकी प्रदेश सभामा हाल ५९ जना सांसद छन्। जसमा सत्ता गठबन्धनका ३१ जना र एमालेका २७ जना सांसद छन्।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ कमला पन्तले प्रदेश सभाका २९ सांसदको मात्र मत पाइन्। उनका प्रतिस्पर्धी एमालेकी लीला थनेतले पनि पन्तले जति नै २९ सांसदको मत पाएकी थिइन्।
यस्तै गठबन्धनबाट माओवादी उम्मेदवार सुरेश आले मगरले ३० मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २८ मत पाएका थिए। पौडेललाई पनि गठबन्धनका एक जना सांसदले मतदान गरेको उक्त मत परिणामले देखाउँछ।
गठबन्धनका दलित उम्मेदवार बनेका माओवादी नेता भुवन सुनारले पनि महिला उम्मेदवारले झैं २९ मत मात्र पाए।
उनका प्रतिस्पर्धी एमालेका अर्जुन सुनामले पनि २९ जना सांसदको मत पाएका थिए।
समीक्षा बैठकमा गठबन्धनका तीन जना सांसदले फ्लोर क्रस गरेको देखिए पनि चार जनाले फ्लोर क्रस गरेको निष्कर्ष निकालेका छन्।
एमालेका एक जना सांसदले गठबन्धन उम्मेदवारलाई मतदान गरेको विश्वस्त सुत्रले जानकारी दिएको भन्दै मतपरिणाममा नदेखिए पनि ४ जनाले फ्लोर क्रस गरेको निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए।
प्रदेश सांसदले मात्र होइन, स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि फ्लोर क्रस गरेको गठबन्धनले निष्कर्ष निकालेको छ।
विपक्षी एमालेको मत तान्न खोज्दा आफ्नै मत सम्हाल्न नसकेको उनीहरूले बताएका थिए।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट १३६ देखि १७८ सम्म मतभार क्रस भएर एमाले उम्मेदवारलाई मतदान भएको गठबन्धनले निष्कर्ष निकालेका छन्।
कांग्रेस गण्डकीका सभापति शर्माले पार्टीबाटै निर्वाचित सांसद र जनप्रतिनिधिले फ्लोर क्रस गर्नु गम्भीर विषय भएको बताए।
राष्ट्रिय सभा निर्वाचनको मत परिणामले गण्डकी सरकारलाई कुनै असर नगर्ने दाबी गर्दै उनले भविष्यमा यस्ता घटना हुन नदिन अनुशासनको कारबाही हुने बताए।
गठबन्धनमा कुन पार्टीका सांसदले फ्लोर क्रस गरे भन्नेबारे आ-आफ्नो पार्टीभित्र छलफल र समीक्षा गर्ने बताएको छ। फ्लोर क्रसको संख्या हेर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकै सांसदले फ्लोर क्रस गरेको आशंका गठबन्धनका नेताहरूले गरेका छन्।
गठबन्धनमा कांग्रेसका १५, माओवादीका १२, जसपाका २ र जनमोर्चाका २ सांसद छन्। जसपाका २ मध्ये हरिशरण आचार्य मन्त्री छन् भने अर्का सांसद धनमाया लामा संसदीय दलका नेता छिन्।
यस्तै जनमोर्चाका २ मध्ये पियारी थापा संसदीय दलका नेता छिन् भने अर्का सांसद प्रदेश मामिला समितिका सभापति छन्। उनीहरू चारै जनाले गाडीसहित विशेष सुविधा लिन्छन्।
जसपा र जनमोर्चाका सांसदमा समस्या नभएकाले ठूला दलकै सांसदले फ्लोर क्रस गरेको हुनसक्ने उनीहरूको आशंका छ। बैठकमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य किरण थापा ‘आमोद’ले गठबन्धनले आफ्नै मत संरक्षण गर्न नसक्नु दु:खद् भएको बताए।
‘अर्काको मत तान्न खोज्दा आफ्नै मत सुरक्षित पार्न सकिएन, यो गम्भीर विषय हो,’ उनले भने, ‘यसरी नै फ्लोर क्रस हुँदै गए गण्डकी सरकार अल्पमतमा पर्न सक्छ।’
बैठकमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, कांग्रेस गण्डकी सभापति शर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान, गण्डकी अध्यक्ष गायत्री गुरुङ, जसपाका केन्द्रीय सदस्य आमोद, प्रदेश उपाध्यक्ष हेमबहादुर थापा, जनमोर्चाका सांसद पियारी थापा, प्रदेश अध्यक्ष शंकर बराल, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठलगायत सहभागी थिए।