कैलालीको पचमुडिया सब-डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डित सोमबार आफ्नो कार्यालयअगाडि कर्मचारी र सामुदायिक वनका दुई अध्यक्षसँग कुराकानी गर्दै थिए।
त्यही बेला एक जना नजिक आएर 'पण्डित सर को हुनुहुन्छ?' भनेर सोधे।
विश्वराजले 'म हुँ' भनेर जवाफ दिए।
त्यसपछि ती व्यक्तिले 'हजुरसँग काम छ, कार्यकक्षमा बसेर कुरा गरौं न' भने।
विश्वराज ती व्यक्तिसँगै आफ्नो कार्यकक्षभित्र पसे।
भित्र पस्दा अरू ६ जना पनि सँगसँगै आए। उनीहरू सबै अपरिचित थिए। सबैले मास्क लगाएका थिए।
'यो देखेर म झस्किएँ,' विश्वराजले बुधबार सेतोपाटीसँग भने, 'नभन्दै एक जनाले तपाईंको विचार के हो भन्दै ठूलो स्वरमा मलाई प्रश्न सोधे।'
'तपाईंहरू को हो? के विचार भन्नुभएको?' विश्वराजले भने।
यति सुनेपछि समूहका एक जनाले धम्कीपूर्ण लवजमा भने, 'हामी विप्लव पार्टीका हौं। तपाईं हाम्रो पार्टीको विरोधमा किन लाग्नुभयो? विप्लवले चन्दा माग्छ भनेर किन मिडियामा भन्नुभयो? यो राम्रो भएन है।'
विश्वराजले 'चन्दाबारे सामुदायिक वनका अध्यक्षहरूले सार्वजनिक कार्यक्रममा बोलेकाले मिडियामा समाचार आएको हुनसक्छ' भन्ने जवाफ दिए।
'मैले यसबारे स्पष्टीकरण के दिनुपर्ने हो र?' उनी यति भन्दै थिए, त्यही बेला उनीहरूले कार्यकक्षमा रहेको टेबलमा जोडले हाने र विश्वराजको मुखमा मसी दलिदिए।
'मेरो मुखभरि मसी दलेर आइन्दा हाम्रो पार्टीको विषयमा केही भने तँलाई मारिदिन्छु भनेर धम्क्याए र मलाई कार्यकक्षमै थुनेर बाहिर निस्के,' विश्वराजले भने, 'उनीहरू गइसकेपछि मैले बाहिर बसेका कर्मचारीलाई फोन गरेर कोठाको चुकुल खोल्न लगाएँ।'
उनले अगाडि भने, 'मेरो गल्ती नभए पनि उनीहरूले मुखमा मसी दले। यो कुराले मलाई असह्य पीडा भयो। मनमा दु:ख परेकोले यो घटनाबारे तुरून्तै सामाजिक सञ्जालमा जानकारी गराएँ।'
सहायक वन अधिकृत पण्डितले कैलाली पचमुडिया सब-डिभिजन कार्यालयमा काम गरेको १५ महिना पुग्यो। यहाँ आएको केही समयपछि नै कतिपय सामुदायिक वनसँग 'विप्लव' भनेर बताउने समूहले चन्दा असुल्ने गरेको गुनासो सुन्नुपरेको उनले जानकारी दिए।
'सामुदायिक वन उपभोक्ता समूहको खाताबाट पटक-पटक चन्दा माग्ने गर्छन् भनेर वनका पदाधिकारीले मकहाँ गुनासो गरेका थिए। चन्दा दिए अडिटमा गाह्रो हुन्छ, नदिए धम्काउँछन्, के गर्ने सर भनेर मलाई सुनाउने गर्थे,' उनले भने।
यो विषयमा उनी 'तपाईंहरूलाई गाह्रो भए प्रहरीकहाँ खबर गर्नुहोला' भनेर सुझाव दिने गर्थे।
सामुदायिक वनका पदाधिकारीले अन्य निकायलाई पनि यसबारे बताउँदै आएका थिए।
गत वर्ष फागुन २२ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरले आयोजना गरेको सामाजिक शिक्षा कार्यक्रममा ४३ सामुदायिक वनका पदाधिकारी सहभागी थिए। तीमध्ये अधिकांशले चन्दाको समस्या उठाउँदै अख्तियारसँग सहयोग मागेका थिए।
त्यसपछि पनि उनीहरूले बेलाबेला सार्वजनिक कार्यक्रम र अन्य निकायमा चन्दाको समस्या राख्दै आए। सामाजिक सञ्जालमा पनि यसबारे लेखे।
यति मात्र होइन, गत माघ ९ गते प्रदेश सरकारका मन्त्री र सांसदसहित थुप्रै निकाय सहभागी सार्वजनिक कार्यक्रममा वनका पदाधिकारीले चन्दाको समस्या सुनाएका थिए। त्यसपछि चन्दाको विषय सञ्चारमाध्यममा पनि आउन थालेको पण्डित बताउँछन्। यही विषयमा आफूलाई अपरिचित समूहले मसी दलिदिएको हुनसक्ने विश्वराज बताउँछन्।
'निष्पक्ष कर्मचारीलाई पार्टीको नाम लिएर यसरी अभद्र व्यवहार हुँदा मलाई गाह्रो भएको छ,' उनले भने, 'यस्तो व्यवहारले कर्मचारीले खुलेर काम गर्न सक्दैन। मूर्ख देखी दैव डराउँछ भन्छन्। अराजक गतिविधि गर्नेहरूसँग डर त लाग्छ नि!'
'म आफ्नो स्पष्टीकरण जहाँ गएर दिनुपरे पनि दिन्छु। खुला बहस हुनुपर्यो,' उनले भने।
उनका अनुसार 'विप्लव' भनेर बताउने समूहले कैलालीका पाँच सामुदायिक वनबाट ९ लाखभन्दा बढी चन्दा असुल गरेको वनका पदाधिकारीको दाबी छ।
'वन पदाधिकारीले चन्दा दिएको रसिद छ भनेका छन्,' उनले भने।
पण्डितले आफूमाथि भएको घटनाबारे प्रहरीकहाँ जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले उक्त समूहको खोजी भइरहेको बताए।
'व्यक्तिहरूको पहिचान भएको छैन, खोजी जारी छ,' डिएसपी जोशीले भने, 'पक्राउपछि कारबाही प्रक्रिया अगाडि बढ्छ।'