पटक-पटक फुट्दै जुट्दै बल्लतल्ल एक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि विभाजनको संघारमा पुगेको छ। एकता महाधिवेशन भएको तीन महिना पुग्दै राप्रपा फुटको संघारमा पुगेको हो।
गत मंसिर १५ देखि काठमाडौंमा भएको महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको थियो। एकता भनिएको त्यही महाधिवेशन नै अहिले फुटको संघारमा पुर्याउन कारक बनेको छ। महाधिवेशनको नतिजालाई निवर्तमान अध्यक्ष कमल थापाले स्वीकार्न नसक्दा राप्रपा फेरि फुटनजिक पुगेको हो।
एकता महाधिवेशनमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। आफैंले निर्माण गरेको पार्टीका नेता-कार्यकर्ताको ठूलो पंक्ति लिएर चुनावमा उठेका थापाले आफूभन्दा निकै कनिष्ठ नेता लिङ्देनसँगको पराजयलाई सहर्ष स्वीकार गरेका थिएनन्।
थापाले आफ्नो हारमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको बताउँदै आएका थिए।
उनले महाधिवेशनलगत्तै र दुई साताअघि उक्त प्रकरण छानबिन गर्न माग राख्दै अध्यक्ष लिङ्देनलाई दुई पटक चिठी लेखेका थिए।
थापाको चिठीमाथि लिङ्देनले कारबाही अघि बढाएका थिएनन्। अध्यक्ष लिङ्देन राजसंस्था र हिन्दु राष्ट्रको पार्टीको एजेन्डालाई असर पर्ने गरी कुनै पनि छलफल नगर्ने अडान लिइरहेका थिए।
थापाले त्यही प्रकरणलाई कोट्याउँदै छानबिन नगरे अप्रिय अवस्था आउने चेतावनी दिइरहेका थिए। त्यही चेतावनीबीच थापाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी पार्टी परित्याग घोषणा गरेका हुन्।
थापा विगत ३१ वर्षदेखि राप्रपामा थिए। २०६३ पछि उनले राप्रपा नेपाल गठन गरेका थिए।
२०६३ पछि तीन वटा बनेका राप्रपालाई लामो समयपछि एकता गर्दा गीतामा हात छोएर पार्टी नफुटाउने ‘कसम’ खाने उनै थापा थिए। २०७६ फागुन २८ मा तीन राप्रपाको एकता घोषणा हुँदा थापाले गीता खल्तीमा बोकेर गएका थिए।
उनले भने- तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु। हामी हिन्दु धर्म चाहने सनातन धर्मका पक्षपाती, यो गीतालाई हातमा राखेर भन्छु, राप्रपालाई कहिल्यै पनि फुट्न दिने छैन।
गीता हातमा राखेर थापाले खाएको कसम दुई वर्ष पनि टिकेन। उनले राप्रपा अहिले नै औपचारिक रूपमा फुटाइसकेका त छैनन् तर पार्टी परित्याग गर्ने उनको कदम राप्रपा फुटाउने पहिलो कदम भएको धेरैको बुझाइ छ।
राप्रपा परित्यागसँगै उनी नयाँ अभियानमा लाग्ने बताइएको छ। थापाले गत पुस २७ बाटै नयाँ अभियान सुरू गर्ने उद्घोष गरेका थिए। त्यसबेला अभियान सुरू नगरी थापा आफ्नो चिठीको सुनुवाइ हुने भन्दै पर्खेर बसेका थिए।
‘अहिले के गर्ने, नयाँ पार्टी गठन गर्ने वा अरू के गर्ने विषयमा टुंगोमा पुगिसकिएको छैन,’ थापानिकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘हामी काठमाडौं फर्किँदैछौं। छलफलपछि निष्कर्षमा पुग्छौं। हिन्दु राष्ट्रबारे अभियान चलाउने उहाँको योजना थियो।’
बर्तौलाले अहिले विभिन्न विकल्पमा छलफल भइरहेको भन्दै एउटा विकल्प नयाँ पार्टी गठन पनि रहेको बताए।
बर्तौलाले राप्रपा विभाजन वा फुटाउन नखोजिएको बताए।
‘उहाँ पार्टीबाट अलग हुनुभएको हो, पार्टी फुटाउन खोज्नुभएको होइन,’ उनले भने, ‘अहिलेको पार्टीपंक्ति उहाँसँग निकट रहेका व्यक्तिहरू बढी भएको हुनाले स्वभाविक रूपमा उहाँसँग आउन सक्नुहुन्छ।’
थापा समूहमा रहेका धेरै नेताहरूले राप्रपा पदाधिकारी तथा केन्द्रीय सदस्य जितेका छन्।
चार निर्वाचित उपाध्यक्षमध्ये बुद्धिमान तामाङ, रोशन कार्की र ध्रुवबहादुर प्रधान थापानिकट हुन्। तीन महामन्त्रीमध्ये भुवन पाठक र कुन्ती शाही थापा समूहका हुन्।
महामन्त्री पाठकले भने राप्रपा नफुट्ने बताए। थापालाई पार्टीमै फिर्ता गराउने प्रयास आफूहरूको हुने बताए।
‘पार्टीमा सकारात्मक ढंगले उहाँले उठाएका विषयमाथि छलफल गरिरहेका थियौं, अप्रत्यासित रूपमा उहाँले पार्टी परित्यागको घोषणा गर्नुभयो, यो दुर्भाग्यपूर्ण छ,’ पाठकले सेतोपाटीसँग भने, ‘अब नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था आएर हामी उहाँले पार्टी फुटाउनुहुन्छ भन्ने चाहँदैनौं।’
थापाले तत्कालै पार्टी स्थापना गर्न नसकेको अवस्थामा सम्भव देखेको हिन्दु राष्ट्रको अभियान हो। हिन्दु राष्ट्रको अभियानमा हिजो राप्रपामा रहँदाका नेता-कार्यकर्ताले सहयोग गर्ने याचना थापाको छ। आफ्नो समूहबाट निर्वाचित नेताहरूले थापालाई कति सघाउँछन् हेर्न बाँकी छ।
राप्रपामा कमल थापाका ३१ वर्ष
राप्रपा र कमल थापाको इतिहास खोज्दा बहुदलीय व्यवस्थाको पुन:स्थापनालाई हेर्नुपर्ने हुन्छ।
पहिलो जनआन्दोलनपछि जब २०४६ सालमा नेपालमा बहुदल आयो, दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पूर्वपञ्चहरू पनि दल खोल्ने निर्णयमा पुगे।
पञ्चायतको सत्ता थामेको ‘कुलिन वर्ग’ले २०४७ साल जेठ १५ गते राप्रपा गठन गर्ने निधो गर्यो।
पञ्चायतका हस्ती सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द राप्रपा स्थापना गरेर बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आए।
तर, स्थापनाको एक वर्षमै राप्रपा फुट्यो। राप्रपा थापा र राप्रपा चन्द नामका दुई पार्टी २०४८ सालको आम निर्वाचनमा होमिए।
पूर्वपञ्चहरूका पार्टीलाई पहिलो बहुदलीय प्रतिस्पर्धा नै ‘फलामको चिउरा’ भयो। थापा समूह १ सिट र चन्द पक्ष ३ सिटमा समेटियो।
जनमतको ‘चावुक’ खाएपछि समीक्षा गर्दै दुबै राप्रपा एकीकरण गर्ने निधोमा पुगे। यसरी एकीकरण हुँदा राप्रपाले पहिलो महाधिवेशन २०४९ सालमा काठमाडौंमा गरेको थियो।
महाधिवेशनले सर्वसम्मत रूपमा सूर्यबहादुर थापालाई अध्यक्ष छान्यो साथै लोकेन्द्रबहादुर चन्दलाई नेता र राजेश्वर देवकोटालाई सहअध्यक्ष चुन्यो। चुनावमा पार्टीलाई एकीकरणको लाभ मिल्यो। राप्रपाले २०५१ सालको मध्यावधि चुनावमा २० सिट जितेर संसदको तेस्रो ठूलो दल बन्न पुग्यो।
मध्यावधि निर्वाचनबाट चुनिएको मनमोहन अधिकारीको अल्पमतको सरकार ९ महिनामै गिर्यो। अघिकारीले संसद बिघटन गरेर चुनावमा जाने निर्णय गरे। सर्वोच्च अदालतले त्यो निर्णय उल्टाइदियो। पुनर्स्थापित संसदमा सत्ता र शक्तिको अभ्यास थप पेचिलो बन्यो।
मनमोहन अधिकारीलाई हटाएर पहिलो पटक नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने। राप्रपा पनि देउवासँगको सत्ता गठबन्धनमा थियो। सरकार चलाएको ९ पहिनापछि नै एमालले राप्रपाको चन्द पक्षलाई फकायो।
उनलाई प्रधानमन्त्री बनाउने र एमालेले पनि सरकारमा सहभागी हुने प्रस्ताव राख्यो। राप्रपा जोडिएपछि मात्र बहुमत पुग्ने स्थिति थियो।
२०५३ सालमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बन्यो। २०५३ फागुन २९ मा चन्द प्रधानमन्त्री भए।
चन्द प्रधानमन्त्री बनेको ६ महिनापछि नै राप्रपामा बिग्रह आयो। जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा-कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो।
चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा-एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए।
त्यसमध्ये एक थिए कमल थापा। थापाले आफूलाई छोड्न लागेपछि चन्दले एउटा टिप्पणी गरे, जुन नेपाली राजनीतिमा बलियो विम्ब बनेर बस्यो। चन्दले त्यसलाई ‘मुसा प्रवृत्ति’ भने र त्यसको व्याख्या गरे।
उनले भने, ‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरू जहाज छोडेर भाग्छन्।’ उनले गरेको यो टिप्पणीले थापालाई लामो समयसम्म पछ्यायो। सत्तामा पुग्न थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरिरहन्छन्।
चन्द नेतृत्वको सरकार गिराएर थापा प्रधानमन्त्री बनेपछि राप्रपा औपचारिक रूपमा दुई टुक्रा भयो।
राप्रपा थापा समूहले पार्टीको दोस्रो महाधिवेशन २०५५ सालमा वीरगञ्ज गर्यो। सूर्यबहादुर थापा पुन: अध्यक्ष बने। थापाले डा. लोहनी, राणा र कमल थापालाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्तामा बनाए।
२०५६ सालको चुनावको मुखमा थापालाई हटाएर गिरिजाप्रसाद कोइराला दोस्रो पटक प्रधानमन्त्री बने।
चन्द र थापा नेतृत्वका दुबै राप्रपा २०५६ को आम निर्वाचनमा सहभागी भए। सूर्यबहादुर थापा पक्षले ११ सिट जित्यो। चन्दको नेतृत्वमा रहेको पार्टीले कुनै पनि सिट जितेन। अघिल्लो निर्वाचनमा २० सिट जितेको राप्रपा फेरि ११ सिटमा खुम्च्यो।
चुनावपछि दुबै पक्षले फेरि एकीकरणको घोषणा गरे।
पोखरामा २०६० मा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनमा चन्दलाई ‘साइड’ लगाएर राणा अध्यक्षमा चुनिए। पदमसुन्दर लावती, कमल थापा र रोशन कार्कीलाई क्रमशः उपाध्यक्ष, महासचिव र प्रवक्ता मनोनयन गरियो।
२०५६ सालको निर्वाचनपछि बहुमतका साथ सत्तामा पुगेको नेपाली कांग्रेमा किचलो सुरू भयो। भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईलाई घोषणा गरेर कांग्रेसले चुनाव जितेको थियो। उनी प्रधानमन्त्री बनेको ६ महिना नपुग्दै राजीनामा दिन गिरिजाप्रसाद कोइरालाले दबाब बढाए। फ्रान्सको भ्रमण तय भइसकेका भट्टराईलाई फ्रान्स जानसम्म नदिइकन राजीनामा गर्न लगाइयो। गिरिजाप्रसाद कोइराला तेस्रोपटक प्रधानमन्त्री बने।
मुलुकमा माओवादी द्वन्द्व बढ्दै थियो। दरबारले माओवादीविरूद्ध सेना परिचालनमा आनाकानी गरिरह्यो। त्यसैबेला एमालेले गिरिजाप्रसादको राजीनामा मागेर ५७ दिनसम्म संसद अवरुद्ध गर्यो। उनले राजीनामा नगरी संसद चल्न नदिने अड्डी लियो। अन्तत: कोइरालाले राजीनामा दिए र देउवा दोस्रोपटक प्रधानमन्त्री बने।
देउवा प्रधानमन्त्री बनेपछि माओवादीविरूद्धको संकटकाल बढाउने कि नबढाउने भनेर कांग्रेसभित्र मतभेद सुरू भयो।
२०५८ जेठ १९ को दरबार हत्यकाण्डपछि ज्ञानेन्द्र राजा बनिसकेका थिए। दरबारको प्रत्यक्ष शासनको महत्वकांक्षा पालेका ज्ञानेन्द्र सत्ता हातमा लिन आतुर थिए। उनले पनि नेपाली कांग्रेसभित्र खेले। दरबारको सल्लाहमा देउवाले संकटकाल बढाउने घोषणा गरे।
कांग्रेसले उनलाई पार्टीबाट निस्कासित गर्ने निर्णय गर्यो। देउवाले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक खोले।
समयमा चुनाव गराउन नसकेकाले ‘असक्षम’ करार दिँदै राजा ज्ञानेन्द्रले देउवालाई २०५९ साल असोज १८ गते सत्ताच्युत गरे।
त्यसपछि लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीमा नियुक्त गरे। उनलाई छ महिनामा हटाएर सूर्यबहादुर थापालाई नियुक्त गरे।
उनलाई पनि हटाएर फेरि देउवालाई प्रधानमन्त्री नियुक्त गरे। अन्तत: २०६१ साल माघ १९ गते देउवालाई दोस्रोपटक सत्ताच्युत गरेर शासन आफ्नै हातमा लिए।
राजाको शानसकालमा पनि राप्रपा विभाजन हुने क्रम रोकिएन। ज्ञानेन्द्रले चन्दलाई प्रधानमन्त्री नियुक्त गरेपछि सूर्यबहादुर थापाले पार्टी विभाजन गरेर राष्ट्रिय जनशक्ति नामको नयाँ दल गठन गरे।
राजाले सत्ता आफ्नै हातमा लिएपछि थापाले त्यसको सार्वजनिक विरोध गरे। चन्द चुप बसे भने कमल थापाले राजाको कदमको स्वागत गरे। र, पछि राजाको मन्त्रीमण्डलमा गृहमन्त्री बने। २०६२/६३को दोस्रो जनआन्दोलन हुँदा उनी गृहमन्त्री नै थिए।
जनआन्दोलन सफल भएपछि राजतन्त्रको हिमायतीका रूपमा थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे।
२०६४ सालको संविधानसभा निर्वाचनमा उनको दलले समानुपातिकतर्फ जम्मा चार सिट जित्यो। प्रत्यक्षमा एउटा पनि जित्न सकेन।
सूर्यबहादुर थापा र पशुपतिशमशेर नेतृत्वका दलले एक सिट जितेनन्। २०७० को चुनावमा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) एकै ठाउँ भएर चुनावमा होमिए।
थापाको पार्टी एक्लैले समानुपातिक निर्वाचनमार्फत् २५ सिट जितेको थियो। थापा र राणाको पार्टीले समानुपातिकतर्फ १२ सिट जिते।
यसपछि फेरि २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम गरेर एकता गर्दा संविधानसभा-२ मा नयाँ पार्टीको सामर्थ्य ३७ सिट थियो।
पार्टीको चुनाव चिन्हमा मतभेदका कारण दल पुनः विभाजित भयो। लोहनीले २०७३ चैतमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरे। पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा राणा र लोहनीको पार्टीले एक सिट ल्याएन। कमल थापाको राप्रपाले भने प्रत्यक्षतर्फ एक सिट जितेको थियो, जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए। समानुपातिकमा भने तीन प्रतिशत मतको ‘थ्रेस होल्ड’ पार गर्न नसकेपछि एउटा सिट पनि पाएन र राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन।
त्यसपछि फेरि पूर्वपञ्चहरू एकतामा गए। राष्ट्रिय प्रजातन्त्र पार्टी २०७६ फागुनमा कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै एकै दलमा समाहित भएको थियो।
२०७८ मंसिर १५ को एकता महाधिवेशनमा पराजयको पीडाबाट पार्टी त्यागेसँगै थापा राप्रपाको विगत बनेका छन्।
यो पनि हेर्नुहोस्