बाटो बनाउने निहुँमा पोखराभरिका चौतारा मासिए। रुख काटिए। फेवाताल जोगाउन सर्वोच्च अदालतले परमादेश जारी गर्दासमेत ताल अतिक्रमण रोकिएन।
महानगरले सर्वोच्चको फैसला कार्यान्वयन गरेन। पोखरा महानगरका जनप्रतिनिधिले पाँच वर्ष लामो कार्यकालमा एउटा पनि तारिफ गर्न लायक काम गर्न सकेनन्।
पोखराको मझेरीपाटनमा बसेर यस्ता दृश्य हेरिरहेका लेखक गनेश पौडेलले अब राजनीतिक दलका उम्मेदवारले पोखरा जोगाउन नसक्ने निर्क्यौल गरे।
दलहरूमा इमन्दार, क्षमतावान र पोखराको भलाइमा काम गर्न सक्ने उम्मेदवार उठाउन नसक्ने ठम्याए।
दलहरूको महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बन्न होस् वा जिल्ला र वडा समितिको अध्यक्ष बन्न पनि नेताहरूले जुन कसरत गरे, त्यो लेखक पौडेललाई मन परेन।
‘पार्टीहरूको महाधिवेशनबाट छनौट भएका व्यक्ति हेर्दा अवस्था झन् विकराल देखिन्छ,’ पौडेलले भने, ‘उनीहरूले पोखराको भलाई गर्न सक्दैनन् भन्ने कुरा महाधिवेशनबाटै छर्लङ्ग भयो।’
पार्टीहरूको अधिवेशनमा देखिएका गुटबन्दी, नेतृत्वको आधार चन्दा, दलाली, बिचौलिया, ठेक्कापट्टाजस्ता गैरराजनीतिक क्रियाकलाप देखेपछि पौडेलले महानगरमा मेयर उठ्ने धारणा बनाए। सामाजिक सञ्जालमा बुधबार पोखरा महानगरको मेयरमा उठ्ने घोषणा गरे।
‘पैतला’ उपन्यासका लेखक पौडेलले ‘मुसा मानुस’ किताब अनुवाद गरेका छन्। नयाँ उपन्यास सकेर सम्पादनका क्रममा रहेको पौडेलले बताए।
महानगरको मेयरका रूपमा उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो अभियानलाई ‘अटेरी’ अभियान भनेका छन्। उनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्दै यस्तो लेखेका छन्।
‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ। म त्यो लडाइँमा जाँदैछु। यसपटक अटेरी गर्दैछु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयर पयदमा उम्मेदवारी दिने निर्णय गरेको छु। आउनुस्, केही गरौं। अति भो, ‘अटेरी’ गरौं।’
महानगरको मेयरमा आफ्नो उम्मेदवारीले दलहरुलाई क्षमतावान, इमान्दार र पोखराको हित गर्न सक्ने उम्मेदवार उठाउन बाध्यता पर्ने पौडेलले दाबी गरे। ‘दलहरूले गतिला उम्मेदवार उठाए उनीहरूले नै भोट पाउँछन्, जित्न सक्छन्,’ उनले भने, ‘खराब उम्मेदवार उठाए भने मैले भोट पाउँछु, जित्छु।’ पोखरालाई हित गर्न सक्ने उम्मेदवारले जित्नुपर्ने उनको धारणा छ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरेको छ। निर्वाचनको मिति तोकेको दुई दिनमै पौडेलले उम्मेदवारी दिनुको कारण पनि खुलाए। ‘मनोनयन दर्ता गर्नेबेला उम्मेदवारी घोषणा गरे पनि हुन्थ्यो, देशैभर अटेरी युवा अभियान चलोस् र स्वतन्त्र उम्मेदवारहरू धरै उठुन् भनेर दुई महिनाअघि नै उम्मेदवारी घोषणा गरेको हुँ,’ उनले भने।
उम्मेदवारी घोषणा गर्नुअघि २०७४ मा पोखरा महानगरका मेयर लगायत पदका उम्मेदवारहरुको घोषणा पत्र अध्ययन गरेको पौडेलले बताए। घोषणा पत्रमा रेल सञ्चालनदेखि विभिन्न योजना देखेको भन्दै उनले त्यतिबेलाका उम्मेदवारले गर्न नसक्ने काम गर्छु भनेर जनतालाई ढाँटेको आरोप लगाए।
‘म गर्न सक्ने कामको मात्र घोषणा पात्र लिएर आउँछु,’ उनले भने, ‘महानगरले जे गर्नुपर्ने हो, त्यति काम गरे पुग्छ।’
पोखराको मेयर बन्न पौडेलले राजनीतिका ठूला दर्शन नहेरी पोखराका स्थानीय विषय उठाउन खोजेको बताए। सर्वोच्च अदालतले फेवाताल जोगाउ भनेर दिएको परमादेश कार्यान्वयन गर्न आफुले चुनाव जित्नुपर्ने उनको दाबी छ। ‘फेवाताल जोगाउन कस्ले रोकेको छ, सर्वोच्च अदालतले आदेश नै दिएको छ,’ उनले भने, ‘जुनसुकै पार्टीबाट उठे पनि ठेकेदार, बिचौलिया र दलाल उम्मेदवारले फेवाताल जोगाउन सक्दैन।’
फेवाताल अतिक्रमण गर्नैहरू कांग्रेस, एमाले जस्ता पार्टीमा आवद्ध व्यक्तिहरू नै रहेको उनको भनाइ छ।
पोखरामा रहेका अधिकांश पोखरी हराएको भन्दै उनले सार्वजनिक पोखरी, चौतारो र रुख मास्ने अधिकार कसैलाई नभएको बताए।
पोखरामा बढ्दो प्रदुषण रोक्ने पनि पौडेलको योजना छ। काठमाडौंको प्रदुषणले भन्दा पोखराको प्रदुषणले हिमाललाई बढी असर पारेको उनको भनाइ छ।
‘पोखरामा कम्तीमा पनि १५ हजार रोपनी सार्वजनिक जमिन अतिक्रमण भएको छ,’ उनले भने, ‘यो जमिन दलहरूकै दलालले कब्जा गरेका हुन्, उनीहरूबाट फिर्ता ल्याउन हामी जस्ता स्वतन्त्र उम्मेदवारले मात्र सक्छ।’
केही समयअघि मात्र पोखरामा सार्वजनिक जमिन नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कब्जा गरेर व्यापार गरेको समाचार सेतोपाटीले सार्वजनिक गरेको थियो।
सार्वजनिक जमिन महानगरले फिर्ता ल्याएर पार्क बनाउने लेखक पौडेलको योजना छ।
महानगरका मेयरमा निर्वाचित भएपछि पौडेलले राजनीतिक भर्ति भएर काम नगरी बस्ने कर्मचारी निष्काशन गर्ने बताएका छन्। २०५४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरमा एमाले उम्मेदवार निर्वाचित भएका थिए। त्यतिबेला निर्वाचित जनप्रतिनिधिले चार सय बढी कार्यकर्ता महानगरमा भर्ना गरेका थिए। २०७४ सालमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएकाले उनीहरु थप बलियो छन्।
राजनीतिक नियुक्तिका कर्मचारीले महानगरलाई भड्खालोमा हालेको भन्दै पौडेलले उनीहरू सबैलाई एकैपटक निष्काशन गर्नुपर्ने बताए।
महानगरको मेयर निर्वाचित भएर सार्वजनिक शिक्षा सुधार्ने लेखक पौडेलको योजना छ। सार्वजनिक शिक्षा बलियो भएन भने देश कमजोर हुने भन्दै उनले निजी स्कुलभन्दा सार्वजनिक स्कुल गुणस्तरीय बनाउने अठोट गरे।
खेलकुदको सहरका रुपमा पोखरालाई विकसित गर्न प्रत्येक वडामा खेलकुद मैदान निर्माण गर्ने पौडेलको योजना छ। मेयरका रूपमा उनले पोखरामा सार्वजनिक पुस्तकालय बनाउने सपना देखेका छन्। स्वास्थ्यका क्षेत्रमा पनि अहिलेसम्म महानगरले एउटा पनि काम गर्न नसकेको पौडेलको जिकिर छ।
रेल ल्याउने सपना बोका पोखराका मेयरसहित जनप्रतिनिधिले सार्वजनिक यातायात सुधार्न समेत नसकेको पौडेलको ठम्याई छ। महानगरले यातायात व्यवसायीसँग साझेदारीमा सार्वजनिक यातायात सुधार्नुपर्ने उनले बताए।
निर्वाचन आयोगले चुनाव चिन्ह दिएपछि विस्तृत घोषणा पत्र सार्वजनिक गर्ने पौडेलको योजना छ।
चुनावी अभियानका रूपमा अरु दलका उम्मेदवार झैं घरदैलो नजाने पौडेलले बताए। ‘सामाजिक सञ्जालबाट र मिडियाबाट अपिल गर्छु,’ उनले भने, ‘वडा तहसम्म गएर आफ्ना धारणा राख्छु, तर घरदैलो गर्दिनँ।’
संघ वा प्रदेश सांसदमा उम्मेदवार बन्नभन्दा महानगरको मेयर बनेर काम गर्न सकिने धेरै अवसर भएको पौडेलले बताए। संविधानले दिएको अधिकार अनुसार कानुन निर्माण गर्न सक्ने भन्दै उनले पोखरालाई जोगाउन सक्ने मेयरको खाँचो परेको बताए।
‘म भन्दा योग्य उम्मेदवार दलहरूले उठाओस्, यसले पोखरालाई फाइदा गर्छ,’ उनले भने, दलहरूले फेरी दलाल उम्मेदवार उठाए मैले जित्छु, म पोखराको हित बाहिर जाँदिनँ।’