राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पदाधिकारी बैठकले राखेका मागबारे सम्बोधन गर्ने भन्दाभन्दै निवर्तमान अध्यक्ष कमल थापाले ‘छापामार शैली’मा पार्टी परित्याग गरेको निष्कर्ष निकालेको छ।
पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले राखेका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाइरहेकै बेला निवर्तमान अध्यक्ष थापाले ‘छापामार शैली’मा पार्टी परितेयाग गरेको निष्कर्ष निकालेको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार थापाले दुई पटक अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर आफ्नो मागबारे ध्यानाकर्षण गराएका थिए।
थापाले दोस्रोपटक पत्र लेखेपछि त्यसबारे छलफल गर्न अध्यक्ष लिङ्देन आफैं शनिबार थापाको निवास बुढानिलकण्ठ पुगेका थिए।
‘अध्यक्षले भेटेको दिनसम्म उहाँले सकारात्मक कुरा गरिरहनुभएको थियो, अध्यक्षले माग सम्बोधन गर्ने भनिरहनु भएको थियो, उहाँका माग सम्बन्धमा विभिन्न मोडलमा कुरा भइरहेको थियो,’ श्रेष्ठले भने, ‘तर, उहाँले छापामार शैलीमा पार्टी परित्याग गरेको घोषणा गर्नुभयो, यो रहस्यमय छ।’
श्रेष्ठका अनुसार थापासँग लिङ्देनले कुराकानी गरेपछि उनको माग सम्बोधनका लागि पदाधिकारी बैठक बिहीबारका लागि डाकिएको थियो। त्यसअगावै थापाले पार्टी त्यागेको घोषणा गरेका थिए।
‘पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्द, निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, दीपक बोहरा, उपचारका विदेश जानुभएका उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेताहरूसँग थापाको मागबारे विभिन्न मोडलमा छलफल गर्ने भनी पदाधिकारी बैठक डाकिएको थियो,’ श्रेष्ठले भने, ‘तर उहाँले एक्कासि पार्टी परित्यागको घोषणा गर्नुभयो, पदाधिकारी बैठक बोलाइसकेको अवस्थामा उहाँले मंगलबार नै पार्टी परित्याग गर्नु रहस्यमय छ।’
अध्यक्ष लिङ्देनले आफ्नो माग सम्बोधन गर्न सक्दैनन् भन्ने मानसिकता देखाएर थापाले पार्टी परित्याग गरेको श्रेष्ठले बताए।
बैठकमा अध्यक्ष लिङ्देन, निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, भुवन पाठक, महामन्त्री कुन्ती शाहीलगायत अधिकांश पदाधिकारीहरू थिए।
बैठकमा निवर्तमान अध्यक्ष राणाले थापाले चालेको कदम अप्रत्यासित रहेको भन्दै पार्टीमा फर्किन आग्रह गरेका थिए। उनले राप्रपामा कुनै टुटफुट नआएको बताएका थिए।
बैठकमा बोल्ने अधिकांश पदाधिकारी र निवर्तमान अध्यक्षले थापालाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए।
‘उहाँले पार्टी परित्याग गर्नुभएको निर्णयले राप्रपाको राजनीतिक हित र भविष्यलाई असर पर्छ, उहाँ राप्रपामा फर्किनुहोस् भन्ने सबैको चाहना छ,’ श्रेष्ठले भने।
लिङ्देनसँग पराजित भएपछि थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराउन भूमिका खेलेको आरोप थापाले लगाउँदै आएका छन्। मंसिर १५ देखि राप्रपा एकता महाधिवेशन काठमाडौंमा भएको थियो।
एकता महाधिवेशनमा थापा पराजित भए पनि उनको समूहका अधिकांश नेताहरू पदाधिकारीमा निर्वाचित भएका थिए।