मधेश प्रदेश सरकारले फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रदेश सरकारले २७ औं जनयुद्ध दिवस मनाउन लागेको मधेशका मुख्यमन्त्री लालबाबु राउतले सेतोपाटीलाई जानकारी दिए।
तीन वर्षदेखि माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो।
मधेस प्रदेशमा मात्र होइन माओवादीले सरकार नेतृत्व गरेको सुदूरपश्चिममा पनि सरकारले अहिलेसम्म जनयुद्ध दिवस मनाएका छैनन्। यसअघि माओवादीको नेतृत्वमा केन्द्रीय सरकार हुँदा पनि सरकारीस्तरमा जनयुद्ध दिवस मनाइएको थिएन।
मुख्यमन्त्री राउतले नेपालमा गणतन्त्र आउनु र अहिलेका परिवर्तन हुनुमा माओवादी जनयुद्धको ठूलो भूमिका रहेकाले जनयुद्ध दिवस मनाउन लागिएको बताए।
‘गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता जे-जति उपलब्धी भएका छन् ती सबैमा जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धको भूमिका छ। यसलाई बचाउनका लागि अहिले त यसको महत्व झनै बढेको छ,’ राउतले भने।
जनयुद्ध दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिनेसमेत तयारी गरेको छ।
‘विदा दिने तयारी गरेका छौं। निर्णय हुन बाँकी छ,’ मुख्यमन्त्री राउतले भने।
सरकारले पुस अन्तिम साता नै मन्त्रिपरिषदबाट जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि सार्वजनिक गरेको थिएन।
जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले मधेश भवन परिसरमा रहेको कभर्ड हलमा सहिदको सम्मान तथा आर्थिक सहयोग वितरण कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय सरकारका केही मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्री सहभागी हुने आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।
उनका अनुसार मधेशी सहिद प्रतिष्ठानमार्फत् जनयुद्धको क्रममा सहिद भएका परिवारलाई ३/३ लाख रुपैयाँसमेत दिने निर्णय भएको छ।
‘सहिद परिवारलाई सम्मान गर्ने र तीन चराणमा गरी तीन लाख रुपैयाँ दिने निर्णय भएको छ। अहिलेसम्म प्रदेशमा ५४३ जना सहिद परिवारको पहिचान भएको छ। करिब ६ सय सहिद परिवार पुग्ने अनुमान छ,’ उनले भने।
प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको विषयमा सत्तारूढ दलकै सांसदहरू अनभिज्ञ छन्। सेतोपाटीले सम्पर्क गरेका कांग्रेसका सांसद र मन्त्रीहरू यो निर्णयबारे अनभिज्ञता प्रकट गर्दै टिप्पणी गर्न इन्कार गरे।