एमाले भातृ संस्था युवा संघको महाधिवेशनबाट अध्यक्ष चुनिएपछि महेश बस्नेतले फेरि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरेनन्। आफ्नो कार्यकाल सकिएपछि बस्नेतले अर्की नेता निरू पाललाई अध्यक्ष चुनेर छाडिदिए।
त्यसयता युवा संघको महाधिवेशन हुन सकेको छैन। टीका लगाएर ९ वर्षमा ८ जना अध्यक्ष र संयोजक छानिए। यसबीचमा छानिएका अध्यक्ष र संयोजकहरू पूर्वअध्यक्ष बस्नेतकै कोटाका थिए।
महाधिवेशन हुन नसकेपछि मनोनितका भरमा युवा संघको केन्द्रीय सदस्य १३ सय पुग्यो। केन्द्रीय सचिवालय मात्र ४१९ सदस्यीय छन्। संगठन चल्न नसक्ने अवस्था भएपछि पोखरामा गत पुस २८ र २९ गते केन्द्रीय सचिवालय बैठक बस्यो।
बैठकले युवा संघको यही फागुन ११ गते महाधिवेशन गर्ने निर्णय गर्यो। त्यसका लागि ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनायो। यो निर्णय हाल युवा संघका इन्चार्ज रहेका बस्नेतले गरेको भन्दै केही नेता कार्यकर्ता असन्तुष्ट बने।
युवा संघका उपाध्यक्ष रोशन बस्नेत, रमेश पौडेललगायतले महाधिवेशन आयोजक कमिटीमा पनि बस्नेतले आफू पक्षधरलाई मात्र स्थान दिएको आरोप लगाए।
असन्तुष्ट पक्षले बस्नेतले बनाएको महाधिवेशन आयोजक कमिटीप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारीलगायत नेतालाई गुहारे।
संगठन विभागले युवा संघलाई निर्देशन पत्र लेख्दै पुरानै कमिटीले महाधिवेशन गर्नु भनेर निर्देशन दिएपछि बस्नेत आक्रोशित बने। संगठन विभाग प्रमुखबाट अधिकारीलाई हटाउन माग गर्दै उनले आफ्नो आक्रोश आइतबार फेसबुकमा पोखेका छन्:
क.खगराज अधिकारी
१) पार्टीको जनवर्गीय संगठनहरू राजनैतिक रूपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढङ्गले अगाडि बढ्ने गर्दछन्।
२) पार्टीको सचिवालयको बैठकले जनसंगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सोसँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाईंलाई कसले दियो?
३) युवा संघले सचिवालयको आधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो?
४) संगठनको इन्चार्ज, अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो?
५) एमालेविरूद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघमाथि अराजकता हावी हुने र विरोधीहरूको हौसला बढ्ने गरी फैसला किन गर्नुभयो?
६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ, तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन।
७) तसर्थ क. खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु।
बस्नेतको ७ बुँदे आरोपप्रति संगठन विभाग प्रमुख अधिकारीले सामान्य प्रतिक्रिया दिए। बस्नेतले सोधेको ७ बुँदे प्रश्नबारे अधिकारीले जवाफ दिन आवश्यक ठानेन्।
‘उहाँले फेसबुकमा किन लेख्नुभयो, त्यसमा मेरो केही भनाइ छैन’ अधिकारीले सेतोपाटीसँग भने, ‘उहाँ (बस्नेत)लाई जे लाग्यो, त्यही गर्नुभयो, त्यो छुट उहाँलाई छ।’
युवा संघको केन्द्रीय सचिवालय बैठकमा आफू उपस्थित नभएको अधिकारीले बताए। सचिवालय बैठकका निर्णयका विषयमा अध्यक्ष ओलीसँग छलफल नभएको दाबी गर्दै अधिकारीले बस्नेतसँग आफ्नो कुनै वैरभाव नरहेको बताए।
युवा संघको महाधिवेशन पुरानै कमिटीले गर्नु भनेर अधिकारीले निर्देशन दिँदा अध्यक्ष ओलीको सहमति रहेको बताइएको छ। बस्नेतले बनाएको महाधिवेशन आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका नेता कार्यकर्ताले पनि अध्यक्ष ओली, महासचिव पोखरेल र संगठन विभाग प्रमुखकै सल्लाहले संगठन विभाग प्रमुखबाट निर्देशन पत्र गएको बताउँछन्। तर बस्नेतले अध्यक्ष र महासचिवलाई छाडेर अधिकारीलाई मात्र तारो बनाएका छन्।
यसअघि गृहमन्त्री बन्न नपाएको झोंक पनि बस्नेतले अधिकारीमाथि लगाएका थिए। संसद दोस्रो पटक विघटन गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले नेता खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका थिए। गृहमन्त्री बन्ने दौड हारेपछि बस्नेतले आफू गृहमन्त्री बन्ने पक्कापक्की भए पनि ‘ओली वरपर घुम्नेले’ घुमाएर अधिकारीलाई गृहमन्त्री नियुक्त गर्न लगाएको आरोप लगाएका थिए।
सर्वोच्च अदालतले अधिकारीसहित मन्त्रीहरूलाई नियुक्त भएको १३ दिनमै पदमुक्त गरिदियो। त्यसपछि युवा संघको विवादमा अधिकारी र बस्नेतबीचको तिक्तता सतहमा आएको हो।
यता, युवा संघका केन्द्रीय कार्यालय सदस्य सन्तोष केसीले संगठन विभागबाट पुरानै समितिमार्फत् अधिवेशन गराउन निर्देशन दिँदा प्रक्रिया नमिलेको टिप्पणी गरे।
‘संगठन विभागले युवा संघका इन्चार्जसँग सल्लाह गर्नुपर्थ्यो, इन्चार्जमार्फत् नै युवा संघलाई निर्देशन आउनुपर्थ्यो,’ केसीले भने, ‘संगठन विभागबाट सिधै निर्देशन आउनु भनेको पूर्वाग्राही ढंगबाट आएको भनेर बुझ्छौं।’
संगठन विभागको निर्देशनबारे अध्यक्ष ओलीलाई भेटेर कुरा गर्ने तयारी गरेको केसीले बताए। यस बीचमा पार्टीले चुनावमा लक्षित हुनुपर्ने कारण देखाउँदै फागुन ११ गते तोकिएको महाधिवेशन स्थगित गरिदिएको छ।
महाधिवेशन नै अनिश्चित भएपछि बस्नेतले बनाएको महाधिवेशन आयोजक कमिटीको अर्थ नहुने असन्तुष्ट पक्षको भनाइ छ। संगठन विभाग प्रमुखको क्षमतामाथि प्रश्न उठाएर बस्नेतले रिस फेरेको अधिकारी निकट एक नेताले भने।