लामो विवादपछि अमेरिकी सहायतासम्बन्धी सम्झौता 'मिलेनियम च्यालेन्ज कर्पोरेसन' (एमसिसी) अन्तत: प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको अनुपस्थितिमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी टेबल गरेका हुन्।
प्रतिपक्षीको नाराबाजीबीच सरकारले एमसिसी टेबल गर्दा सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच रहेको आन्तरिक किचलो संसद बैठकमा प्रस्ट देखिएको छ। आधा घन्टा चलेको आइतबारको बैठकमा के-के भए त?
१) सञ्चारमन्त्रीले पेस गरे, अर्थमन्त्री अनुपस्थित
एमसिसी सम्झौता अर्थ मन्त्रालयले गरेकाले खासमा अर्थमन्त्री जनार्दन शर्माबाटै संसदमा पेस हुनुपर्ने थियो। कार्यसूचीमा समेत शर्माकै नाम थियो। तर उनी बिरामी भएको बहाना बनाएर बैठकमा उपस्थित भएनन्। उनको सट्टा विगतमा अर्थमन्त्रीका हैसियतले एमसिसीमा हस्ताक्षर गरेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा टेबल गरे।
कार्कीले एमसिसी पेस गर्दै यसबाट ५० लाख घरधुरी लाभान्वित हुने बताए। उनले ५० करोड अमेरिकी डलरको अनुदान सहायता भनेको अहिलेको विनिमय दरअनुसार ६० अर्ब रूपैयाँ हुने बैठकमा जानकारी गराए।
उनले यो अनुदानबाट काठमाडौंको लप्सेफेदीदेखि हेटौंडाबाट बुटवलसम्म चार केभी क्षमताको तीन सय किलोमिटर लामो प्रसारण लाइन बन्ने बताए। यो सहायता विद्युत प्रसारण लाइन निर्माणमा कोशेढुंगा साबित हुने कार्कीको भनाइ थियो। यसबाट अन्तरदेशीय विद्युत प्रसारण लाइन बन्ने र नेपाललाई बिजुली बेच्न बाटो खुलेर प्रत्यक्ष लाभ लिन सकिने उनले बताए।
एमसिसी कार्यान्वयन क्रममा पाँच वर्षभित्रै प्रतिफल प्राप्त हुने पनि मन्त्री कार्कीले दाबी गरे। उनले यो आयोजनाका लागि नेपालले पनि तीन वर्षमा १३ करोड डलर खर्च गर्ने बताए।
२) एमालेको नाराबाजी तर बैठकमा बोले भीम रावल
प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे। उनीहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका सांसदलाई 'गैरसांसद' को टिप्पणी गर्दै बैठकबाट बाहिर निकाल्न माग गर्नुका साथै सभामुख अग्नि सापकोटाको समेत विरोध गरे।
बैठकमा प्रतिपक्षी एमालेको रोस्ट्रम घेराउ र नाराबाजीबीच एमसिसीलाई लिएर दलभित्रको विवाद पनि बाहिर आयो।
एमाले सांसद भीम रावलले आफ्नो पार्टीका अन्य सांसदहरूले बैठकमा अवरोध गरिरहेकै बेला एमसिसीबारे आफ्नो धारणा राखे। उनले एमसिसी सम्झौता कुन कानुनअनुसार संसदमा पेस भयो भन्दै प्रश्न उठाए। सँगसँगै, यो सम्झौतालाई 'राष्ट्रघाती' भन्दै एमसिसी पारित भए नेपाली भूभाग विदेशीको नियन्त्रणमा जाने तर्क पनि गरे।
एमसिसी पेस गर्ने आइतबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्।
३) प्रचण्ड बसिरहे, माओवादी सांसदहरू नाराबाजीमा
प्रतिनिधिसभा बैठकमा एमसिसी पेस हुनुअघि नै नेकपा माओवादी केन्द्रले विरोध जनायो। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले संसद अवरूद्ध भएको अवस्थामा एमसिसी पेस गर्न नहुने बताए। एमसिसीमा गम्भीर प्रकारका राष्ट्रिय हित र स्वाधिनता प्रतिकूलका व्यवस्था रहेको उनको भनाइ थियो।
एमसिसी सम्झौता परिमार्जन गरेर मात्र अगाडि बढाउनुपर्छ भन्ने आफ्नो दलको धारणा रहेको गुरूङले बताए। यो सम्झौता संविधान र सन्धि ऐनविरूद्ध भएको बताउँदै उनले आर्थिक अनुदान सम्झौता संसदबाट अनुमोदन गराउने चलन नभएको विषय उठाए।
मन्त्री कार्कीले एमसिसीको प्रस्ताव पढिरहँदा माओवादी सांसदहरूले आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' भने आफ्नो ठाउँमा बसिरहे। उनी असमञ्जस ढंगले आफ्नो सिटमा बसिरहेका थिए।
पूर्वसभामुख कृष्णबहादुर महरा, माओवादीभित्र नारायणकाजी श्रेष्ठ निकट सांसद गिरिराजमणि पोखरेल र प्रचण्डको आफ्नै परिवारकी सदस्य बुहारी बिना मगरले पनि एमसिसीको विरोधमा नाराबाजी गरिन्।
यसरी माओवादीका अधिकांश सांसद आफ्नो ठाउँबाट उभिँदा माओवादीभित्र एमसिसीलाई लिएर प्रचण्ड अल्पमतमा रहेको देखियो।
४) झलनाथ खनालले गरे विरोध, कुर्सीमै बसिरहे माधव नेपाल
एमसिसीलाई लिएर सत्तारूढ नेकपा एकीकृत समाजवादीभित्रको विवाद बैठकमा छरपस्ट देखियो।
मन्त्री कार्कीले प्रस्ताव पढिरहँदा एकीकृत समाजवादीले सम्मानित नेताको पद दिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने आफ्नो कुर्सीबाट उठेर विरोधमा नारा लगाउँदै थिए। दलका नेता माधव नेपाल आफ्नो सिटमै चुपचाप बसिरहे।
नेता खनालले एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकमा एमसिसी टेबल गर्नेबारे कुनै निर्णय नभएको बताए। स्थायी कमिटी बैठकपछि तीनवटा आसयका छुट्टाछुट्टै विज्ञप्ति जारी हुनुले एमसिसीलाई लिएर पार्टीको मतभेद छर्लंग हुन्छ।
५) एमसिसी पेस हुँदा कांग्रेस सांसदले सहमतिमा टेबल ठोके
एमसिसी पेस हुँदै गर्दा कांग्रेस सांसदहरूले टेबल ठोकेर स्वागत गरेका थिए। त्यति बेला एमाले सांसदहरू रोस्ट्रम घेराउ र नाराबाजी गर्दै थिए भने माओवादी सांसदहरू सिटमा उभिएर विरोध गर्दै थिए।
६) मधेश केन्द्रित दल चुप, साना दलको विरोध
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले एमसिसीको विरोध गरेका छन्। पौडेलले श्रीलंकामा जस्तै एमसिसी खारेज गर्नुपर्छ भनेर संसदमा बोल्दा माओवादी सांसदहरूले समर्थनमा टेबल ठोके।
सरकारलाई आर्थिक मद्दत चाहिए जनताले आधा पेट खाएर विकासका लागि पैसा लगानी गर्न तयार रहेको पौडेलले बताइन्। उनको यो भनाइमा माओवादी सांसदले दोस्रोपटक पनि समर्थनमा टेबल ठोके।
मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुवैले बैठकमा आफ्नो कुनै धारणा राखेनन्।
७) एमसिसी उच्चारण नगरी सभामुखले राखे धारणा
एमसिसी पेस गर्न सञ्चारमन्त्रीलाई समय दिनुअघि सभामुख अग्नि सापकोटा आफैंले पनि यसबारे बोलेका थिए। उनले आफ्नो मन्तव्यमा एमसिसी शब्द भने उच्चारण गरेनन्।
'दलका शीर्ष नेता, संविधानविद्, कानुनविद्, सञ्चार जगत् एवं लब्धप्रतिष्ठित व्यक्तिको समेत संसदमा छलफल होस् भन्ने भावनाको सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेकाले अहम् महत्वका विषयलाई आजको कार्यसूचीमा समावेश गरिएको छ,' सभामुख सापकोटाले भने, 'छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई अपिल गर्दछु। कार्यसूची अघि बढाउन सहयोग हुने आशा एवं विश्वास राख्दछु।'
८) एमसिसी टेबल गर्ने बेला प्रधानमन्त्री छिरे बैठक कक्षमा
प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची सभामुखले अघि नबढाउँदासम्म प्रधानमन्त्री शेरबहादुर देउवा बैठक कक्षमा प्रवेश गरेका थिएनन्।
सबै दलका प्रतिनिधिले बोलिसकेपछि जब सभामुखले ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसिसी टेबल गर्न बोलाए, तब मात्र प्रधानमन्त्री देउवा बैठक कक्षमा छिरेका थिए।
एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेकाले प्रधानमन्त्रीलाई आफ्नो बस्ने सिट भेट्न अलमल भएको थियो। पछि मन्त्रीहरूले सहजीकरण गरिदिएपछि उनी आफ्नो सिटमा गएर बसे।
९) सभामुखले तोकेनन् छलफलको मिति र समय
प्रतिनिधिसभा बैठकमा एमसिसी पेस भए पनि अब कहिले छलफल हुन्छ भन्ने निश्चित छैन। प्रतिनिधिसभा नियमावलीअनुसार अब सभामुखले यसलाई छलफलमा लैजानुपर्छ। सभामुखले छलफलको अर्को मिति नतोकी फागुन १२ गते अर्को बैठक डाकेका छन्।
१०) बैठकपछिको दृश्य
प्रतिनिधिसभाको बैठक सकिएलगत्तै एमाले सांसद भीम रावल हतारहतार बाहिर निस्किए। उनलाई पत्रकारले घेरिहाले। उनले एमसिसीको विरोधमा आफ्नो धारणा राख्दै गर्दा झलनाथ खनाल बाहिर आइपुगे। उनले पनि एमसिसीको विरोध गर्दै एमसिसी संसदमा टेबल गर्नेबारे पार्टीमा कुनै निर्णय नभएको बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवनबाट कुनै प्रतिक्रिया नदिइकन निस्किए। पत्रकारहरूले कहिले पारित हुन्छ भनेर गरेको प्रश्नमा उनको संक्षिप्त जवाफ थियो, 'पारित हुन्छ।'
नेपाली कांग्रेसका सांसद गगन थापाले संसदभित्र देखिएको दृश्यबारे टिप्पणी गर्दै आजको जस्तै वातावरणमा छलफल गराएर भए पनि एमसिसी पारित गर्नुपर्ने बताए। उनले एमसिसीलाई राष्ट्रघाती भन्ने एमाले सांसद रावललाई केपी ओलीलाई राष्ट्रघाती भन्न र विरोध गर्ने माओवादी केन्द्रका सांसदहरूलाई प्रचण्डलाई राष्ट्रघाती भन्न चुनौती दिए।
सबै तस्बिर: निशा भण्डारी
यो पनि हेर्नुहोस्