प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग अमेरिकी सहयोगसम्बन्धी सम्झौता 'एमसिसी' को पक्षमा मत हाल्ने ग्यारेन्टी मागेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री देउवाले पार्टीको कमिटीबाटै एमसिसीको पक्षमा मत हाल्ने निर्णय हुनुपर्ने अडान राखेका हुन्।
शनिबारसम्म पनि प्रचण्डले यस्तो ग्यारेन्टी गर्न नसके प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग निर्णायक वार्ता हुने जनाउ पनि प्रधानमन्त्रीले दिएको बैठकमा सहभागी स्रोतले बतायो।
'प्रचण्डले एमसिसी जसरी पनि पास गर्छौं भन्नुभएको छ। संसद बैठकमा अनुपस्थित भएर पनि पास हुने वातावरण बनाउने उहाँले भन्नुभएको थियो। तर प्रधानमन्त्रीले यो प्रस्ताव स्विकार्नुभएको छैन,' बैठकमा सहभागी एक कांग्रेस नेताले भने, 'पहिले यही प्रस्ताव स्विकारेको भए पनि प्रचण्ड आफ्नो कुरामा नअडिएपछि समस्या आयो। त्यसैले यसपालि संसद बैठकमै उपस्थित भएर एमसिसीको पक्षमा भोट हाल्ने ग्यारेन्टी प्रधानमन्त्रीले माओवादीबाट खोज्नुभएको छ।'
'अरू कुरा मलाई थाहा छैन, तपाईंहरूले बैठकमा उपस्थित भएर भोट हाल्नुपर्छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,' ती नेताले सेतोपाटीसँग भने।
अहिले संसदमा बैठक अनुपस्थित हुने भने पनि बैठकको दिन माओवादी केन्द्रका केही सांसद उपस्थित भएर एमसिसीको विपक्षमा मत हाल्न सक्ने शंका देउवालाई छ।
यसअघि प्रचण्ड आफ्नै वचनबाट पछि हटेपछि देउवाको विश्वास गुमेको हो। उनले एमालेसँग संवाद बढाएको पनि त्यसपछि नै हो।
यही क्रममा शुक्रबार दिउँसो प्रचण्डसँग छलफल गरेका देउवाले साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा गएर छलफल गरेका थिए। छलफलमा कांग्रेस र एमालेका शीर्ष नेताहरू सहभागी थिए।
छलफलमा प्रधानमन्त्री देउवाले एमसिसीमा सघाउन आग्रह गरे। जवाफमा ओलीले प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने वातावरण बनेपछि मात्र एमसिसीबारे धारणा बनाउने बताएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार दुई पार्टीबीच शनिबार ३ बजे फेरि बैठक बस्दैछ।
राष्ट्रिय महत्वका विषयमा दुई पार्टी एक हुनुपर्ने र स्वस्थ प्रतिस्पर्धा गरेर अघि बढ्नुपर्नेमा एकमत देखिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनले लोकतन्त्रका लागि लामो लडाइँ लडेका एमाले र कांग्रेस नमिल्दा राजनीति दूषित पार्ने काम भएको भन्नेमा एउटै धारणा रहेको दाबी गरे।
कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री देउवा अझै सत्ता गठबन्धन तोडिहाल्ने पक्षमा छैनन्। त्यसका लागि एमसिसी पारित हुनुपर्ने सर्त भने राखेका छन्। यही सर्तका आधारमा उनले प्रचण्डलाई 'पर्ख र हेर' को रणनीति लिएको ती नेताले बताए।
'प्रचण्डले भोलिसम्म एमसिसीको पक्षमा भोट हाल्ने भनेर पार्टीमा निर्णय गराउन सक्नुभएन भने अब उहाँलाई थप कुरेर बस्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्न,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'त्यस्तो अवस्थामा एमालेसँग निर्णायक वार्ता हुनेछ। एमालेसँगको कुराकानी धेरै अघि बढ्छ।'
उनले अगाडि भने, 'प्रचण्डले आज आएर सँगै जाऔं भन्नुभयो। यो कुरा प्रचण्डले हामीसँग भने पनि आफ्नो पार्टीबाट निर्णय गराउन सक्ने हो कि होइन भन्ने महत्वपूर्ण छ। माओवादीहरूले एमसिसीका पक्षमा भोट हाले भने गठबन्धन सँगै जान्छ भन्ने त ओलीलाई पनि थाहा छ।'
यही कारणले शुक्रबार साँझ बालकोटमा भएको बैठकमा ओलीले 'अझै पनि माओवादीलाई विश्वास गर्नुहुन्छ?' भनेर भनेका थिए।
एमालेले एमसिसी पारित गर्न सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने वा पार्टीले कारबाही गरेका १४ जना सांसदबारे सूचना टाँस्नुपर्ने सर्त राखेकाले सहमति हुन सकेको छैन। एमसिसी पारित गरेपछि थप विषयमा छलफल गर्न तयार भए पनि पहिले नै एमालेका सबै माग पूरा गर्ने पक्षमा देउवा छैनन्।
'सभामुख हटाएर अर्को बनाउने अनि एमसिसी पास गर्न धेरै समय लाग्छ। एमालेले पहिला आफ्नो अडान छोड्नुपर्छ,' प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, 'तर उहाँहरू सभाभुख हटाउने कुरा मात्र गर्नुहुन्छ। सभामुख हटाउन संख्या पुग्यो भने पनि प्रक्रियाका कारण समय लाग्छ।'