अमेरिकी अर्थ मन्त्रालयले औपचारिक रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभ्रोफविरूद्ध प्रतिबन्ध लगाएको छ। उसले लाभ्रोफलाई पुटिनका ‘प्रमुख प्रचारक’ भनेको छ।
विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो र यो युरोपेली सङ्घ, युके र क्यानडाले गरेका निर्णयपछि आएको छ।
प्रतिबन्ध सार्वजनिक गर्दै अमेरिकी अर्थ मन्त्रालयले भनेको छ, ‘राष्ट्रपति पुटिन किम जङ-अन, एलेक्सेन्डर लुकासेन्को र बसर अल असदजस्ता तानाशाह सम्मिलित एउटा सानो समूहमा परेका छन्।’
रूसी सुरक्षा परिषदका अन्य सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाइएको एजेन्सीहरूले बताएका छन्।
रूसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटका विवरणहरू आइरहेका छन्।
अधिकारीहरूका अनुसार युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भइरहेको छ।
राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको बिबिसीले जनाएको छ। ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन्।
प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ।
किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोटनहरू सुनिएको छ र मेसिन गनबाट गोली प्रहार भइरहेको सुनिएको छ।
राजधानी किएभमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भइरहेको छ। तर, क्षतिको विवरण भने प्राप्त भएको छैन।
ट्रोइयस्चना जिल्लाको सिएचपी-सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ। सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ।
भ्यासिलकिभनजिकै रहेको एउटा हवाइअड्डामा पनि भीषण सङ्घर्ष भएको विवरण आएको छ।
युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा लडाइँ जारी रहेको बताएको छ।
रुसी फौज किएभनजिकै आइपुग्दा शनिबार बिहानबाटै किएभका विभिन्न ठाउँमा विस्फोटनका विवरण आएका छन्।
युक्रेनी फौजहरूले रुसी आक्रमणलाई विफल बनाउने प्रयास जारी राखेका छन्। युक्रेनी सैनिकहरूको एउटा समूहले किएभमा रुसी पक्षलाई एउटा प्रमुख चोकबाट पछाडि हट्न बाध्य पारेको युक्रेनी सेनाले एउटा फेसबुक पोस्टमा उल्लेख गरेको छ।
यसअघि युक्रेनी सशस्त्र बलले अर्को फेसबुक पोस्टमा सहरको अर्को क्षेत्रमा भीषण सङ्घर्ष भइरहेको र कतिपय ठाउँमा भिडन्त भइरहेका उल्लेख गरेको थियो। राष्ट्रपति जेलेन्स्कीले रुसले किएभमाथि हमला गर्ने बताएका केही घण्टामै नयाँ घटनाक्रम विकास भएका थिए।