अमेरिकी सहयोग परियोजना 'एमसिसी' पारित गर्नुअघि आइतबार दिनभर नयाँबानेश्वरस्थित संसद भवनमा रस्साकस्सी भयो। सत्ता गठबन्धनले एमसिसी पास गरेर अघि बढ्ने निर्णय आइतबार बिहान मात्र लिएको थियो। यसले दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक ३ बजेपछि मात्र सुरू भयो।
आइतबारको प्रतिनिधिसभा बैठकमा के के भए त?
१) साढे ४ घन्टा एमालेको नाराबाजी
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आइतबार भएको पहिलो र दोस्रो दुवै बैठकमा नाराबाजी गरे।
उनीहरूले पहिलो बैठकमा झन्डै तीन घन्टा नाराबाजी गरेका थिए। नारा लगाउँदा लगाउँदै थाकेका एमाले सांसदहरू संसद भवनको टेबलमा अढेस लागेर उभिएका थिए।
सांसदहरूले नाराबाजी लगाउन आलोपालोसमेत गरे। केही सांसद खाजा खान जाने र फर्किएर आएर नारा लगाउने क्रम चल्यो। दोस्रो बैठकमा पनि एमालेले नाराबाजी जारी राख्यो। एमाले सांसदहरू नाराबाजी गर्दा गर्दा गलेर हात उठाउन नसक्ने भएका थिए।
दुवै चरणको नाराबाजीमा एमालेले एकपटक पनि एमसिसीको विरोध गरेन। अन्य पार्टीका सांसदहरूले पनि एमालेले एमसिसीविरूद्ध नाराबाजी नगरेको उल्लेख गर्दै यस आधारमा एमाले एमसिसीको पक्षमा रहेको व्याख्या रोष्ट्रमबाट गरे।
२) अर्थमन्त्री संसद फर्किए
यसअघि प्रतिनिधिसभामा एमसिसी टेबल गर्ने बेला बिरामी भएको बहाना बनाएर अनुपस्थित अर्थमन्त्री जनार्दन शर्मा आइतबारको बैठकमा सहभागी मात्र भएनन्, उनले आफ्नो जिम्मेवारीसमेत पूरा गरे।
अर्थमन्त्री शर्माले एमसिसी छलफलका लागि प्रस्ताव राखे र संसद बैठकमा उठेका प्रश्नमा जवाफ दिए। उनले जवाफ दिँदा एमसिसीको विषयवस्तुमाथि खासै टिप्पणी भने गरेनन्।
दोस्रो बैठकमा पनि उनले सरकारको व्याख्यात्मक टिप्पणी प्रस्तुत गरे र उक्त टिप्पणी पारित गरियोस् भन्ने प्रस्ताव आफैं राखे।
एमसिसी छलफलका लागि प्रतिनिधिसभा बैठक डाकिएका बेला काठमाडौंबाहिर घुम्न गएको भन्दै आलोचना खेपेका शर्माले आइतबार बैठक सकिएपछि एमसिसीलाई आर्थिक परियोजना मात्र भएको टिप्पणी गर्दै बचाऊ गरे।
३) शीर्ष तहका नेताहरू बोलेनन्
प्रतिनिधिसभामा एमसिसीको छलफल हुँदा प्रमुख दलका शीर्ष नेताहरू बोलेनन्।
एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा आएर केही बेर नाराबाजी गरिरहेका आफ्ना सांसदसँगै उभिए र फर्किए। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीबारे बोलेनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि बैठकमा बोलेनन्।
जनता समाजवादी पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमसिसीको पक्षमा बोलेका थिए भने अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसिसीको विरोध गरेका थिए।
कांग्रेस महामन्त्री गगन थापाले सैद्धान्तिक छलफल र दफावार छलफल दुवैमा आफ्नो धारणा राखे। त्यस्तै, एमाले सांसद भीम रावलले एमसिसीको विरोधमा बोले।
सांसदहरूलाई सैद्धान्तिक छलफलमा बोल्न ५ मिनेट समय दिइएको थियो भने दफावार छलफलमा बोल्न ३ मिनेट समय दिइएको थियो। प्रमुख दलका शीर्ष नेताहरूले संसद भवनबाहिर पनि कुनै प्रतिक्रिया दिएनन्।
४) व्याख्यात्मक टिप्पणी राख्न नयाँबानेश्वरमै मन्त्रिपरिषद बैठक
सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्दा त्योसँगै व्याख्यात्मक टिप्पणी पनि पारित गर्ने निर्णय गरेको थियो। तर टिप्पणीमा के-कस्ता विषय हुन्छन् भन्ने अन्यौल कायमै थियो। प्रतिनिधिसभा बैठकमा एमसिसीको सैद्धान्तिक छलफल हुँदासम्म व्याख्यात्मक टिप्पणी प्रस्तुत गरिएको थिएन।
सैद्धान्तिक छलफल सकिएपछि नयाँबानेश्वरको संसद भवन प्रांगणमै मन्त्रिपरिषद बैठक बस्यो। केही बेर मात्र बसेको बैठकले एमसिसीसँगै व्याख्यात्मक टिप्पणी राख्ने निर्णय गर्यो। उक्त टिप्पणी अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेबल गरे।
यसमा एमसिसीको पक्ष हुँदैमा नेपाल अमेरिकाको कुनै सामारिक, सैन्य गठबन्धनमा नरहनेदेखि अमेरिकी कानुन मान्न नेपाल बाध्य नभएका विषय समेटिएका छन्।
बाह्रबुँदे व्याख्यात्मक टिप्पणीको कानुनी हैसियत नभए पनि सांसदहरूले यो अमेरिकाले मान्नैपर्ने जिकिर बैठकमा गरे।
५) ५० करोड डलर हाम्रो हक हो: खनाल
नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकाले नेपाललाई दिन लागेको ५० करोड डलर नेपालको हक भएको दाबी गरे।
उनले संयुक्त राष्ट्रसंघले पास गरेको सिद्धान्तअनुसार धनी देशले गरिब देशलाई ०.७ प्रतिशत आर्थिक सहायता दिनुपर्ने भएकाले ५० करोड डलर नेपालले अमेरिकाबाट प्राप्त गर्न लगेको बताए। उनले ५० करोड होइन, १ अर्ब डलर दिए पनि लिने तर सर्त राख्न नहुने टिप्पणी गरे।
६) गगन थापाको जोडदार समर्थन
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले नेपाली नेताहरूमा एमसिसीको समर्थन गर्दा हिनताबोध देखिएको टिप्पणी गरे। उनले एमसिसीबाट तलमाथि भए हामी जिम्मेवारी हुन्छौं भन्नुको साटो नेताहरूले मान्छे उचाल्ने काम गरेको बताए।
सैद्धान्तिक छलफलपछि दफावार छलफलमा समेत गगनले संसदमा भएका सबै दलका नेताहरू एमसिसीको निर्णय प्रक्रियामा सामेल भएको उल्लेख गरे। उनले अमेरिकाले 'इन्डो प्यासेफिक' को अंग होइन भन्दा पनि नेपाली सांसदहरूले संसदमा 'हो' भनेर टिप्पणी गरेकोमा व्यंग्य कसे।
थापाले एमसिसीका कारण अमेरिकी सेना आयो र राष्ट्रघाती कदम पुष्टि भयो भने आफूलाई चारपाटा मुडेर थानकोट कटाए हुने बताए। तर यो परियोजनाको कार्यान्वयन अवधि पाँच वर्षसम्म अमेरिकी सेना नआएको अवस्थामा त्यस्तै भोग्न अन्य सांसदहरू तयार हो भन्दै उनले चुनौती दिए।
'नक्कली राष्ट्रवादीहरू मान्छे मार्न तयार हुन्छन्। देशभक्तहरू आफैं सजाय भोग्न तयार हुन्छन्,' उनले भने।
७) लाज ढाक्ने धोती, गठबन्धनको समाधान
एमसिसीमाथि छलफल क्रममा माओवादी केन्द्रका सांसद मातृका यादवले व्याख्यात्मक टिप्पणी लाज छोप्न ल्याइएको भन्दै कतिपय सांसदले गरेको टिप्पणीको बचाऊ गरे।
'मधेशमा हामी लाज छोप्न धोती लगाउँछौं,' यादवले भने, 'कतिपय सांसद नांगै हिँडौं भन्नुहुन्छ भने के भन्ने!'
नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसिसीमा ल्याइएको व्याख्यात्मक टिप्पणीलाई गठबन्धनको झन्झटबाट मुक्तिको उपायका रूपमा व्याख्या गरे। 'यसबाट हामीले गठबन्धनको समस्या समाधान गर्यौं,' रिजालले भने, 'गठबन्धन हो, सबैको इज्जत जोगाउनुपर्छ।'
कांग्रेसकै अर्का सांसद मीनबहादुर विश्वकर्माले बजारको हल्ला हेर्दा ऋणमा रमाउने र अनुदानमा विरोध हुने अवस्था आएको उल्लेख गरे।
'ऋणमा रमाउने र अनुदानमा ढुंगा हानेर विरोध गर्ने,' विश्वकर्माले सांसदहरूलाई व्यंग्य कस्दै भने, 'सी ओ डब्ल्यू काउ, काउ माने गधा भनेर भ्रमपूर्ण कुरा गरिए।'
८) विपक्षमा उभिने सांसदहरू
एकीकृत समाजवादीका सांसद झलनाथ खनालले एमसिसीको विपक्षमा मतदान गरे। नेकपा माओवादी केन्द्रका सांसदहरू गिरिराजमणी पोखरेल र अञ्जना विशंखेले पनि विपक्षमा मतदान गरे।
एमसिसीको मतदानमा माओवादी केन्द्रका पूर्वसभामुख कृष्णबहादुर महरा अनुपस्थित देखिए।
एमाले सांसद भीम रावलले पनि विपक्षमा मत दिए। तर प्रतिनिधिसभाको सामान्य बहुमत आवश्यक हुने एमसिसीको निर्णय ध्वनिमतबाट गरिएका कारण को पक्षमा उभिए र को विपक्षमा उभिए भन्ने दर्ज भएन।
९) एमसिसी पारित हुँदा कांग्रेस खुसी, माओवादी दु:खी
एमसिसी पारित भएपछि नेपाली कांग्रेसका सांसदहरूले टेबल ठोके। उनीहरू एमसिसी पास हुँदा खुसी देखिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वसभामुख ओनसरी घर्तीले पनि टेबल ठोकेर समर्थन जनाए।
माओवादीका अधिकांश सांसदहरूले एमसिसी पारित गर्दा न हुन्छ भनेर बोले न त पारित हुँदा टेबल ठोकेर समर्थन नै गरे। उनीहरूमा मन नपरी नपरी पास गर्नुपरेको भाव देखिन्थ्यो।
१०) एमसिसी पास भएपछि पनि एमाले मौन
प्रतिनिधिसभाबाट एमसिसी पारित भएपछि पत्रकारहरूले एमाले प्रमुख सचेतक विशाल भट्टराईसँग प्रतिक्रिया मागे।
एमसिसीबारे केही समययता अनिर्णित रहेको एमालेले सत्ता गठबन्धनले आफ्नो अवस्था प्रस्ट गरेपछि मात्र बोल्ने बताएको थियो। तर एमसिसी पास भएपछि पनि एमालेले न त एमसिसी ठिक छ भन्यो न त गलत छ भन्यो।
एमाले प्रमुख सचेतक भट्टराईले बरू आफूहरूलाई प्रक्रियामा सहभागी हुन नदिइएको टिप्पणी गरे।