कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने कार्यकालमा भए/गरेका कामबारे जानकारी गराएका छन्।
सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्नो यो कार्यकायलमा र प्रदेश सरकारले अहिलेसम्म गरेका केही उपलब्धीका बारेमा जनकारी गराएका हुन्।
शाही मुख्यमन्त्री बनेको सोमबार चार महिना पुगेको छ। यो अवधिमा मुख्यतया सुशासन, सेवा प्रवाहमा प्रभाकारिता, अवरुद्ध विकास योजनाको दृढतापूर्वक कार्यान्वयन, कोरोना महामारी रोकथाम तथा नियन्त्रण, प्रदेश राजधानीको भौतिक संरचना सुदृढिकरणलगायतका विषयहरुलाई प्राथमिकतामा राखेर आफू नेतृत्वको सरकारले काम गरेको उनले बताए।
प्रदेशसभा सञ्चालन, आर्थिक अनुशासन एवम् सुशासन र सेवा प्रवाह, पूर्वाधार निर्माणको प्रभावकारी कार्यान्वयन, राजधानी वीरेन्द्रनगरको भौतिक संरचनाहरुको सुदृढिकरण, अधुरा योजनाको अवस्था सुधार एवम् सञ्चालन, आर्थिक समृद्धि एवम् रोजगारी, कर्मचारी व्यवस्थापन एवम् परिचालन जस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए।
यस्तै नियमित अनुगमन, प्रदेश विशेष कार्यक्रम, विपद् व्यस्थापन, राहत तथा उद्दार कार्य, स्वास्थ्य संस्थाहरुको सवलीकरण, आधारभूत स्वास्थ्य सेवा, कोभिड प्रतिकार्य एवम् रोकथाम र खोप, प्रदेश गौरवको योजना कार्यान्वयन हालसम्मका आफू नेतृत्वको सरकारको उपलब्धी भएको उनले बताए।
उनका अनुसार प्रदेश सभको दशौं बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग भएको सम्झौता अनुसार १५ लाखभन्दा मुनिका टुक्रे योजनाहरुको कार्यान्वयनमा प्रदेश सरकारले रोक लगाएको छ।
सहमति अनुसार नै जिल्लास्थित कार्यालयहरुमा निकासा भइसकेको १५ लाख मुनिका योजनाबाट समेत ८३ करोड ७८ लाख ८४ हजार रुपैयाँ फिर्ता ल्याईएको छ। यस्ता अरू सम्भाव्य योजनाको अध्ययन भईरहेको मुख्यमन्त्री शाहीले बताए।
आफ्नो कार्यकालमा मन्त्रिपरिषदको वैठकलाई व्यवस्थित गरिएको उनले बताए। प्रत्येक हप्ताको बुधबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने, बैठक बस्नु २४ घण्टा अघि प्रस्तावहरु पेश गर्नुपर्ने प्रणालीको विकास गरिएको बताए।
आफ्नो कार्यकालमा १३ वटा मन्त्रिपरिषद बैठकबाट ३९ निर्णयहरु भएको र केही निर्णय कार्यान्वयन भईसकेको जानकारी मुख्यमन्त्री शाहीले दिए।
उनका अनुसार प्रदेश मन्त्रालय र मातहत कार्यालयहरुको वित्तिय सुशासन मूल्याङ्कन गर्ने कार्यको थालनी गरिएको छ। जसका लागि कर्णाली प्रदेश वित्तिय जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरिएको छ।
सोही कार्यविधिअन्तर्गत रही कर्णाली प्रदेश बेरूजु व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएर प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बरुजु व्यवस्थापनको कार्य समेत सुरु गरिएको मुख्यमन्त्री शाहीले बताए।
मुख्यमन्त्री शाहीले तयार पारेको प्रगति प्रतिवेदनअनुसार सडक पूर्वाधार तथा भौतिक संरचनातर्फ पछिल्लो चार महिनामा प्रदेशभित्रको ६.७ किलोमिटर सडक कालोपत्रे गरिएको छ। १९४.५ किलोमिटर सडकको नयाँ ट्याक खोलिएको छ भने २३.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ।
यस्तै २ वटा सडक पुल र १ वटा झोलुङ्गे पुलको निर्माण पनि यो अवधिमा भएका छन्। जनता आवास कार्यक्रममार्फत ७७८ घर निर्माण भएका छन्।
यस्तै ‘एक स्थानीय तह एक विद्यालय’ भौतिक संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ। उर्जा खानेपानी तथा सिँचाईतर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सर्शत अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १ हजार ५५ योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन्। यस्तै पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० वटा जिल्लामा ५५३ वटा कार्यक्रमहरु कार्यान्वयनमा रहेका छन्।
यस्तै कृषकहरुको उत्पादन खपत तथा बजारीकरणको लागि सुर्खेतको दशरथपुरमा १५ करोड रुपैयाँ लागतमा कोल्डस्टोरेज निर्माणको प्रक्रिया अघि बढेको छ भने सुर्खेत विमानस्थलको हाताभित्र कर्णालीका कर्णाली सौगात गृह सञ्चालनमा ल्याइएको मुख्यमन्त्री शाहीले बताए।
यस्तै प्रदेश सरकारको लगानीमा सञ्चालनमा आएका र संघीय सरकारबाट हस्तान्तरित रुग्ण बनेका पूर्वाधार योजनाहरुको लगत संकलन गरी समस्या समधानका लागि प्रक्रिया अघि बढाइएको छ। निर्माण सम्पन्न भएर पनि भुक्तानी नहुने समस्या अन्त्य गरिएको उनले बताए।
कर्णाली प्रदेशको गौरवको योजनाको रुपमा रहेको प्रदेश रंगशाला निर्माणले गति लिनु प्रदेश सरकारको पछिल्लो उपलब्धीमध्ये एक भएको उनले बताए। उनका अनुसार रंगशालाको प्रदेश सरकारकातर्फबाट नियमित अनुगमन, निरीक्षण र आइपरेका समस्याहरुको समाधान भइरहेको छ।
बहुबर्षीय आयोजनाअन्तर्गत ‘एक निर्वाचन क्षेत्र, न्यूनतम एक बहुवर्षीय योजना’ सुनिश्चित गरिएको छ। क्षेत्रगत सन्तुलन मिलाई सल्यान, जुम्ला लगायतका जिल्लाको सडक पुल कार्यको बहुवर्षीय आयोजना अगाडि बढाइएको छ।
स्वास्थ्यतर्फ बन्द रहेका प्रदेशभरका आधारभूत स्वास्थ्य इकाईहरुको पुर्नस्थापना गरिएको मुख्यमन्त्री शाहीले बताए।
यस्तै स्वास्थ्य इकाईको दिगोपनाका लागि स्थानीय तहहरुले सञ्चालन एवम् व्यवस्थापन गर्ने व्यवस्था मिलाईएको छ। प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य कार्यालय दैलेख, जाजरकोट, सल्यान र जुम्लामा तत्काल एम्बुलेन्स खरिदका लागि सम्बन्धित निकायमा बजेट हस्तान्तरण गरिएको छ।
कर्णाली प्रदेशमा खोपको प्रभाकारिता बढ्दै गएको उनले बताए। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण कामहरु भएको दावी मुख्यमन्त्री शाहीले गरे।
हालसम्म कर्णालीमा १८ वर्षमाथिका लक्षित जनसंख्याको पहिलो र दोस्रो मात्रा ६१ प्रतिशतले लगाएका छन्। कर्णालीको कुल जनसंख्याको ५१ प्रतिशत नागरिले पहिलो मात्रा र ४८ प्रतिशत नागरिकले दोस्रो मात्राको खोप लगाईसकेको तथ्याङ्क प्रदेश सरकारसँग छ।
१२–१७ वर्ष उमेर समूहका सबै लक्षित समूहले कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने कर्णालीमा ३२ हजारभन्दा धेरैले बुस्टर खोप लगाएका छन्।
विपद व्यवस्थापन, राहत, उद्दार तथा पुनस्र्थापनातर्फ मुगुको छायानाथरारा नगरपालिकाको गमगढीमा भएको आगलागी पीडितहरुका लागि प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मुगुमार्फत ६१ लाख ८५ हजार रुपैयाँ राहतस्वरुप वितरण गरेको छ।
यस्तै मुगुको गमगढीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलबध गराइएको मुख्यमन्त्री शाहीले बताए।
कर्णाली प्रदेशको राजधानीको पूर्वाधार विकासमा पनि प्रदेश सरकार विशेष ध्यान दिएर लागेको मुख्यमन्त्री शाहीले बताए। अधुुरा सडक आयोजनाहरु सुचारु, सडकहरु स्तरोन्नति, अधुरा योजनाहरुको चैत मसान्तसम्म म्याद थप, काँक्रेबिहार–लाटीकोइली सडक, भैरवस्थान–रत्नराजमार्ग जोड्ने सडकसहित उपत्यकाभित्रका २१ वटा अधुरा सडक निर्माणले गति लिएको उनले बताए।
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारको ५३.५५ प्रतिशत (३२ करोड १३ लाख) राजश्व संकलन भएको छ।
वित्तीय खर्चतर्फ कर्णाली प्रदेश सरकारले यो आर्थिक बर्षको हालसम्म चालूतर्फ १८.७० प्रतिशत बजेट खर्च गरेको छ। हालसम्म पुँजीगततर्फ ९.२४ प्रतिशत बजेट खर्च भएको छ।