गत बिहीबार बिहान छिमेकी युक्रेनमाथि आक्रमण घोषणा गर्दा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सायद सोचेका थिएनन्, दुनियाँ यति जेलिएको छ भनेर।
विश्वव्यापिकरणको युगमा पनि उनले दशकौं वर्षअघि सेना पठाएर अर्को देश कब्जा गर्ने योजनासहित युद्ध थाले। रूसी सेनाले युक्रेनमा लडाइँ थालेको एक साता नबित्दै रूस अहिले संसारबाट एक्लिएको छ। राजनीतिक रूपमा मात्र होइन आम रूसी नागरिकको जीवनमा पनि त्यसले गम्भीर असर पारेको छ।
रूसमाथि अमेरिका, युरोपियन युनियन र अरू शक्ति राष्ट्रले लगाएका सबैभन्दा दुई ठूला प्रतिबन्धहरू हुन् अन्तर्राष्ट्रिय स्तरमा कारोबार हुने बैंकिङ प्रणाली स्विफ्ट र उडान प्रतिबन्ध।
अहिले रूसको केन्द्रीय बैंकसहित केही बैंकले स्विफ्टबाट कारोबार गर्न पाउँदैनन्। संसारभरिका ११ हजार बढी बैंक र वित्तीय संस्थाले रकम पाउन/पठाउन स्विफ्टको प्रयोग गर्छन्। रूसका प्रमुख बैंकहरूले स्विफ्ट प्रयोग गर्न नपाउने भएपछि सोमबार रूसी मुद्रामा अमेरिकी डलरको तुलनामा ३० प्रतिशत गिरावट आएको छ। यसले आयात/निर्यात प्रभावित भएर रूसमा महंगी निकै बढ्ने अनुमान गरिएको छ।
लाखौं रूसीहरूलाई सोझै प्रभाव पार्ने अर्को प्रतिबन्ध रूसका धेरै एयरलाइन्सलाई युरोपका आकाशमा उडान प्रतिबन्ध लगाइएको छ। सक्नेहरूले अहिले पनि उपलब्ध एयरलाइन्समा महंगो पैसा तिरेर युरोपका मुलुक जाने टिकट किनिरहेका छन्। तर आममान्छेलाई यो निकै सकसको विषय बनेको छ।
यीबाहेक अन्य प्रतिबन्ध पनि रूसीहरूले सामना गरिरहनुपरेको छ। सोमबार विश्व फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक युइएफएले रूसलाई सबै अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको छ। रूसले विश्वकप छनौट खेल पनि खेल्न नपाउने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि विभिन्न खेलमा रूसी अधिकारी र खेलाडीलाई समावेश गरेको छैन। विश्व खेलकुदमा दशकौंपछि कुनै देश सबैतिर एक्लिएको यो पहिलो घटना हो।
दोस्रो विश्वयुद्धपछि जर्मनीले आफूलाई शान्तिवादी मुलुकका रूपमा प्रस्तुत गर्दै आएको थियो। रूसले युक्रेनमा आक्रमण गरेपछि भने उसले सात दशक लामो आफ्नो विदेश नीति बदल्दै युक्रेनलाई हतियार बेच्ने निर्णय गरेको छ। जर्मन चान्सलर ओलाफ स्कल्जले यसलाई नयाँ वास्तविकता भनेका छन्। युरोपियन युनियनले पहिलो पटक युक्रेनलाई हतियार दिने निर्णय गरेको छ।
उता अमेरिकाका विभिन्न राज्यहरूमा संसारभरि प्रख्यात रूसी भोड्काको बिक्री गर्न छोडिएको छ। रूसी आक्रमणको विरोधमा अमेरिकामा अरू रूसी सामानको बिक्री पनि रोकिएको छ।
रूसलाई एक्लाउन जारी प्रतिबन्धको सूची अझै लामो छ। यस्ता प्रतिबन्धहरू छुट्टाछुट्टै हेर्दा साना लाग्छन् तर सबै एकैसाथ हुँदा यिनको ठूलो प्रभाव देखिन्छ।
तर सबै मुलुक रूसलाई एक्ल्याउन भने लागेका छैनन्। संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनले युक्रेनमाथि गरिएको रूसी आक्रमणको विरोध गरेको छैन। असंलग्न परराष्ट्र नीति अपनाएको चीनले कुनै पनि मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डताको सबैले सम्मान गर्नुपर्ने बताउँदै आएको थियो। रूसले युक्रेनमाथि आक्रमण गर्दा भने चीनले यो विषयको निकै जटिल इतिहास भएको प्रतिक्रिया दिएको छ।
संसारकै दोस्रो ठूलो जनसंख्या भएको भारतले पनि रूसी आक्रमणको विरोध गरेको छैन। ल्याटिन अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले पनि यो विषयमा आफ्नो मुलुक तटस्थ बस्ने बताएका छन्। सिरियाका शासक बसर अल असदले त रूसी आक्रमणको इतिहासलाई सच्याउने कदम भएको बताएका छन्।
युक्रेन युद्धमा पुटिनले गरेका तीन गल्ती
रूसले युक्रेनमाथि गरेको आक्रमण योजनाअनुसार अघि बढेको छैन।
युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी सुरक्षाकर्मीले रूसीहरूले गरेको ठूलो आक्रमणलाई निस्तेज पारिदिएका छन्।
दक्षिणमा भ्लादिमिर पुटिनका सैनिकहरूले केही भू-भाग त कब्जा गरेका छन् तर उनीहरू युक्रेनी सहरमा पसेका छैनन्।
राजधानी किएभ आसपासमा सुरक्षाकर्मीले थुप्रै आक्रमणको प्रतिरोध गरेका छन्। किएभमा त राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नै प्रतिरोधका प्रतीक बनेका छन्। पुटिनले आफ्नो सम्बोधनमा जेलेन्स्कीलाई ‘ड्रग एडिक्ट’ र नाजीका रूपमा व्याख्या गरेका थिए तर जेलेन्स्कीले साहसी र राष्ट्रवादी राष्ट्र प्रमुखको भूमिका निभाइरहेका छन्।
रूसले युक्रेनमाथि आक्रमण गरेको एक साता बितेको छैन। पुटिनले अझै पनि किएभलगायत युक्रेनी सहरलाई घेर्न थप सुरक्षाकर्मी पठाउन सक्छन्। त्यसो हुँदा नागरिकका साथै दुबै पक्षका सैनिकमा ठूलो हताहती हुन सक्छ।
पुटिनले अझै पनि यो लडाइँ जित्न सक्छन् र रूसी जातिको उद्गमस्थल किएभमा आफूले चाहेजस्तो सरकार बनाउन सक्छन्। तर फराकिलो हिसाबले हेर्ने हो भने जतिबेला उनले यस्तो युद्ध घोषणा गर्नेछन् त्यतिञ्जेलसम्म उनले युद्ध हारिसकेका हुनेछन्।
जति पनि युक्रेनी सहरमा पुटिनका सेनाले आक्रमण गरेका छन् त्यहाँका वासिन्दामा राष्ट्रवादी भावना झन् मजबुद् भएको छ। अब कसैले पनि पुटिनको नाममा आफूमाथि गर्ने शासनलाई उनीहरूले मान्यता दिने छैनन्।
संसारभरि उनी अझै धेरै कलंकित बन्नेछन्। रूसभित्रै उनले प्रतिबन्धले थिचिएको र उनको दमनकारी शासनले दबिएको समाजलाई चलाउनु पर्ने छ।
अहिले नै रूसी कुलीन वर्ग उनको दुस्साहसबाट त्रसित छ। युक्रेनविरूद्धको उनको कदम जति नराम्रो हुँदै जान्छ त्यति नै छिटो उनको शासनमा चिराहरू देखिन थाल्छन् र रूसीहरू सडकमा उत्रिन्छन्। यस्तो बेलामा पुटिनले क्रेमलिनमै बस्ने हो भने रूसले दशकौंदेखि नदेखेको त्रास जनतामा लाद्नुपर्ने हुन्छ।
यो युद्धमा पुटिनले गरेको पहिलो गल्ती उनले आफ्नो शत्रुलाई कम आके। सायद उनले युक्रेन कुनै मुलुक होइन सिआइएले बनाइदिएको र फटाहाहरूले शासन गरिरहेको ठाउँ हो भन्ने आफ्नै प्रोपोगान्डालाई विश्वास गरे।
यदि रूसी सैनिकको पहिलो आक्रमणमै युक्रेन विघटन हुन्छ भन्ने ठान्छन् भने यसमा उनी गलत हुनेछन्।
पुटिनले गरेको अर्को गल्ती उनले आफ्ना सुरक्षाको व्यवस्थापन राम्ररी गर्न सकेनन्। रूसी सुरक्षा बल अहिलेसम्म युक्रेनको आकाशमा दबदबा राख्न असफल भएका छन्। पुटिनले अहिले आफ्ना नागरिकलाई हामी युद्धमा गएका छैनौं अनाजिकरणको कारबाही मात्रै गरिरहेका छौं भनेर आश्वस्त पार्न निकै मेहनत गरेका छन्। आफूले के गरिरहेका छौं भन्ने थाहा नपाएका रूसी सैनिक मुक्ति सेनाको रूपमा आफ्नो स्वागत हुने ठानेर युक्रेनतिर अघि बढेका थिए। पुटिनले युक्रेनमा जति युक्रेनी मर्छन्/मर्छन् भनेर पठाए भने त्यहीअनुसार गर्न रूसी सैनिक नमान्न सक्छन् किनकी रूसी सैनिकका आफन्त, नातागोता युक्रेनमा छन्। युक्रेनी सहरहरू कब्जा गर्दा थुप्रै रूसी सैनिकहरू मारिए भने केही भएको छैन भनेर पुटिनले लुकाउन सक्ने छैनन्।
पुटिनले गरेको तेस्रो गल्ती हो, उनले पश्चिमाहरूलाई कम आके। पश्चिमाहरूले आफ्नो कदमको एकीकृत जवाफ दिन कठिन हुनेछ भन्ने उनले ठाने। नागरिकको प्रजातन्त्रप्रति साँच्चै आस्था हुन्छ भन्ने बुझ्न कठिन हुने तानाशाही शैलीमा शासन चलाइरहेका उनलाई युक्रेनका पक्षमा लण्डनदेखि बर्लिनसम्म भएका प्रदर्शनले अचम्मित पार्यो।
रूसविरूद्ध लड्ने युक्रेनीको साहस र आफ्नै नागरिकको समर्थनले पश्चिमा सरकारहरूले अन्तिममा रूसलाई जवाफ दिने योजना बनाए। उनीहरूले रूसविरूद्ध सोझै सैन्य कारबाही गर्ने वा सो सरहको युक्रेनमा रूसी जहाजलाई उड्न प्रतिबन्ध नलगाएर आर्थिक प्रतिबन्ध लगाउने रणनीति अपनाए। फेब्रुअरी २६ मा उनीहरू रूसी केन्द्रीय बैंक र आर्थिक प्रणालीमा कडा प्रतिबन्ध लगाउन सहमत भए। यी प्रतिबन्धले रूसको विदेशी सञ्चितिलाई ब्लक गर्नुका साथै रूसी बैंकलाई कमजोर बनाउने छन्।
प्रतिबन्धको अर्को दिन नै रूसले आक्रामक प्रतिक्रिया दिएको छ। पुटिनले सैनिक प्रमुखसँग छलफल गरेर देशको आणविक हतियारसँग सम्बन्धित सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन भनेका छन्। अर्थात् पश्चिमाले लगाएको आर्थिक नाकाबन्दीलाई पुटिनले आणविक युद्धसँग तुलना गरेका छन्।
आणविक शक्ति प्रयोग गर्न सक्छु भन्ने पुटिनको कदम नैतिक रूपले गलत मात्रै छैन यसले यो द्वन्द्व धेरै बढ्ने देखाउँछ। यसको अर्थ यो होइन कि पश्चिमाहरूले आर्थिक प्रतिबन्ध लगाउनु गलत थियो। पुटिनको आक्रामकता नै उनी कति खतरनाक छन् भन्ने प्रमाण हो। उनीसँग डराएर पछि हट्यो भने अझ ठूलो खतरालाई निम्तो दिएसरह हुन्छ।
रूसको यो चेतावनीलाई भारत र चीनसहित सबै आणविक शक्ति राष्ट्रहरूले संयुक्त राष्ट्रको सुरक्षा परिषदमा आणविक त्रास अस्वीकार्य हुने घोषणा गरेर जवाफ दिनुपर्छ। सँगै उच्च अमेरिकी अधिकारीहरू आफ्ना रूसी समकक्षीको निकट सम्पर्कमा रहनुपर्छ र उनीहरूलाई भन्नुपर्छ कि उनीहरूका हरेक कदममा उनीहरूलाई व्यक्तिगत रूपमा जवाफदेही बनाइने छ।
पुटिनले गर्ने अर्को गल्ती विश्वले थेग्न सक्दैन।
(द इकोनोमिस्टमा प्रकाशित सामग्रीको भावानुवाद)