त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गत आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापक दुई सातादेखि आन्दोलनमा छन्।
त्रिविमा उपकुलपति, रजिष्ट्रार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा र प्रशासन कार्यालयमा आन्दोलनरत आंशिक प्राध्यापकले ताला लगाएका छन्।
त्रिवि र ६१ आंगिक क्याम्पसमा गरेर दुई हजार हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन्।
‘हाम्रो माग समान कामका लागि समान ज्याला भन्ने मात्रै हो,’ आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका केन्द्रीय सहअध्यक्ष राजेन्द्र आचार्यले सेतोपाटीसँग भने, ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्न तालाबन्दी गरेका हौं, विश्वविद्यालय बन्द गरिराख्ने नियत हाम्रो होइन।’
विद्यार्थीका परीक्षा र पठनपाठनलाई अवरूद्ध गर्ने गरी आफूहरूले आन्दोलन नगरेको पनि उनले बताए। आंशिक प्राध्यापकका समस्या सुनुवाइ गर्न अहिले त्रिविले खासै चासो नदेखाएको उनी बताउँछन्।
‘पटक-पटक आंशिक प्राध्यापकले आन्दोलन गरिआएका छन्। त्रिविले सम्झौता पनि गर्दै आएको थियो,’ उनले भने, ‘उपकुलपतिलगायत त्रिवि पदाधिकारी सम्पर्कविहीन हुनुहुन्छ, हाम्रा मागमा छलफल भएका छैनन्।’
त्रिविमा वर्षौंदेखि आंशिक प्राध्यापकका समस्या सुल्झिएका छैनन्। समस्या समाधान गर्न पटक-पटक त्रिविले सम्झौता गरे पनि कार्यान्वयन नगरेको आरोप छ।
‘विगतमा आंशिक प्राध्यापकसँग धेरै सम्झौता गरिए तर कार्यान्वयन हुन सकेन,’ आचार्यले भने, ‘समान काम गर्दा स्थायी प्राध्यापकले मासिक तलब पाउने उही कोर्स पढाउने र उत्तिकै काम गर्ने आंशिक प्राध्यापकले दैनिक ज्यालादारी मात्रै पाउने? यो विभेद हटाउनु पर्छ।’
त्रिविमा १५/२० वर्षदेखि आंशिक प्राध्यापक कार्यरत छन्। सँगै काममा प्रवेश गरेकाहरू कोही स्थायी भएर निवृत्तिभरण लिने बेलामा पुगेका छन् भने कोही आंशिक प्राध्यापक नै छन्।
'आंशिक प्राध्यापकले स्वत: स्थायीको माग पनि राखेका छैनन्। बरू त्रिवि सेवा आयोगबाट परीक्षा दिन तयार छन्,’ आचार्यले भने।
त्रिविले १५ वर्षअघि पहिलो पटक २०६३ मा आंशिक प्राध्यापकसँग समस्या समाधान गर्ने गरी सम्झौता गरेको थियो। त्यो सम्झौता कार्यान्वयनमा नजाँदा ०६५ मा तीन वटा सम्झौता गरिएका थिए।
शिक्षा मन्त्री, शिक्षा सचिव, त्रिवि पदाधिकारी लगायतसँग आंशिक प्राध्यापकले पटक-पटक समस्या समाधान गर्न सम्झौता गरे पनि आंशिकका माग ज्युँकात्युँ छन्।
यसबीचमा ०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक हजार चार सय २० दरबन्दी थप गरिएको थियो। त्रिवि र आंगिक क्याम्पसमा आवश्यकताअनुसार दरबन्दीमा प्राध्यापक नहुँदा आंशिक प्राध्यापक राखेर पठनपाठन गर्नुपरेको छ।
दैनिक ज्यालादारी (पढाएको दिनको मात्रै पैसा आउने) बाट मासिक ज्यालादारी (मासिक तलब पाइने) व्यवस्था गर्न आंशिक प्राध्यापकहरूले माग गरेका छन्। एक आंशिक प्राध्यापकले दिनमा कम्तीमा एकदेखि तीन/चार पिरिएडसम्म पढाउने गरेका छन्।
उनीहरूलाई प्रतिपिरिएड पाँच सय ९० रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ।
‘आंशिक प्राध्यापकको माग पटक-पटक छलफल गरेर सुनुवाइ गर्न खोजिएको हो। पारिश्रमिक पनि पहिलेभन्दा दोब्बर बनाउँदै प्रतिपिरिएड ५९० पुर्याइएको छ,’ त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले भने, ‘एक पिरियड पढाउनेलाई पनि मासिक तलब दिने पाँच पिरिएड पढाउनेलाई पनि मासिक तलब दिने त गर्न सकिन्न।’
आंशिक प्राध्यापक राखेका क्याम्पसलाई सकेसम्म मासिक पारिश्रमिक दिने गरी व्यवस्थापन मिलाउन त्रिविले यसअघि नै निर्देशन दिएको पनि भुसालले बताए।
‘सकेसम्म मासिक तलब दिने गरी आंशिक प्राध्यापक राख्नु भनेर भनिरहेका छौं तर उहाँहरूले मानिरहनुभएको छैन,’ उनले भने, ‘क्याम्पस प्रमुखहरूले नै मासिक ज्यालादारी दिन रोकेको हो।’
कोर्सको जिम्मा लिने आंशिक प्राध्यापकलाई कोर्सकै करार गरिने गरेको पनि बताए।
‘दिनमा पाँच/छ पिरियड पढाउँछन् र क्याम्पसमा फुल टाइम बस्छन् भने तिनीहरूलाई मासिक पारिश्रमिक दिने व्यवस्था गर्न हामीले भनिसकेका छौं,’ भुसालले भने।
आवश्यकताअनुसार प्राध्यापकहरूको दरबन्दी नहुँदा आंशिक प्राध्यापक लिनु परेको र त्रिवि सेवा आयोगबाट पनि नियमित पदपूर्ति नहुँदा यस्ता समस्या दोहोरिने गरेको भुसालले बताए।
‘दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजाँदा पनि सिनियर (१५/२० वर्ष काम गरेकाहरू) को पालो पहिले आउने र हालै नियुक्त भएकाहरूको पालो नआउँदा पनि आन्दोलन भएको हुन सक्छ,’ उनले भने, ‘पुरानाको पालो छिटो आउँदो हो अनि नयाँ साथीहरूले विरोध गर्नुभएको हुन सक्छ।’
त्रिविमा प्राध्यापकहरू राख्नका लागि सेवा आयोगले विज्ञापन खोल्दा आंशिक प्राध्यापकले परीक्षा नदिएको पाइएको पनि उनले दाबी गरे। ‘केही वर्ष सेवा आयोगबाट नियमित जनशक्ति आपूर्ति भएन त्यसैले गर्दा यो समस्या आइपर्यो,’ उनले भने।