रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको शुक्रबार नौ दिन पुगेको छ। यी नौ दिनमा रूसी सेनाले एउटा शहर कब्जा गरेका छन् भने राजधानी किएभ घेरेका छन्।
बुधबार रूसी रक्षा मन्त्रालयले आफ्ना ४९८ जना सैनिक मारिएको स्वीकारेको थियो। युक्रेनले भने रूसका ७ हजार बढी सैनिक मारिएको दाबी गरेको छ।
युद्धका बेला दुबै पक्षले आफूअनुकूल हुने गरी गर्ने दाबीको स्वतन्त्र पुष्टी गर्न कठिन हुन्छ। एउटा कुराचाहिँ के सत्य हो भने युक्रेनी सेनाले नसोचेको तरिकाले रूसी आक्रमणको प्रतिरोध गरिरहेको छ।
विश्वकै शक्तिशालीमध्येको रूसी सेनाको आक्रमण तुलनात्मक रूपमा कमजोर युक्रेनी सेनाले जसरी थेगिरहेको छ त्यसले यो क्षेत्रका विश्लेषकलाई पनि अचम्ममा पारेको छ।
केही दिनअघि दक्षिण युक्रेनमा रूसी सैनिक सहरमा पस्न नसकून् भनेर एक जना युक्रेनी सैनिकले आफैं पुलमा बसेर बिस्फोट गरेका थिए। युक्रेनी सेनाका पाइलट र एयर डिफेन्स सिस्टमले आकाशमा रूसी सेनाका लडाकु जहाजलाई टक्कर दिइरहेका छन्।
रूसी सैनिकलाई रोक्न युक्रेनी सेनाले गोलीचलाउने बाहेक अरू धेरै उपाय लगाएको छ। प्रतिभाशाली साइबरयुद्धमा कुशल युक्रेनीहरूले देशभित्र र बाहिरी संसारबाट समर्थन जुटाउने सामग्री प्रसारणमा मस्कोलाई पछि पारेका छन्।
राजधानी किएभलाई लक्षित गरेर आएको ६५ किलोमिटर लामो रूसी सैनिक गाडीको लावालस्करलाई युक्रेनी सेनाले किएभबाट २५ किलोमिटर पर रोकेका छन्। लावालस्करमा अघि रहेका गाडीमा उनीहरूले पश्चिमाले दिएका ज्याभेलिन एन्टिट्यांक मिसाइल प्रयोग गरेर आक्रमण गरेका छन्।
यो पनि पढ्नुस्:
अहिले रूसी आक्रमणको एक सातामात्रै बितेको छ। दक्षिणमा पर्ने रणनीतिक महत्वको सहर खेर्सन रूसी कब्जामा परेको छ। रूसी सैनिकहरूले राजधानी किएभसहित विभिन्न सहरमा गोलाबारी गरिरहेका छन्। पश्चिमाहरूले धमाधम हतियार दिए पनि युक्रेन नेताहरूले रूसी ट्यांक र लडाकु जहाजलाई ध्वस्त पार्न अझै हतियार चाहिने बताउँदै आएका छन्।
रूसी आक्रमणमा सर्वसाधारण युक्रेनी मारिएको कुरा सार्वजनिक गरिरहेको युक्रेन सरकारले युद्धभूमिमा भएको क्षतिबारे जानकारी दिएको छैन।
अमेरिकी सेनाको जोइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क ए मिलेले युद्ध मैदानमा युक्रेनी सैनिकले आफ्नो भूमिको जानकारीका आधारमा प्रभावकारी मोबाइल डिफेन्सको तरिका अपनाइरहेको बताए।
‘उनीहरू असाधारण सीप र साहसले रूसी सैनिकविरूद्ध लडिरहेका छन्,’ जनरल मिलेले बिहीबार भने।
अमेरिकी अधिकारीहरू युक्रेनी सैनिकको पराक्रम देखेर प्रभावित भएका छन् तर रूसी सैनिकको क्षमता र स्तर परिवर्तन नभएको पनि उनीहरूले बताएका छन्।
युक्रेनी फौज रूसी आक्रमणलाई सुस्त बनाउन सफल देखिएको छ तर उसले यसलाई रोक्न भने सक्दैन न त यो प्रतिरोधले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य नै फेर्न सक्छ। केही समयपछि रूसी आक्रमण रोक्न युक्रेनी फौजलाई कठिन हुने अमेरिकी अधिकारीको भनाइ छ।
ध्यान दिनुपर्ने एउटा कुरा के छ भने युक्रेनीहरूले देश नै हतियारमय बनाइरहेका छन्। आममानिसहरू हतियार बोकेर युद्धमा होमिएका छन्।
‘लडाइँका बेला जहिले पनि पहिला सोचेभन्दा फरक कुरा हुन्छ। जुन पक्षले छिटो सिक्छ र त्यहीअनुसार आफूलाई फटाफट बदल्छ उसैले जित्छ,’ युरोपमा काम गरेका पूर्व अमेरिकी सैनिक कमाण्डर फेड्रिक बी. हजले भने,‘अहिलेसम्म युक्रेनले चाँडो सिकेको छ र आफूलाई बदलेको छ।’
युक्रेनको सैनिक युरोपको ठूलोमध्येकै हो। त्यहाँ १ लाख ७० हजार नियमित ड्युटी गर्ने सैनिक छन् भने १ लाख जनाको रिजर्भ र भूमि रक्षा बल छ। त्यसमा १ लाख जति भेटरान छन्। अहिले हजारौं मानिस रूसविरूद्ध लड्न भर्ती भएका छन्।
सन् २०१४ मा रूसले क्रिमिया प्रायद्वीप कब्जा गरेपछि थप अतिक्रमण हुन सक्ने भन्दै युक्रेनी सैनिकले तालिम गरिरहेका थिए। डोनबास क्षेत्रमा उनीहरू पृथकतावादीसँग लडिरहेका थिए। यी युद्ध लडेका भेटरान्सहरूलाई रूसीहरूसँग कसरी लड्ने भन्ने थाहा छ।
अमेरिकाको युएस स्पेशल अपरेसन फोर्सले पनि युक्रेनी सैनिकलाई तालिम दिएको छ। परम्परागत तालिम गरेका युक्रेनी सैनिकलाई अमेरिकीले दिएको तालिमले पनि अहिले युद्ध मैदानमा सजिलो भएको अमेरिकी विश्लेषकको भनाइ छ।
सन् २०१४ पछि अमेरिकाले मात्रै युक्रेनमा ३ अर्ब डलर बराबरको हतियार र अन्य सैन्य सामग्री पठाएको छ। यो बीचमा वरिष्ठ अमेरिकी सैन्य अधिकारीसहितको टोलीले २७ हजार युक्रेनी सैनिकलाई तालिम दिएका छन्।
धेरैतिरबाट गरिने अतिक्रमणमा आक्रमण गर्नुभन्दा प्रतिरोध गर्न सजिलो हुन्छ। अहिले युक्रेनीहरूले स-सानो समूहमा जाने रूसी सैनिकको निर्णयको फाइदा उठाएको देखिन्छ। कतिपय ठाउँमा रूसी सेनाका दुई बटालियनमात्रै आक्रमण गर्न गएका छन्।
युक्रेनी फौज अहिले दक्षिणभन्दा उत्तरका किएभ र खार्किभ सहरमा बढी सफल देखिएका छन्। किनकी दक्षिणमा क्रिमियामा राम्रो तालिमप्राप्त गरेका रूसी सैनिकहरू आएका छन्।
आउने दिनमा पुटिनले सैनिक थपेर आक्रमण बढाउने अमेरिकी अधिकारीहरूको बुझाइ छ। तर लडाइँमा मरिरहेका आफ्ना सैनिक, प्रतिबन्धले पार्ने असर र युक्रेनीहरूको निरन्तर प्रतिरोधले उनको त्यो रणनीतिलाई उल्ट्याउन पनि सक्छ।
(द न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीमा आधारित।)