तनहुँको राजनीति अन्यत्रभन्दा फरक छ। एक वर्षअघि दमौलीको बुल्दीखोला पुल उद्घाटनका विषयमा जस्तै आइतबार आगलागीको घटना नियन्त्रणमा पनि नेताहरूबीच जस लिने होडबाजी चलेको छ।
दमकलबाट मात्रै आगलागी नियन्त्रण सम्भव नभएपछि हेलिकप्टर मगाएको विषयमा जस लिने होडबाजी देखिएको हो।
गण्डकीका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा र ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले तनहुँबाटै निर्वाचित श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ हेलिकप्टरमा आउन खोजेपछि आधा घण्टा ढिलो भएको आरोप लगाएका छन्। यता, मन्त्री किसानले भने आफैंले हेलिकप्टर दमौली लगेर आगो निभाएको दाबी गरेका छन्।
आगलागी नियन्त्रण गर्न दमकलले मात्र सम्भव नहुने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाडसँग समन्वय गरेर हेलिकप्टर मगाएको मेयर न्यौपानेले बताए। हेलिकप्टर मगाएपछि मन्त्री किसान श्रेष्ठ पनि त्यही हेलिकप्टरमा जान्छु भनेकाले आधा घण्टा ढिलाई भएको उनको भनाई छ।
‘किसान मन्त्रीज्यु म पनि त्यही हेलिकप्टरमा जान्छु भन्नुभएछ, त्यही भएर आधा घण्टा ढिलो भयो,’ उनले भने, ‘प्रचारको दुनियाँमा के भन्नु, उहाँ आएर आगो निभ्ने त थिएन नि।’
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले पनि मेयर न्यौपानेलेझैं मन्त्रीकै कारण हेलिकप्टर आउन ढिलाई भएको बताएका छन्। आगलागी शुरू भएपछि पोखराबाट ३ वटा दमकल र पानी ट्याङ्कर पठाएको भन्दै उनले आगो निभाउन हेलिकप्टर नै चाहिने भएपछि आफूले समन्वय गरेको दाबी गरे।
‘आगलागी भएपछि पोखराबाट नियन्त्रण समाग्री पठाइयो, सबै सुरक्षा निकायलाई आगो निभाउन समन्वय गरेँ,’ दमौली नै घर भएका मन्त्री डोवाटेले भने, ‘यतिले मात्र हुँदैन भनेपछि मैले नै गृहमन्त्री र गृहसचिवलाई फोन गरेर हेलिकप्टर मगाएको हुँ।’
आगो नियन्त्रणमा ल्याउन कोही एक जनाले जस लिन भन्दा पनि सिंगो राज्य परिचालित भएकाले नियन्त्रण गर्न सकिएको उनले बताए। ‘हेलिकप्टर सरकारले पठाएको हो, त्यसमा श्रममन्त्रीले म पनि जान्छु भनेर ढिलो गर्नुभएछ,’ उनले दोहोर्याए।
यता, मन्त्री श्रेष्ठले आगलागीको घटना थाहा पाउने वित्तिकै गृहमन्त्री खाडलाई फोन गरेर हेलिकप्टरको व्यवस्था गरेर जान आग्रह गरेको बताए। ‘मैले गृहमन्त्रीलाई फोन गरेर तपाईँ पनि जाम् भनेको थिएँ, उहाँले तपाईँ मात्र गए हुन्छ भन्नुभयो,’ मन्त्री श्रेष्ठले भने, ‘मैले नै क्याप्टेन रामेश्वर थापालाई फोन गरेर हेलिकप्टर लिएर दमौली गएको हुँ।’
दमौलीको पुलमुनि मादी नदी किनारमा हेलिकप्टर ओरालेर १ मिनेट भित्रै पानी भरेर आगो निभाउन पठाएको मन्त्री श्रेष्ठले बताए।
आफ्नो कारण हेलिकप्टर आधा घण्टा ढिलो भएको आरोप गलत भएको उनले दाबी गरे।
‘म एयरपोर्ट पुग्दा हेलिकप्टरमा पानी राख्ने भाडा राखिँदै थियो,’ उनले भने, ‘मेरो कारणले नै मादी किनारमा हेलिकप्टर ओरालेर आगो नियन्त्रणमा पठाएको हो, नपत्याए पाइलटलाई सोध्नुस्।’
आगलागी भएका बेला पानी बोकेर खन्याउन सक्ने हेलिकप्टर सिम्रिक एयरसँग मात्र रहेको जानकारी आफूले पाएको मन्त्री श्रेष्ठले बताए। मादी किनारमा बसेर हेलिकप्टरमा पानी भर्न आफूले पनि सहयोग गरेको उनले दाबी गरे। २ घण्टासम्म हेलिकप्टरले पानी हालेपछि मात्र आगो नियन्त्रणमा आएको थियो।
तनहुँका केही राजनीतिकर्मीले फेसबुकमा मन्त्री श्रेष्ठको हेलिकप्टर चढ्ने मोहले आगो निण्न्त्रणमा ढिलाई भएको भनेर प्रचार गरिएको भन्दै उनले आपत्ति जनाए।
‘हेलिकप्टर म आफैं किनेर उड्न सक्ने किसान श्रेष्ठ हो बाबा, तनहुँ– १ को माननीय हुँ, गठबन्धन सरकारको श्रममन्त्री हुँ’ उनले भने, ‘कोही रोइलो गर्न जरुरी छैन, मलाई विपदमा घटिया राजनीति गर्नुछैन।’
यसअघि गत वर्ष मंसिरमा पनि तनहुँमा पुल उद्घाटनका विषयमा राजनीतिक खिचातानी भएको थियो। त्यतिबेला बुल्दी खोलामा निर्माण गरिएको पुल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने तयारी गरेपछि तत्कालीन नेकपाका नेता कार्यकर्ताले विरोध जनाएका थिए।
पुल उद्घाटनको विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन तनहुँ प्रहरीले कर्फ्यूसमेत लगाउनुपरेको थियो।
४ करोड क्षती अनुमान
दमौलीका स्थानीय व्यवसायी भुपाल रानाको ‘भुपाल हार्डवेयर’ बाट शुरु भएको आगलागी अन्य घरमा पनि फैलिएको थियो।
तनहुँ प्रहरीका अनुसार ११ वटा टहरा र ९ वटा पक्की घरमा आगलागीले क्षति पुर्याएको छ। आगलागी नियन्त्रण गर्न पोखराबाट ३ वटा, लमजुङ र चितवनबाट १/१ वटा दमकल लगिएको थियो। पोखराबाट झण्डै एक दर्जन पानी ट्याङ्करसमेत आगो निभाउन दमौली गएको थियो।
बिहान सवा दश बजे शुरु भएको आगो नियन्त्रणमा ल्याउन करिब ३ घण्टा लागेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिन भरमग्दुर प्रयास गरेको उनले बताए। आगलागीका कारण के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन। हार्डवेयरको गोदाममा रहेको प्लाइउडदेखि पाइप, इनामेल, रङ लगायत जलेकाले आगो निन्त्रण गर्न समस्या भएको थियो।
दमकलले मात्र आगो नियन्त्रण असम्भव भएपछि हेलिकप्टर मगाएको व्यास नगरका मेयर वैकुण्ठ न्यौपानेले बताए। आगलागीका कारण ज्वोती सप्लायर्स, बलाराम राना, होमबहादुर गुरूङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठ लगायतका घरहरुमा समेत क्षति पुगेको छ। कोठा भाडामा लिएर बस्नेहरुका सामाग्री जल्नुका साथै ग्याँस सिलिण्डर समेत पड्किएको मेयर न्यौपानेले बताए।
आगलागी पीडितसँगको प्रारम्भिक जानकारीका आधारमा करिब ४ करोडको क्षति भएको अनुमान नगरपालिकाले गरेको छ।
क्षतिको पूर्ण विवरण भने सोमबार मात्र आउने मेयर न्यौपानेले बताए। आगलागी नियन्त्रण गर्न दमकल जान नसक्ने ठाउँ भएको र घटनास्थलमा झुम्मिएका मानिसका भिडले पनि नियन्त्रणमा समस्या परेको उनले बताए।
‘आगलागीको फोटो र टिकटक खिच्न जात्रा लागेको थियो, भिडभाडले पनि समस्या भयो,’ न्यौपानेले भने, ‘आगलागी भएको ठाउँ घरहरुको पछाडि भएकाले दमकल पनि जान सकेन।’
उक्त घटनाबाट नगरपालिकाले पाठ सिक्ने न्यौपानेले बताएका छन्। ‘अब मानिसको आवास भएको ठाउँमा हार्डवेयरको गोदाम राख्ने कि नराख्ने भनेर व्यवसायीसँग छलफल गर्छौ,’ उनले भने, ‘यस्तो घटना दोहोरिन नदिन आवास भएको ठाउँमा ज्वलनशील पदार्थको गोदाम नराख्न आग्रह गर्छौ।’