भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन्।
सोमबार मोदीले राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन्।
उनले एक विज्ञप्ति जारी गर्दै दुई जनाबीच कुराकानी गरेको उल्लेख गरेका हुन्।
राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई रूस-युक्रेनबीच जारी द्वन्द्वबारे विस्तृत जानकारी दिएको बाग्चीले जानकारी दिएका छन्।
यस्तै युक्रेन र रूसबीच भइरहेको वार्ताबारे पनि कुराकानी गरेका थिए।
मोदीले युद्ध र त्यसबाट उत्पन्न भएका मानवीय संकटबारे पनि चासो राखेका थिए। उनले भारत सधैँ दुईपक्षीय वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट समेत पारेको विज्ञप्तिमा उल्लेख छ।
२० हजार भारतीय नागरिकहरूलाई युक्रेनबाट निस्किन सहजीकरण गरिदिएको भन्दै प्रधानमन्त्री मोदीले युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिएका थिए।
युक्रेनमा रहेका विद्यार्थीहरूको सुरक्षा र उनीहरूको उद्धार गर्नेबारे पनि चासो व्यक्त गरेका थिए।