नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एकजुट हुन नसकेको कोइराला परिवारका नेताहरू हिजोआज के गर्दैछन्? मंसिरको महाधिवेशनमा 'पानी बाराबार' को स्थिति सिर्जना भएको यो परिवारभित्रका सदस्यबीच सम्बन्ध सुध्रियो कि असन्तुष्टि रहिरहेका छन् भन्नेबारे चासो छ।
महाधिवेशन भएको तीन महिनाको बीचमा कोइराला परिवारका तीन नेता शेखर कोइराला, सुजाता र शशांकबीच औपचारिक कार्यक्रमबाहेक भेटवार्ता भएको छैन।
शशांकका स्वकीय सचिव भरत तिवारीले नेताहरूबीच महाधिवेशनपछि खासै भेटघाट नभएको बताए।
‘महाधिवेशनपछि उहाँहरूबीच खासै भेटघाट र कुराकानी भएको छैन,’ उनले भने, ‘पारिवारिक जमघट पनि भएको छैन।’
सुजाताले पनि आफूहरूबीच खासै कुराकानी नभएको बताइन्।
‘शशांकसँग कहिलेकाहीँ टेलिफोनमा कुराकानी हुन्छ,’ उनले भनिन्, ‘शेखर दासँग भने अहिले कुरा भएको छैन। उहाँ प्राय: विराटनगर नै बस्नुहुन्छ, विराटनगर गयो भने अब भेट हुन्छ।’
शशांकले कहिलेकाहीँ सुजातालाई फोन गर्छन्। तर शेखरबाट भने फोन नआएको उनले बताइन्। यद्यपी पारिवारिक सम्बन्ध भने राम्रो रहेको सुजाताले बताइन्।
‘सबै व्यस्त छन्, पारिवारिक सम्बन्ध त राम्रो छ,’ सुजाताले भनिन्, ‘पारिवारिक भेटघाट पनि अहिले भएको छैन। पार्टीका औपचारिक कार्यक्रममा भने सबैसँग भेट हुन्छ नै।’
महाधिवेशन हुनुभन्दा पहिले कोइराला परिवारका नेताहरू भेटघाट गरिरहन्थे। लन्च/डिनर मिटिङका तस्बिर सार्वजनिक हुन्थे। महाधिवेशन सकिएको तीन महिना हुनै लाग्दा शेखर, शशांक र सुजाता कोइराला एकै ठाउँ भेटिएका छैनन्।
सभापतिमा शेरबहादुर देउवासँग भिड्न शेखरले दह्रोसँग खुट्टा टेके पनि भाइ-बहिनीकै साथ भने पाएका थिएनन्। तत्कालीन महामन्त्री शशांक यसपालि केन्द्रीय सदस्य मात्रै उठे भने सुजाता उपसभापति उठेर पराजित भइन्। दाजु शेखर सभापति उठे पनि उक्त प्यानलबाट नभई सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापति लडेकी थिइन्।
महाधिवेशन आउनु तीन साता अघिसम्म कोइराला परिवार एकजुट नै थियो। सभापति को लड्ने भन्नेमा शेखर र शशांकबीच छलफल भएको थियो। त्यहाँ शशांकले दाजु शेखरलाई यसपालि सभापतिमा सघाउने वचन दिन भ्याएका थिए।
सुजातालाई पनि यो खबर सुनाएर पत्रकार सम्मेलन गरेर बाहिर ल्याउने तयारी हुँदाहुँदै यो चाँजोपाँजो बिथोलियो। शशांककै घरमा पत्रकार सम्मेलन गर्ने भने पनि बिहानै शशांक हेलिकोप्टरमा संखुवासभा उडेका थिए। त्यस बिहान शेखर शशांकको घर महाराजगञ्ज आए पनि रित्तै हात बसुन्धरा फर्किनुपरेको थियो।
शशांक संखुवासभा उड्नुलाई शेखर पक्षले धोकाको रूपमा लियो। सभापतिमा सघाउने वचन तोडेर हिँडेको भन्दै शेखरले परिवारभन्दा बाहिरका अन्य नेताहरू समेट्न थाले।
यसपछि महाधिवेशनसम्म कोइराला परिवारबीच खासै छलफल भएन। शेखर पक्षले सकेसम्म शशांकलाई देउवातर्फ ढल्कन नदिने रणनीति लिए पनि सफल हुन सकेनन्। सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनेबित्तिकै महामन्त्री समेत रहेका शशांक बालुवाटार पुगेर छलफल गरिहाल्थे। उनले भेटेको तस्बिर देउवाको सचिवालयले बाहिर ल्याउँथ्यो।
कांग्रेस सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरूङ लडेका भए। उम्मेदवारी दर्तापछि शेखर पक्षले बत्तीसपुतलीमा पत्रकार सम्मेलन गरेको थियो। उक्त पत्रकार सम्मेलनमा शशांक आएर शेखरका पक्षमा भोट माग्ने र सम्बोधन गर्ने भनिए पनि अन्तिममा उनी आएनन्।
महाधिवेशन प्रतिनिधि भेट्दा पनि शशांकले शेखरका पक्षमा खुलेर भोट नमागेको शेखर पक्षको दाबी छ। देउवा र शेखर दुबै समूहले केन्द्रीय सदस्यको सूची शशांकको नाम राखेका थिए।
शशांक यो महाधिवेशनमा 'मौन' नै बसे। खुलेर देउवा वा शेखरतिर भोट मागेनन्। कांग्रेस सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुँदा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याएनन्। सबैभन्दा धेरै मत ल्याए पनि सभापति जित्न देउवालाई ८३ मत कम भएको थियो।
दोस्रो चरणमा देउवालाई निधि, सिंह र गुरूङले सघाएका थिए। देउवासँग शेखर भिडे। यतिबेला पनि शशांक मौन नै रहे। संस्थापनइर रहेका निधि, सिंह र गुरूङ पनि देउवातिरै मिलेको र रामचन्द्र पौडेल तथा शशांक पनि मौन बस्दा पनि दोस्रो चरणमा शेखरले १५३ भोट बढाएका थिए।
यो महाधिवेशनमा शशांकले लोकप्रिय मत (तीन हजार आठ सय ३६) ल्याएका थिए। कांग्रेसमा चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधि थिए।
उपसभापतिमा सुजाता पनि पराजित भइन्। अहिले कोइराला परिवारका नेताहरू शशांक निर्वाचित केन्द्रीय सदस्य, सुजाता मनोनीत केन्द्रीय सदस्य र शेखर स्वत: केन्द्रीय सदस्य छन्। सभापतिमा पराजित व्यक्ति स्वत: केन्द्रीय सदस्य हुने कांग्रेसको विधानको व्यवस्था छ।
कांग्रेस करिब ५० वर्ष कोइराला परिवारकै वरिपरि घुम्यो। अहिले कोइराला परिवारका नेताहरू पार्टीको केन्द्रीय नेतृत्व र सरकार हाँक्नेभन्दा पनि मूलप्रवाहबाट बाहिरजस्तो देखिन्छन्। यद्यपी पार्टीभित्र शेखर प्रतिपक्षी नेताको रूपमा उदाएका छन्।
आफूलाई भाइ-बहिनीले साथ नदिएकोमा शेखरले महाधिवेशनपछि सार्वजनिक रूपमै गुनासो गरेका थिए। इमेज टेलिभिजनसँगको अन्तर्वार्तामा शेखरले भनेका थिए- बीपीले टाटा मेमोरियल अस्पतालबाट एउटा चिठी लेख्नुभएको थियो। बीपीले मेरो बुबालाई लेखेको चिठी मार्मिक छ। मेरो बुबा पनि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो। सायद भाइ-बहिनीले त्यो चिठीको मर्म बुझेनन् भन्ने मलाई लाग्छ।
शेखरले भनेझैं कोइराला परिवारको स्वभाव पहिले यस्तो थिएन। परिवारबीच मिल्ती थियो। एकले अर्कालाई सघाउथे।
मोरङ कांग्रेसका पुराना नेता वसन्त भट्टराई कोइराला परिवारलाई पञ्चायतकालदेखि नै चिन्छन्।
उनका अनुसार बिपी, केशवप्रसाद, तारिणी र गिरिजाप्रसाद कोइरालाको पालामा पारिवारिक बेमेल खासै थिएन।
बिपीले पञ्चायतविरूद्ध आन्दोलनको नेतृत्व गर्दा केशवप्रसादले परिवारको आर्थिक पाटो सबै हेरेका थिए। छोरा, भतिजा, भतिजीको पढाइ र रेखदेख गरेका थिए।
बिपीको शेखपछि गिरिजाप्रसाद कोइरालाले परिवारका सदस्य मिलाएरै राखेका थिए। गिरिजालाई सबैले आदर पनि गर्थे।
तर, छोराहरूमा आउँदा भने मतभेद देखिएको छ, त्यो राजनीतिक अवसर र भागका लागि मात्रै हो।
उनका अनुसार शशांक र सुजाताको बुवाहरूको बिरासतकै आधारमा अवसरको खोजी गरिरहेका छन्।
शेखर भने राजनीति विचारले हुन्छ, सन्तानले हुँदैन भनेर सुशील कोइरालाको मृत्युपछि देश दौडाहामा हिँडे। १४ औं महाधिवेशनमा उनलाई शशांक र सुजाताले धोका दिएको भट्टराई बताउँछन्।
’१३ औं महाधिवेशनमा महामन्त्री उठ्ने तयारी शेखरदाको थियो, अन्तिममा शशांकले म उठ्छु भनेपछि उहाँले छोडिदिनुभयो,’ उनले भने, ‘त्यो बेला केन्द्रीय सदस्य बसेर १४ औं महाधिवेशनका लागि सभापतिको तयारी उहाँको थियो, अन्तिममा आएर शशांकले दाबी छोडे पनि उहाँलाई सहयोग गरेनन्।’
जसका छोरा भए पनि राजनीतिमा उत्तराधिकारी मान्ने र ठान्ने प्रवृत्ति गलत रहेको भट्टराई बताउँछन्।
‘राजनीतिमा बिपीको विचार लिएर हिँड्ने लाखौं छन्। अंश पनि खाने र राजनीतिक भाग पनि दुबै खानेलाई म नेता मान्दिनँ,’ उनले भने।