भारतको राजधानी दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) ले अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने सम्भावना देखिएको छ।
पन्जाब विधान सभाका लागि फेब्रुअरी २० मा भएको चुनावमा आपले बहुमत ल्याउने विभिन्न एक्जिट पोलहरूले देखाएका छन्।
सोमबार सार्वजनिक भएका लगभग सबै एक्जिट पोलका नतिजामा पन्जाबमा आपले धेरै सिट जित्ने देखाएका छन्।
हिन्दुस्तान टाइम्सका अनुसार द इन्डिया टुडेको एक्जिट पोलले ११७ मध्ये ७६ देखि ९० सिट आपले जित्ने देखाएको छ।
एबिपी सी-भोटरले ५१ देखि ६१ सिटसम्म आपले जित्ने उल्लेख गरेको छ भने टाइम्स नाउको एक्जिट पोलले आपले ७० सिट जित्ने देखाएको छ।
पन्जाबमा लामो समयदेखि कंग्रेस आईको सरकार छ। एक्जिट पोलहरूले अहिलेको चुनावमा कांग्रेस दोस्रो ठूलो दल हुने देखाएका छन्।
आपले पन्जाबमा जनतालाई सोधेर मुख्यमन्त्रीका उम्मेदवार छानेको थियो।
आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो।
अभियानमा सहभागीहरू भागवान्त मनलाई मुख्यमन्त्री बनाउनु पर्ने बताएका थिए।
झन्डै २२ लाख मानिस अभियानमा आफ्नो राय व्यक्त गरेको र तीमध्ये ९३ प्रतिशत मत भागवान्तको पक्षमा आएको बताइएको थियो।
भागवान्त सन् २०१४ देखि लोकसभा सदस्य छन्। सन् २०१९ को चुनाव पन्जाबबाट लोकसभा चुनाव जित्ने उनी एकमात्र आप उम्मेदवार हुन्।
आपले सन् २०१७ को विधान सभा चुनावमा पनि पन्जाबमा लडेको थियो। त्यतिबेला पहिला नै मुख्यमन्त्रीका उम्मेदवार घोषणा गरिएको थिएन। आपले पाँच वर्षअघिको चुनावमा विधान सभाका २० सिट जितेको थियो।
आपले मुख्यमन्त्रीका उम्मेदवार बनाएका भागवान्त ४८ वर्षका भए। राजनीतिमा आउनुभन्दा पहिला उनी कमेडियन थिए। सन् २०१२ मा उनी राजनीतिमा आएका थिए। सुरूमा उनी पन्जाब पिपल पार्टीमा आवद्ध भएका थिए। उक्त पार्टीबाट विधान सभा चुनाव जित्न नसकेपछि भागवान्त सन् २०१४ मा आपमा लागेका थिए।
पन्जाब विधान सभाको अन्तिम चुनावी परिणाम बिहीबार सार्वजनिक हुँदैछ।