अभिनेता पल शाहले आफूमाथि बलात्कार गरेको उजुरी लिएर आएकी नाबालिग गायिकालाई कास्की प्रहरीले तनहुँ पठाएको घटना सार्वजनिक भएपछि प्रहरीको क्षेत्राधिकार बहसमा तानिएको छ।
कारबाहीबारे बुझ्न आएकी नाबालिग गायिका र उनको परिवारलाई कास्की प्रहरीले घटना भएको ठाउँ आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै तनहुँ पठाइदिएको थियो। यसले पल शाहविरूद्धको बलात्कार जाहेरी महिनादिनसम्म दर्ता हुन सकेन।
प्रहरीको यस्तो रवैयाबाट पीडित नाबालिग गायिकालाई थप अन्याय भएको भन्दै आलोचना भइरहेको छ।
यो समस्या कास्की प्रहरीको मात्र होइन। काठमाडौंमा भएको घटना चितवन प्रहरीमा दर्ता हुँदैन। त्यो घटनाको क्षेत्राधिकार काठमाडौंकै मानिन्छ। बलात्कार, महिला हिंसा, मानव बेचबिखन लगायत गम्भीर प्रकृतिका घटनामा भने यो लागू हुँदैन। त्यस्ता अपराधमा जहाँ पहिला उजुरी आउँछ, त्यहीँ दर्ता गर्न सकिने व्यवस्था कानुनले नै गरेको छ।
कानुनले सामान्यतया कार्यक्षेत्रभित्र पर्ने प्रहरी कार्यालयमै उजुरी दर्ता गर्नुपर्छ भने पनि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७ ले विशेष परिस्थितिमा अर्कै प्रहरी कार्यालयले उजुरी लिएर प्रारम्भिक अनुसन्धान गर्न पाउने अधिकार दिएको छ।
यस्तो अवस्थामा उजुरी दर्ता गर्ने र अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमै लेखेर पठाउन सक्ने व्यवस्था उक्त संहिताले गरेको छ।
मुलुकी फौजदारी कार्यविधि संहिताको यो प्रावधान कार्यान्वयनमा भने आएको छैन। यो कानुनको प्रयोग व्यापक हुन्थ्यो भने कास्की प्रहरीले पल शाह विरूद्ध महिनादिन अघि नै जाहेरी दर्ता गर्न गारो मान्ने थिएन। जाहेरी दर्ता गरेर थप अनुसन्धान गर्न तनहुँ पठाउथ्यो।
मानवअधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारी अब प्रहरीले यो कानुन तदारूकतासाथ कार्यान्वयन गर्नुपर्ने बताउँछिन्।
'गम्भीर प्रकृतिका घटना जुनसुकै प्रहरी कार्यालयमा दर्ता हुनुपर्छ। दर्ता नहुने वा ढिलो हुनेबित्तिकै कसुरदारले प्रमाण नष्ट गर्ने र पीडित तथा साक्षीलाई प्रभावित गर्ने मौका पाउँछन्। त्यसैले तत्काल प्रहरीमा उजुरी दर्ता हुनु ठूलो कुरा हो। कुन प्रहरी कार्यालयमा भन्ने कुरा सामान्य हो,' उनले सेतोपाटीसँग भनिन्।
अधिवक्ता अन्सारीले अगाडि भनिन्, 'कानुनले एउटा प्रहरी कार्यालयको क्षेत्राधिकारभित्र भएको घटना अर्कै कार्यालयमा दर्ता हुन नसक्ने भनेको छैन। प्रहरी संगठनले नै आफ्नो कार्यशैली फेर्न आवश्यक देखिन्छ। यो खासै ठूलो कुरा होइन। आजदेखि यस्ता-यस्ता घटनाका उजुरी जहाँ आए पनि दर्ता गर्नू भनेर प्रहरी प्रमुखले मातहतका सबै कार्यालयलाई परिपत्र गरे भोलिदेखि नै लागू हुनेछ।'
प्रहरी कार्यालयका अधिकारीहरू आफ्नो क्षेत्राधिकारबाहिर भएका घटना दर्ता गर्दा भोलि अवगाल आउला कि भन्ने डरले त्यस्ता उजुरी दर्ता गर्न मान्दैनन्। पल शाहविरूद्धको जाहेरी कास्की प्रहरीले दर्ता नगर्नुको कारण यही हो।
कास्कीका एक प्रहरी अधिकारीका अनुसार त्यो बेला तनहुँको क्षेत्राधिकारमा पर्ने उजुरी कास्कीमा दर्ता गर्दा प्रहरीले नै षड्यन्त्र गरेको आरोप आउला भन्ने डर थियो।
'अपजस आउनुभन्दा एक-डेढ घन्टाको दुरी हो, उतै गएर दर्ता गरून् भनेर हामीले पठाएका हौं। धेरै टाढा भएको भए यहीँ दर्ता गर्थ्यौं,' उनले भने, 'तर हामीले घटनाबारे बुझेर, परामर्शसमेत दिएर गाडी चढाएर पठाएका थियौं।'
पूर्वडिआइजी हेमन्त मल्ल पनि क्षेत्राधिकारबाहिरको घटना दर्ता गर्न प्रहरी अधिकारीहरूलाई गाह्रो हुने बताउँछन्।
'दर्ता गरेर विवाद भयो भने सबैले प्रहरीलाई नै दोष दिन्छन्। त्यस्तो बेला संगठनले साथ दिँदैन। त्यसैले कानुनमै भए पनि प्रहरी अधिकारीलाई क्षेत्राधिकारबाहिरका घटना दर्ता गर्न गाह्रो हुन्छ,' उनले भने।
बरू बलात्कार, महिला हिंसाजस्ता घटनाका उजुरी जहाँ आए पनि दर्ता गर्नू भनेर परिपत्र जारी गर्न उपयुक्त हुने उनले बताए।
प्रहरीलाई कानुनमा भएको व्यवस्थाअनुसार काम गर्दा केही परे संगठनले साथ दिन्छ भन्ने ढुक्कको वातावरण दिनुपर्नेमा पूर्वडिआइजी मल्लले जोड दिए।
'क्षेत्राधिकारभित्रको मात्र उजुरी लिने गरेका प्रहरीले व्यापक प्रयोग नभएको कानुनी व्यवस्था एक्लैले कार्यान्वयन गर्न गाह्रो हुन्छ। माथिबाट नेतत्वले कानुनमा भए अनुसार काम गरे तिम्रो साथमा हामी छौं भन्ने आडभरोसा पनि दिनुपर्छ,' उनले भने,'त्यसका साथै यस्ता यस्ता केसमा क्षेत्राधिकार नपरेपनि जुनसुकै कार्यालयले जाहेरी लिन सक्ने भन्ने परिपत्र जारी गरे प्रहरीलाई काम गर्न सजिलो हुन्छ।'