गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा २०७४ मा प्रयोग गरेको चुनावी खर्च र पार्टी पंक्ति परिचालनको मोडललाई नेपाली कांग्रेसले यसपालि स्थानीय चुनावमा देशैभर लागू गर्ने भएको छ।
थापा गत मंसिरमा कांग्रेस महामन्त्री निर्वाचित भएका हुन्। कांग्रेसमा महामन्त्रीको काम कार्यालय व्यवस्थापन र पार्टीका बैठकमा प्रस्ताव पेस गर्नेदेखि पारित निर्णय कार्यान्वयन भए/भएनन् रेखदेख गर्नेसम्म हुन्छ।
थापाले सांसद उठ्दा बनाएको चुनावी मोडललाई थप परिस्कृत गरेर कांग्रेसले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव र त्यसअघि गरिने 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियानमा प्रयोग गर्न लागेको हो।
थापाले ०७४ मा आफ्नो निर्वाचन क्षेत्रभित्रका नेता/कार्यकर्तालाई आफ्नै टोलमा केन्द्रित गराएका थिए। यसो गर्दा चुनावी प्रचार खर्चसमेत अन्यत्रभन्दा कम लागेको थियो।
टोलका नेता/कार्यकर्ता टोलमै केन्द्रित गर्दा पार्टीमा भोट पनि बढेको र चुनावी खर्चसमेत कम लाग्ने देखिएपछि उक्त मोडल यसपालि कांग्रेसले स्थानीय चुनावमा देशैभर लागू गर्दैछ।
आफूले चुनावका बेला पहिले काठमाडौं ४ मा यो मोडल लागू गरेको थापा बताउँछन्।
चुनावी रणनीति कस्तो लिने भन्नेबारे कांग्रेसले अहिले नै प्रष्ट रूपमा खुलाउन चाहेको छैन। यसबारे संस्थागत निर्णयसमेत गरिएको छैन। महामन्त्री थापाले आफूले प्रयोग गरेको उक्त रणनीतिलाई देशका विभिन्न ठाउँमा सभा तथा आन्तरिक प्रशिक्षणमा पुगेर सुनाइसकेका छन्, त्यो बाटो हिँड्न भनेका छन्।
पार्टीहरूले चुनावमा लिने रणनीतिबारे भारतमा निर्वाचन विज्ञ प्रशान्त किशोर पनि 'सफल' देखिएका छन्। उनले कहिले भाजपा त कहिले कंग्रेसलाई चुनावी सुझाव दिने गरेका थिए।
उनले भन्ने गरेका 'चार एम' लाई पनि यसपालि कांग्रेसले चुनावी रणनीतिमा समावेश गर्न खोजेको देखिन्छ। निर्वाचन जित्ने कुरा नेताले एक्लै बोलेर मात्रै नहुने भएकोले सुदृढ संगठन र गतिशील नेतृत्व आवश्यक पर्ने महामन्त्री थापा बताउँछन्।
कांग्रेसले यसपालि मेसिन, मेकानिक, मेसेज र मेसेन्जर (चार एम) चुनावी प्रचारका क्रममा: लागू गर्न सकिने बताएको छ।
भारततिर विभिन्न दलले यस्ता रणनीति लागू पनि गरिसकेका छन्।
‘मेसिन भनेको पार्टी संगठनमा ध्यान देऊ, पार्टपूर्जा सँगसँगै हिँड्न सक्ने छन् कि छैनन् हेर भनेको हो,’ महामन्त्री थापा भन्छन्, ‘भागबन्डावाला धन्दा बन्द गरेर पार्टीभित्र न्याय दिने र काखापाखा नगर्ने हो भने संगठन सुदृढ हुन्छ।’
महामन्त्री थापाका अनुसार पार्टीका आठ वटै संरचनालाई अब चलायमान र थप जिम्मेवार बनाइन्छ। उम्मेदवार छान्ने काम पनि पार्टी केन्द्रको मुख ताक्नुपर्दैन।
‘गाउँपालिका, क्षेत्र र जिल्लाले विधानअनुसार काम गर्ने हो। उम्मेदवार तय गर्ने हो। संगठन परिचालन गर्ने हो,’ थापाले भने, ‘हामीले यसपालि सबैभन्दा धेरै टोल समिति क्रियाशील बनाउन खोजेका छौं।’
कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहमा टोल कार्यसमिति रहन्छ। वडा कार्यसमितिले आवश्यकताअनुसार क्रियाशील र साधारण सदस्य रहेको १५ सदस्यीय टोल कार्यसमिति गठन गर्न सक्छ। टोल कार्यसमितिले मतदाताको नाम (विवरण) राख्छ भने चुनावी प्रचारदेखि समीक्षासम्म गरेर माथिल्लो निकायमा प्रतिवेदन पठाउँछ। साथै आफ्नो क्षेत्रभित्रका मतदातासँग निरन्तर सम्पर्क गर्ने काम टोलको हो।
कांग्रेसले सबैभन्दा बढी क्रियाशील यसपालि चुनावमा टोल कार्यसमितिलाई गर्न खोजेको छ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विधानअनुसार पार्टीका सबै तहमा प्रभावकारी काम गर्न महामन्त्रीद्वयले हस्ताक्षर गरेर पत्र पठाइसकिएको बताए। कांग्रेसले अधिकांश ठाउँमा अधिवेशनकै बेला टोल कार्यसमिति बनाएको छ। केही ठाउँमा हिजोआज टोल र बुथ समिति गठन भएका छन्।
‘छ हजार सात सय ४३ वडा र त्यसभित्रका विभिन्न टोलमै पुगेर चलायमान ढंगले पार्टीले काम गर्न खोजेको छ,’ शर्माले भने, ‘हामी टोलबाट पनि घरघर जान चाहन्छौं।’
पहिलेका चुनावमा भन्दा व्यवस्थित र व्यवहारिक ढंगले चुनावी अभियान सञ्चालन गर्ने कांग्रेसको तयारी छ।
पार्टीमा संरचनात्मक काम र सन्देश प्रवाह गर्न टोल कार्यसमितिलाई क्रियाशील बनाउने नीति कांग्रेसले लिएको छ। टोललाई नै पार्टी काममा क्रियाशील बनाउँदा चुनावी खर्च कम लाग्ने आकलन कांग्रेसको छ।
कांग्रेसले केन्द्रबाटै केन्द्रीय सदस्यलाई चुनावी अभियानको 'कमान्डर' का रूपमा पनि परिचालन गर्न खोजेको छ। ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटिइसकेका छन्। फागुन २७ भित्र जिल्ला पुगेर फागुन २९ देखि चैत २९ सम्म सम्बन्धित जिल्लाका सबै पालिकामा कम्तीमा एकपटक पुग्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको छ। केन्द्रीय प्रतिनिधिले एमसिसीबारे भ्रम चिर्नेदेखि पार्टीका पक्षमा चुनावी माहौल तय गर्नुपर्ने र जनताका कुरा सुन्नुपर्ने कांग्रेसले निर्देशन दिएको छ।
महामन्त्री थापाका अनुसार पार्टीभित्र रहेका क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य टोलमा खट्दा चुनावी अभियानलगायत पार्टीका गतिविधिहरू थप प्रभावकारी हुन्छन्।
‘क्षेत्रीय प्रतिनिधिले टोल प्रमुखको जिम्मा लिइदिनुस्। वडाभन्दा पनि तल्लो तह टोलमा गएर काम गर्ने? भन्ने नसोच्नुस्। महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्य पनि टोलमा गएर काम गरे हुन्छ। महाधिवेशन र महासमिति बैठकमा नीति बनाउन आउने र अरूबेला टोलको प्रमुख रहेर काम गर्ने हो,’ थापाले भने, ‘हामी सबैभन्दा बढी टोल समिति परिचालन होस् भन्ने चाहिरहेका छौं।’
टोल समिति क्रियाशील भएर काम गर्दा शीर्ष नेता पनि आफ्नो टोलमा व्यस्त हुन्छन्, समय दिन पाउँछन् र नयाँ मानिससँग कुराकानी गरेर केही भोट भने पनि थप गर्न योगदान दिन सक्छन्।
कांग्रेसले चुनावी प्रचार अभियान नयाँ ढंगले सुरू गर्न लागेको पनि विगतका नमिठा घटनाबाट पाठ सिकेर हो। विगतका चुनावमा नेतासँगै हुलका हुल मानिस कार्यक्रममा जाने तर ती कार्यक्रमले पार्टीमा खासै भोट नबढ्ने गरेको पाइएका थिए।
‘एउटा साथी बिहान घरबाट निस्कन्छ। कहाँ हिँडेको भन्दा चुनावमा भन्छ, कांग्रेस प्रचारमा भन्छ। मोटरसाइकल लिएर निस्कन्छ। दिनभर हिँड्छ, थाकेर घर फर्किन्छ। दिनभर के गरिस् भन्दा त्यस्तै मोटरसाइकल ल्याउने अरू साथीहरूसँग हिँडिरहेको हुन्छ,’ विगतका चुनावी प्रचारका झलक स्मरण गर्दै महामन्त्री थापा भन्छन्, ‘हामी आफूआफू हिड्छौं। भेट गर्छौं। कुराकानी गर्छौं। घर आउँछौं। विगतका चुनावमा हामीले यसो गर्यौं। तर योपटक यसरी नहिँड्ने, सबै आफ्नो टोलमा बस्ने हो, टोल नछाड्ने हो।’
जिल्लाका प्रमुख नेताहरू पनि काम भएका बेला सदरमुकाम जाने र काम नहुँदा आफ्नै टोलमा क्रियाशील रहनुपर्ने थापा बताउँछन्।
‘म महामन्त्री हो, मेरो पनि टोल छ। मेरो टोलको मतदाता चिन्नुपर्यो र दुई जना भने पनि नयाँ मतदाता मैले थप गर्नुपर्यो। अनि बल्ल कांग्रेसको मत ठिक ढंगले अघि बढ्छ। त्यसपछि कांग्रेसको मेसिन ठिक ठाउँमा आउँछ,’ थापाले भने।
दोस्रो, कुरा मेसेजको हो। निर्वाचनमा जाँदा के मेसेज लिएर जाने भन्ने कुरा महत्वपूर्ण हुने उनी बताउँछन्।
‘राष्ट्रिय तथा स्थानीय मुद्दा के छन् तीबारे जनतालाई बुझाउने हो। प्रत्येक वडा/पालिकाले यसपटक चुनावका लागि आफ्ना प्रतिवद्धताअनुसार घोषणापत्र बनाउनैपर्छ,’ उनले भने, ‘हामीले जित्यौं भने पाँच वर्षमा यो-यो काम गर्छौं भन्ने प्रष्ट लेखिएको घोषणा पत्र हुनुपर्दछ। केन्द्रमा त हामी घोषणा पत्र बनाइहाल्छौं नै!’
यसपटक जनताका बीचमा कम्युनिष्ट पार्टीले गर्न नसकेका काम र कम्युनिष्टको चरित्र तथा प्रवृत्तिबारे खुलेर कुरा गरिनु पर्ने थापा बताउँछन्।
‘कम्युनिष्ट पार्टी (एमाले र माओवादी) घरझगडा गरे। आफैंले बनाएको घरलाई आगो झोसे, डढेलो लगाए। यसले प्रदेशलगायत धेरै ठाउँ भत्कियो,’ थापा भन्छन्, ‘कम्युनिष्ट पार्टीका नेता असफल भए। जनताले दिएको म्यान्डेटअनुसार पाँच वर्ष सरकार चलाउन सकेनन्। अस्थिरता ल्याए। यसको जवाफ कम्युनिष्टहरूले जनतालाई दिनुपर्छ।’
०७४ मा कम्युनिष्ट पार्टीलाई भोट हालेका जनताका बीचमा गएर कांग्रेसले आफ्नै घरमा आगो लगाउनेलाई भोट हाल्ने कि नहाल्ने? भोट दियो भने त त्यो पार्टीले झन् हेप्छ भनेर भन्नुपर्छ भने संसद विघटन गर्ने एमालेलाई सजाय दिनुपर्दछ भन्नुपर्दछ,’ थापा भन्छन्, ‘कोरोनाका बेला ओली सरकारले गरेका अनियमितता र भ्रष्टाचार काण्डबारे पनि जनतालाई बताउन जरूरी छ।’
साथसाथै एमसिसीबारे पनि जनतालाई बुझाउनु पर्ने उनले बताए। एमसिसी एक आर्थिक परियोजना मात्रै भए पनि 'कम्युनिष्टको ढोंगी प्रवृत्ति चिर्न'लाई एमसिसीबारे गाउँगाउँमा कांग्रेसले भ्रम चिर्नुपर्ने उनको भनाइ थियो।
कम्युनिष्ट पार्टीका केही नेताहरूले भ्रम र उत्तेजनाको दोकान चलाएको र जनतालाई डर देखाएकोले त्यो प्रवृत्ति हटाउन कांग्रेसले दह्रो ढंगले मेसेज दिन सक्नुपर्ने थापा बताउँछन्।
तेस्रो, मेकानिक (चुनावी रणनीति) बारे भने पार्टीले आन्तरिक सर्कुलर गर्ने थापा बताउँछन्। चौथो, मेसेन्जर भने उपर्युक्त पात्र छनौट गर्नुपर्ने उनले बताए।
‘मेसेन्जर ठिक बनाउन सकिएन भने जनताले हामीलाई पत्याउँदैनन्। पार्टी अधिवेशनमा प्रतिस्पर्धा गरे पनि अब सभापतिलाई बलियो बनाउने हो। गलत काम भए खबरदारी गर्ने हो,’ उनले भने, ‘हाम्रो मेसेन्जर सभापति हो। जिल्ला-जिल्लामा त्यहाँ राम्रो काम गरेका नेताहरू मेसेन्जर हुने हो।’